चौतारा साँगाचोकगढीमा दादुरा–रुबेला विरुद्ध खोप अभियान सुरु
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकामा दादुरा–रुबेला विरुद्ध खोप अभियान सञ्चालन भएको छ ।
अभियानको पहिलो दिन सोमबार नगरभित्रका ८ सय ८५ जना बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप दिएको चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
९ महिनादेखि ५ वर्षभित्रका उमेरसमूहलाई लक्षित गर्दै सञ्चालन गरेको अभियानमा ४२१ जना बालिका र ४६४ जना बालक रहेको स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिनुभयो ।
शाखाप्रमुख पुरीका अनुसार आजबाट १७ गतेसम्म नगरको १४ वटै वडामा अभियान सञ्चालन हुने छ । वडाका ४० खोप केन्द्रभित्र पायक पर्ने ठाउँमा खोपकार्डसहित उपस्थित भएर आफ्ना बालबालिकाहरुलाई खोप दिन पनि शाखा प्रमुख पुरीले अनुरोध गर्नुभयो । नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोप केन्द्रमा जाँदा छुट नियमित खोप पनि दिइने हुँदा खोप कार्ड अनिवार्य गरिएको हो ।
शाखाले नगरभित्रका ९ महिनादेखि ५ वर्षभित्रका उमेर समूहका २ हजार ६ सय २ जनालाई रुबेला दादुरा विरुद्धको खोप दिने उदेश्य लिएको छ । अभियानलाई सफल बनाउनका लागि ४० केन्द्रमा ४० जना खोपकर्ता परिचालन गरिएको छ भने ८० जना स्वयम्सेवक र १४ जना अनुगमनकर्ताहरुको व्यवस्थापन पनि गरिएको शाखाले जनाएको छ ।