कुनै बेला रोजगारीको नाममा दरबारभित्र राजा र राणाहरुको धाईआमा र सुसारेबाट सुरु भएको आदिवासी जनजाति महिलाहरुको रोजगार पछिल्लोचरणमा वैदेशिक भूमि बन्न थालेका छन् । उ बेला राज र राणा परिवारको धाईआमा, सुसारे बन्न दरबार छिर्न वाध्य महिलाहरु अहिले भने विदेशी नागरिकहरुको नव धाइआमा र सुसारे बन्न विदेश जान वाध्य छन् ।
जीवन श्रेष्ठ l सिन्धुपाल्चोक
घर सम्हाल्नु नै महिलाहरुको काम हो भन्ने मान्यता थियो कुनै बेला नेपाली समाजमा । महिलाहरुलाई न त शिक्षाका लागि विद्यालय नै पठाइने गथ्र्यो, न त रोजगारीका लागि कतै संलग्न नै गर्ने चलन थियो । पुरुषहरु कमाउने र महिलाहरु घर धन्धा सम्हाल्ने भन्ने जस्ता संकीर्ण मानसिकता र संस्कारले नेपाली महिलाहरुलाई घाँसदाउरा, मेलापात, चुलाचौकामा मात्र सीमित राखेन, यसैकोे कारणले गर्दा महिलाहरुको संपूर्ण अधिकारलाई कुण्ठित गर्दै दोस्रो दर्जाको नागरिकको रुपमा स्थापित ग¥यो ।
देशमा भएको २००७ साल, ४६ साल, दस वर्षिय जनयुद्ध ६२÷६३ को जनआन्दोलनबाट व्यवस्थामा भएको परिवर्तनसँगै महिला हक, हित अधिकार, स्वतन्त्रता, महिला शिक्षा र पटकपटक भएको महिला मुक्ति आन्दोलनको आयामका कारण महिलामा जागरण मात्र आएन, कमलरी प्रथा र बादी समुदायका महिलाहरुको वाध्यता र चेलिबेटी बेचविखनको विदु्रप संरचना पनि विस्तारै हराउँदै गयो तर विश्वव्यपिकरण र खुला अर्थतन्त्रका कारण नेपाली महिलाहरुको रोजगारीको केन्द्र पनि पुरुष सहर विदेश बन्न थाल्यो । हिजो रोजगारीको नाममा दरबारमा धाइआमा, सुसारेको रुपमा कार्य गर्न वाध्य महिलाहरु आज इजरायल, जोर्डन, कुवेत, साउदी अरब लगायतका विदेशी नागरिकहरुको घर घरमा नव धाइआमा र सुसारे बन्न वाध्य छन् । आफूले चाहेको बेलामा घरमा आउन नदिने, जस्तोसुकै काम गर्न पनि वाध्य गरिने र चौबीसै घण्टा साहूको सेवामा हाजिर हुनुपर्ने जस्ता समस्या विदेशिएका महिलाहरुले भोग्दै आएका छन् भने कतिपय महिलाहरु बन्धक बनाइएका घटानाहरुले नेपाली महिलाहरु विदेशी भूमिमा आधुनिक दासी र कमलरी हुन वाध्य भएको प्रष्ट हुन्छ । कतिपय महिलाहरुमाथि भए गरेका शारीरिक र मानसिक शोषणका कारण उनीहरु आधुनिक बादी समुदायका महिला हुन पनि वाध्य पारिएका छन् ।
