चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा न १० ले वडाभित्र रहेका वृद्धवृद्धा र अपाङता भएकाहरुलाई टोलटोलमा नै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बुधबार प्रतिनिधिसभा सदस्य मोहनवहादुर बस्नेतले सुकुटेमा भत्ता वितरण गर्दै वडाबाट सञ्चालित एकीकृत घुम्ती सेवाको औपचारिक उदघाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका उपमेयर सीता थापा, वडा अध्यक्ष नीरबहादुर तामाङ, स्वास्थ्यकर्मी, बैंक कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
सिन्धु विकास बैंकका कर्मचारी, स्वास्थ्यकर्मी र वडा कर्मचारी सहित आज प्रत्येक टोलमा पुगि सामाजिक सुरक्षा भत्ता वितरण गरिने वडा अध्यक्ष निरबहादुर तामाङले जानकारी दिनु भयो । सामाजिक सुरक्षा भत्तासँगै वृद्धवृद्धाहरुका लागि न्यानो कपडा, स्वास्थ्य विमा कार्यक्रम र वडाबाट प्रवाहित हुने प्रशासनिक सेवा पनि आज टोलटोलमा पुगेर प्रदान गरिने अध्यक्ष तामाङले जानकारी दिनु भयो । टोलटोलमै आएर भत्ता वितरण थालेपछि स्थानीय सेवाग्राही भने खुशी छन् । बैंक पुगेर घण्टौं लाइनमा बसेर सास्ति खेप्नु परेका झन्झटबाट मुक्त भएको उहाँहरुको कथन छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न १० एक मात्र वडा हो जसले सामाजिक सुरक्षा भत्ता बैंकका कर्मचारीसहित टोलटोलमा नै पुगेर वितरण गर्दै आएको छ ।
( तस्वीर ः विजय नेपाल )