म्याराथन प्रतियोगिताले चिनाउँदै सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढी (फोटो फिचर)

म्याराथन प्रतियोगिताले चिनाउँदै सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढी (फोटो फिचर)

सिन्धुपाल्चोक । समुद्री सतहबाट दुई हजार एकसय मिटरको उचाइमा रहेको थली परेको जमिन ! वरिपरि ढुङ्गाले घेरिएको पौराणिक किल्ला ! उत्तरतिरका सेताम्मे हिम  शृङ्खला । सहजै देख्न सकिने चीनको स्वशासित क्षेत्र तिब्बतको खासा बजार ! यार्मासिंग गाउँका सुन्दर बस्तीहरू ! अलिपर पूर्वतिर फुल्पिङकट्टिका छिटपुट गाउँहरू, पश्चिममा धारापानी र लिस्तिकोट ! तलतल आफ्नै सुरमा हस्याङफस्याङ बग्दै गरेको भोटेकोसी नदी ! प्राकृतिक सुन्दरताका अनुपम घुम्टो ओढेर वर्षोदेखि पर्यटकको पर्खाइमा बसेको सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढी पुग्ने जो कोहीलाई पनि यी र यस्तै दृश्यहरूले स्वर्गानुभूति हुन सक्छ ।

परन्तु सुन्दरताले भरिभराउ, सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका, वडा न ३ स्थित  समारिक एवम् ऐतिहासिक महत्व बोकेको यो दुगुनागढीको उचित प्रचारप्रसार हुन नसक्दा भने ओझेलमा पर्दे आएको छ ।

वि.सं १९११ सालमा नेपाल तिब्बतबिचको युद्धमा नेपालले विजय हासिल गरेपछि जनरल धीर शम्सेर राणाको नेतृत्वमा वि.सं १९१२ सालमा यो गढी निर्माण भएको हो । तिब्बतसँग फेरि युद्ध लड्नकै लागि प्रधानमन्त्री जङ्गबहादुर राणाको निर्देशनमा निर्माण भएको यो ऐतिहासिक गढी सामरिक र पुरातात्त्विक महत्वको मात्र छैन, प्राकृतिक छटाले भरिपूर्ण भएकै कारणले पनि आन्तरिक एवम् बाह्य पर्यटकका लागि एउटा नयाँ गन्तव्य बन्न सक्ने थुप्रै सम्भावना रहेको छ ।

साना र ठूला गरि दुईवटा गढी यहाँ निर्माण भएको छ । सानो गढी तोप हान्नका लागि  र ठूलो गढी युद्ध लड्नका लागि निर्माण भएको हो । गढीसँगै हतियार गोदाम गर्न र बन्दोबस्तीको सामाग्री राख्न पनि यहाँ छुट्टै संरचना देख्न सकिन्छ । तातोपानी  सुख्खा बन्दरगाहबाट ७ किलोमिटरको दुरीमा पर्ने यो गढी  तिब्बतसँग फेरि युद्ध गर्नका लागि निर्माण भएतापनि यहाँबाट कुनै युद्ध भएको इतिहासमा भने छैन । 

सन् १९११ सालमा नेपाल तिब्बतबिचको युद्धमा यस ठाउँलाई किल्लाको रुपमा प्रयोग गरेको र यो किल्लामा रहेका सेनाहरूका लागि त्यहाँबाट झण्डै ४ किलोमिटर परको लिस्ति गाउँबाट लजिस्टिक सर्पोट पठाउने गरेको इतिहास छ । यस ठाउँमा किल्ला बनाई तिब्बत प्रवेश गरेका जनरल धीर शम्सेर नेतृत्वको फौजले तिब्बतको कुति विजय हासिल गरेर फर्केपछि भविष्यमा फेरि हुन सक्ने तिब्बतसँगको युद्धलाई ध्यानमा राखी यहाँ गढीको निर्माण गरिएको थियो । 

२०७२ सालको महाभूकम्पले सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको सिन्धुपाल्चोकमा यो गढी पनि भूकम्पबाट अछुतो रहन सकेन । भूकम्पले गढीको संरचना ध्वस्त नै बनायो । गढी पुनर्निमार्णका लागि बागमती प्रदेश सरकारले चासो देखायो र अहिले पुनर्निर्माण पनि सम्पन्न भइसकेको छ । पुनर्निमित गढीको संरचना पुरानै शैलीमा र ढाँचामा निर्माण भए पनि सानो गढीदेखि ठूलो गढीसम्मको झण्डै ६ फिट अग्लो, चार फिट मोटो र गोलीको आड लिनका लागि बनाइएको झण्डै ३ सय  मिटर लामो पर्खाल भने पुनर्निर्माण भएको छैन । 

यद्यपि पुनर्निमित गढीले यस ठाउँको सामरिक महत्व संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा पनि टेवा पु¥याउने विश्वास लिन सकिन्छ । त्यही विश्वासका  साथ २०७७ सालदेखि हरेक वर्ष यहाँ ट्रेल रेस प्रतियोगिता पनि हुँदै आएको छ । सामरिक एवम् ऐतिहासिक पैदलमार्ग, किल्ला र गढीहरूको संरक्षण, संवर्द्धन र प्रवर्धन गर्ने हेतुका साथ नेपाली सेनाले लिस्तिकोट दुगुनागढी माउण्टेन रेस प्रतियोगिताको आयोजना गर्दै आएको छ । भोटेकोसी गाउँपालिकाको प्रयोजनमा हुँदै आएको सहासिक खेल ट्रेल रेसबाट यस ठाउँको प्रचारप्रसारमा टेवा पुगेको स्थानीयहरू बताउँछन् । पछिल्लो समय पर्यटनहरूको आवागमनमा तीव्रता आएको उनीहरूको अनुभव छ ।

समुद्री सतहबाट १ हजार २ सय ३६ मिटरको उचाइमा रहेको तातोपानी सुख्खा बन्दरगाहबाट सुरु भएर २४.५ किलोमिटरको दुरी छिचोल्दै २१ सय २२  मिटर उचाइमा रहेको दुगुनागढी पुगेर अन्त्य हुने माउण्टेन ट्रेलरेसको आयोजनाले यस गढीको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको भोटेकासी गाउँपालिका वडा न ३ का वडा अध्यक्ष निमा सोना शेर्पाले बताउनुभयो । उहाँले पर्यटकहरूलाई थप आकर्षित गर्न यसै स्थानमा युद्ध संग्राहलय निर्माणका लागि गाउँपालिकाले पहल थालिएको पनि जानकारी दिनुभयो । यो वर्ष पनि लिस्तिकोट दुगुनागढी माउण्टेन रेस प्रतियोगिता उल्लासमय वातावरणमा सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।

राजधानी काठमाडौँबाट १ सय १३ किलोमिटरको दुरीमा रहेको दुगुनागढी पर्यटकीयरुपमा मात्र हैन  सामरिक एवम् पुरातात्विकरुपमा पनि वर्तमान र भावी पुस्ताका लागि महत्वपूर्ण इतिहास बुझ्ने थलोको रुपमा विकास थप प्रचारप्रसारसँगै सम्बन्धित निकायको ध्यान जान आवश्यकता छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्