हो निश्चय पनि व्यवस्था परिवर्तन र महिला आन्दोलनसँगै महिला हक हित र अधिकारको पक्षमा सकारात्मक संकेत त देखिएको छ यदपीको हिजोको पुरुषप्रधान सोच र मान्यताका कारण दविएका, हेपिएका र रोजगारीसँगै अनेक अवसरहरुबाट वञ्चित गराइएका महिलाहरु आज आत्मनिर्भर र स्वालम्बन बन्नका लागि जुरमुराए पनि स्थिति भने सहज हुन सकेको छैन । किनकि एकातिर पुरुषप्रधान संरचनाको धङधङति आज पनि उस्तै छ । जसका कारणले स्वदेशमा पाइने रोजगार लगायतको अवसरमा पुरुषकै बर्चस्व कायम हुँदै आएको छ भने अर्कातिर शिक्षा, चेतना, सीप र दक्षताको कमीका कारण महिलाहरु उचित रोजगारीबाट बञ्चित हुनु परेको छ । यसैका कारणले पनि बैदेशिक श्रम बजार नै नेपाली महिलाहरुका लागि आकर्षणको केन्द्र बन्न थालेको छ ।
एक तथ्याङ्क अनुसार पछिल्लो समय दैनिक २२ सय जना नेपाली महिला र पुरुषहरु रोजगारीका लागि विदेश जाने गरेका छन् । एक वर्षमा ७ लाख ७१ हजार ३२७ जना वैदेशिक रोजगारका लागि श्रमस्वीकृति लिएरै विदेशि गएका छन ्। जसमा ७२ हजार १ सय ३४ जना त महिला नै रहेका छन् । जसमध्यमा पनि बैदेशिक रोजगारीका लागि आदिवासी जनजाति महिलाहरुको संख्या उल्लेख्य रहेको छ । यदपी आप्रववसी कामदारको हकमा एकमुष्ट तथ्याङ्क र सही विवरणको अभाव छ । त्यसमाथि आदिवासी महिलाको मात्र तथ्याङ्क हुने त कुरै भएन । फेरि पनि विभिन्न तथ्याङ्क अनुसार वैदेशिक रोजगारमा जानेमा आदिवासी जनजाति महिलाहरुको उल्लेख्य संख्यालाई भने नकार्न सकिँदैन ।
रोजगारीको शिलशिलामा विदेश गएकी आदिवासी जनजाति महिलाहरुको दुरावस्था बढ्दो छ । फेरि पनि विदेशप्रतिको मोह भने घटेको छैन । एकातिर कतिपय महिलाहरु विविध कारणले वन्धक बन्न वाध्य छन् भने कतिपय विदेश गएर पनि केही महिनामा नै नेपाल फर्कन वाध्य छन् ।
विश्वव्यपिकरण, उद्धार अर्थतन्त्र र शैनिकीकरणले विश्व श्रम बजारमा पहिला पहिला पुरुषहरु मात्र खपत हुने गर्दथ्यो । समयक्रमसँगै अहिले विश्व रोजगारीको बजारमा महिलाहरु पनि खपत हुन थालेका छन् । हिजो चृुलाचौकामा र घरायसी धन्धामा मात्र सीमित हुने गरेका महिलाहरु आज आफै कामाऔ भन्ने भावले रोजगारीका अवसरहरुको खोजिमा भौतारिन वाध्य छन् । महिला आफै रोजगार र आयआर्जनमा जोडिनु सकरात्मक विषय नै हो । महिला शसक्तिकरण र स्वालवम्वनका लागि आयआर्जन र स्वरोजगारले सकारात्म भूमिका निर्वाह गर्नेमा दुई मत नहुन सक्छ । यदपी ज्ञान, सीप र बौद्धिक योग्यताका कमीले गर्दा भनेको जस्तो रोजगार नपाउनु स्वभाविक नै हो । खासगरि राज्यले स्वदेशमै रोजगारी सिर्जना गर्न नसक्दा अधिकाँश महिलाहरु पनि विदेश जान वाध्य छन् । देशमा दस वर्षिय जनयद्धताका ग्रामीण भेगमा बस्न नसकेर शहरी र सुरक्षित क्षेत्रमा बसाई सर्ने क्रम पनि बढ्यो । त्यो क्रमले बैदेशिक रोजगारीका नाम विदेश जानका लागि पनि महत्वपूर्ण भूमिका खेल्यो । चाहेर वा नचाहेर त्यो घानमा महिलाहरु पर्न थाल्यो । फेरि पनि यसरी विदेशिनेहरुमा आदिवासी जनजाति महिलाहरुको संख्या नै अग्रपंक्तिमा छ । र भनिरहनु पर्दैन सिन्धुपाल्चोक जिल्ला पनि यसबाट अछुतो रहन सकेको छैन ।
गत आवमा सिन्धुपाल्चोकबाट मात्र १८ हजार जना युवायुवतीहरु रोजगारका लागि विदेश हानिएका छन् । यस मध्ये झण्डै ८ हजारको संख्यामा महिलाहरु रहेका र झण्डै ९० प्रतिशतभन्दा बढी त आदिवासी जनजति महिलाहरु नै रहेको सुरक्षित आप्रवासन कार्यक्रम सामीले जनाएको छ । घरायसी कामका लागि भन्दै इजराय, कुवेत, संयुक्त राज्य इमिरेट, दुवई, कतार, मलेशिया र जोर्डन लगायतका मूलुकहरुमा गएका महिलाहरु मध्ये औैलामा गन्न सकिने महिलाहरुले मात्र भनेको जस्तो दाम र काम पाएका छन् । अधिकाँश आदिवासी जनजाति महिलाहरुले भने समस्या झेल्नु परेको सामीका मनोसामाजिक परामर्शकर्ता निर्मला श्रेष्ठ बताउँछिन् । समस्यामा परेकाहरुले उजुरी दिने क्रम पनि बढिरहेको श्रेष्ठको भनाईछ । मुख्यतया भाषागत ज्ञान, सीप दक्षताका कमीका कारण अधिकांश महिलाहरु विदेशी भूभागमा अलपत्र परेको र नेपाल फर्के पनि कतिपयले मानसिक सन्तुलन गुमाएर वा विभिन्न समस्यामा परेर आउने गरेको श्रेष्ठ बताउँछिन् । दलालहरुको फन्दा परी अलपत्र भएका आदिवासी महिलाहरुको संख्या पनि उल्लेख्य रहेको सामिले जनाएको छ ।
यसरी अलपत्र परेकी मध्यकी एक हुन् डिकी शेर्पा । ३२ वर्षकी शेर्पा ५ वर्ष अगाडि घरायसी कामका लागि १२ लाख खर्चेर युरोप हानिएकी हुन् । दलालको प्रलोभनमा परी कम्पनीमार्फत नै युरोप जान्छु भनि गएकी उनी विगत चार वर्षदेखि दुबइमा रहन वाध्य छिन् । दलालले उनलाई युरोपमा त पु¥याएनन् तर कुवेतमा पनि ३ महिनाभन्दा बढी काम नपाए पछि अहिले उनी कुवेतमा अलपत्र भएर रहेकी उनकी दिदी फुर्वा शेर्पाले जानकारी दिइन् । युरोप लान्छु भनेर प्रोलोभन देखाएका दलाल पनि अहिले सम्पर्कविहीन भएका कारण वहिनी डिकीलाई उद्धार गरिदिनका लागि सरकार र सम्वन्धीत निकायलाई आग्रह गरिन् । भिसाको समयावधि पनि सकिएको र पासपोर्ट लगायत कागजात पनि दलालले नदिएका कारण दुबईमा अलपत्र परेकी बहिनी डिकी झन समस्यामा परेको उनको कथनछ । त्यसो त शेर्पाको उद्धारका लागि आफूहरुले पनि पहल गर्दै गरेको सामी मनोसामाजिक कार्यकर्ता श्रेष्ठले जानकारी दिइन् ।
त्यस्तै सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिकाकी ४४ वर्षिया सेरसाङ लामा र ४० वर्षिय याङजेन शेर्पा पनि दक्षिण अमेरिकामा वन्धक बनाएको खबर प्राप्त भएको छ । विगत ५ महिनादेखि क्यारेवियन टापु ट्रिनिडाड एन्ड टोबागोमा अमानवीय रुपमा वन्धक बनाइएका उनीहरुले क्यारेवियन एयरलायन्सका सुरक्षाकर्मीले बन्धक बनाएका बताइएको छ ।
२०८० सावनमा नयाँ पत्रिकाद्वारा प्रकाशन गरिएको नेपालका तीन महिला चार महिनादेखि दक्षिण अमेरिकी मूलुकमा वन्धक भन्ने उल्लेखित समाचार अनुसार लामा र शेर्पा दुबैजना अप्रत्यक्षरुपमा परिवारसँग सम्पर्कमा आए पनि त्यस विषयमा कुनै पनि उजुरी नपरेको मानव बेचविखन अनुसन्धान व्युरोले जानकारी दिएको छ । सामिले दिएको जानकारी अनुसार लामा दुबइ र शेर्पा मकाउमा काम गर्न भनि गएकी देखिन्छ ।
निश्चय पनि रोजगारीको शिलशिलामा विदेश गएकी आदिवासी जनजाति महिलाहरुको दुरावस्था बढ्दो छ । फेरि पनि विदेशप्रतिको मोह भने घटेको छैन । एकातिर कतिपय महिलाहरु विविध कारणले वन्धक बन्न वाध्य छन् भने कतिपय विदेश गएर पनि केही महिनामा नै नेपाल फर्कन वाध्य छन् । वैदेशिक रोजगारीकै शिलशिलामा तीन महिनामा नै फर्कन वाध्य भएकी महिला हुन् लक्ष्मी श्रेष्ठ । सिन्धुपाल्चोक बाह्रविसेकी ३० वर्षिया लक्ष्मी श्रेष्ठ गत २०७९ बैशाखमा कुवेत हानिएकी हुन । तर लगातारको विमारपछि उनी ३ महिनामा नै नेपाल फर्कन वाध्य भइन् । आर्थिक अवस्था कमजोर रहेकै कारण श्रम स्वीकृति लिई विदेश गएकी उनी हावापानी र खानपिन नमिलेपछि लगातार विरामी भएको बताउँछिन् । एकातिर भाषाको समस्या अर्कोतिर स्वास्थ्यमा समस्या देखिन थालेपछि श्रेष्ठले उपचारका लागि उतै धरै खर्च पनि गरिन । पारिवारिक वातवारणमा बसेकी उनलाई चिकित्सकहरुले होमसिक भएको र सोही अनुसारको उपचार गर्दा पनि निको नभएपछि श्रेष्ठ नेपाल फर्केकी बताउँछिन् । नेपाल फर्केपछि समाजले हेर्ने दृष्टिकोण नकारात्म रहेको उनको अनुभव छ । कतिपयले त विदेशमा नराम्रो काम गर्न गएको भन्ने आरोप पनि लगाउने गरेको उनी बताउछिन् ।
३ महिनापछि नै नेपाल आएकी उनले परिवारबाट त्यस्तो नराम्रो नठाने पनि विदेशमा काम गर्न गएकी महिलाहरुप्रति समाजले हेर्ने दृष्टिकोण संकालु रहेको बताइन् । हामी घरायसी कामका लागि गएका थियौं तर समाजले अर्कै धन्धाका लागि गएको जस्तो सोच्दा रहेछन् तामाङले भनिन् ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा न १ की ४५ वर्षिया कमला तामाङ ( नाम परिवर्तन ) पनि कम्पनीमार्फत नै जोर्डन पुगेकी थिइन् । २०७८ साल वैशाखमा जोर्डन गएकी उनी १० महिनापछि नै नेपाल फर्कन वाध्य भइन् । कम्पनीमार्फत भनिएता पनि सप्लाईमा परेकी उनी ३ महिना काम पाए पनि र अरु समय नपाएपछि फर्कन वाध्य भएकी हुन् । घरको आर्थिक अवस्था राम्रो नभएकोले विदेश गएकी तामाङले फर्केपछि समाजले आफूलाई हेर्ने दृष्टिकोणमा फरक आएको अनुभव सुनाउछिन्
हुन त तामाङ घरायसी कामका लागि भनेर गएकी थिइन् । तर दलालको फन्दामा परेकी उनीले ३ महिना त साहूको घरमा २४ सै घण्टा काम गर्नु प¥यो । ३ महिनापछि दलालले अर्को साहूकोमा काम लगाइदिन खोजेको तर आफू नेपाल नै फर्केकी उनले बताइन् । विदेशमा भाषाको समस्या र कामको धरै नै दुख हुने अनुभव तामाङ्ले सुनाइन् । जतिखेर भन्यो त्यतिखेर काममा लाग्नु पर्ने, फुर्सद र आराम गर्ने समय नै नहुने उनको अनुभव छ । ३ महिनापछि नै नेपाल आएकी उनले परिवारबाट त्यस्तो नराम्रो नठाने पनि विदेशमा काम गर्न गएकी महिलाहरुप्रति समाजले हेर्ने दृष्टिकोण संकालु रहेको बताइन् । हामी घरायसी कामका लागि गएका थियौं तर समाजले अर्कै धन्धाका लागि गएको जस्तो सोच्दा रहेछन् तामाङले भनिन् ।
स्याउलेकै सोममाई तामाङको कथा भने अलि बेग्लै छ । २०७८ साल वैशाखमा घरायसी कामका लागि भनेर जोर्डन पुगेकी उनी मानसिक र शारीरिक यातनापछि भने नेपाल फर्कन वाध्य भइन् । यातनाबाट थला परेकी तामाङलाई उनकै बुबा आपाइ तामाङको सकृयतामा उद्धार त गरियो तर मानसिकरुपमा समेत विछिप्त उनलाई सामान्य अवस्थामा फर्कन पनि महिनौं लाग्यो । मानसिक स्वास्थ्य परामर्शबाट सामान्यस्थितिमा फर्केकी उनले चौतारामा नै बसेर केही गरौं भन्ने उदेश्यले चप्पल कारखान पनि खोलिन तर बजार नपाउँदा कारखानाका लागि गरिएको लगानी पनि बालुवा पानी सरह भयो । अन्य काम गर्ने सीप थिएन । भएको कारखानालाई सवलिकरणका लागि उनले स्थानीय सरकारसँग पनि गुहार मागिन तर केही सम्वोधन नभएपछि उनी फेरि विदेश हानिन वाध्य भइन् । अहिले त छोरीले राम्रै काम पाएकी छिन् उनको बुबा आपाइले भने ।
कतिपय स्थानीय सरकारसँग आफ्ना पालिकाबाट कति आदिवासी जनजाति महिलाहरु विदेश गए र कति फर्के भन्ने तथ्याङक पनि छैन । कतिपय स्थानीय सरकारले सुरक्षित आप्रावासनका लागि सीमित बजेट विनियोजन गरेको पाइए पनि फर्केकाहरुलाई सामाजिक पुनस्र्थापन, रोजगारी, आयाआर्जनमा जोड्नका लागि कुनै योजना नै अघि सारेको पाइदैन । विदेशबाट फर्केकी चौतारा साँगाचोकगढीकी शिरमाया लामा स्थानीय सरकारले विदेशबाट फर्केकी महिलालाई उचित आयआर्जनमा जोड्नु पर्ने बताउँछिन् ।
चौतारा साँगाचोकगढीकी शिरमाया लामा अहिले ज्याला मजदुरी गर्दै आएकी छिन् । ८ वर्ष अगाडि घरायसी कामका लागि विदेश गएकी उनी विदेशमा गएर काम गर्दाको दुख अहिले पनि झलझली सम्झीछिन् । साहूको घरमा २४ सैं घण्टा काम गर्दा जुन दुख उनले भोगिन, अहिले पनि सम्झँदा आँसु नै झर्ने गरेको उनी बताउँछिन् । ज्याल मजदुरी गरेर श्रीमान्ले कमाएको रकमबाट घर गुजारा नचल्ने भएपछि उनी विदेश हानिएकी थिइन् तर त्यसको बदलामा उनले ठूलै दुख झेल्नु परेको बताइन् । हुन त विदेशको कमाइबाट उनले घर बनाइन, छोराछोरी पढाइन, फेरि पनि विदेशमा गएर महिलाले काम गर्नु चुनौतिपूर्ण भएको उनको अनुभव छ ।
खासगरि वैदेशिक रोजगारीका लागि आदिवासी जनजाति महिलाहरु मात्र हैनन् गैर आदिवासी जनाजति महिलाहरु पनि जाने गर्छन् । तर गैर आदिवासी जनजाति महिलाहरु जाने क्रमदेखि विदेशमा रहँदा वा फर्कँदासम्म धरैजसो समस्यामा पर्ने र पीडित हुने गर्छन् । अधिकाँश आदिवासी जनजाति महिलाहरु शिक्षित छैनन् । न त उनीहरुसँग रोजगारीका लागि चाहिने अन्य दक्षता र सीप नै छन् । राजनीतिक र सामाजिकरुपमा पहुँच नभएका कारणले मात्र हैन नेपाली भाषा नै राम्रोसँग बोल्न नआउनका कारण पनि आदिवासी जनजाति महिलाहरु बढी पीडित हुने गरेका छन् । तर यसको ठीक उल्टो गैर आदिवासी जनजति महिलाहरु सुझबुझका साथ मात्र विदेश जाने गरेका कारण पनि उनीहरु कम समस्या पर्ने गरेका छन् । स्वभावले नै सोझी र अरुलाई छिट्टै विश्वास गरिहाल्ने प्रकृतिका कारण पनि आदिवासी महिलाहरु वैदेशिक रोजगारीको क्रममा बढी ठगिमा पर्ने गरेको सामि जिल्ला संयोजक अरुण पौडेल बताउँछन् । महिलाहरुका लागि विदेशमा अधिकाँश काम भनेकै घरायसी भएको र घरायसी कामका लागि गैर आदिवासी महिलाहरुमा त्यति उत्साह नदेखिएको संयोजक पौडेलको भनाइछ । त्यसमाथि भाषा, शिक्षा, सीपको कमीका कारण र विना सुझबुझ जाने गर्नाले पनि आदिवासी महिलाहरु समस्यामा पर्ने गरेको उनेको दावी छ ।
त्यसो त कुनै बेला चेलीवेटी बेचविखनको जिल्लाको रुपमा चिनिएको सिन्धुपाल्चोक पछिल्लोचरण महिला आप्रवासनका लागि पनि चिनिने थालेको छ । आदिवासी जनजातिकै बाहुल्यता भएको सिन्धुपाल्चोकमा बैदेशिक रोजगारीका नाममा आदिवासी जनजाति महिलाहरु नै विदेश जाने गरेको घाम जतिकै छर्लङ्ग छ । अशिक्षा, चेतना, चरम बेरोजगारी र गरिवीको कारण आदिवासी जनजाति महिलाहरु उहिले रोजगारीको नाममा बेचविखनमा पर्ने गरेको र अहिले फेरि रोजगारीकै नाममा श्रम गर्न विदेशिएको सुरक्षित आप्रवासन तथा मानव बेचविखन विरुद्ध लामो समय कार्य गरेका दीपक अर्याल बताउँछन् । विदेशीमा श्रम गर्न जाने चलन आदिवासी महिलाहरुमा पहिले पनि थियो, त्यसैको निरन्तरता भएको उनको भनाइछ । यसमा पनि शहर बजारको आदिवासी महिला भन्दा पनि ग्रामीण र विकट क्षेत्रका महिलाहरु बढी विदेशिएको तथ्याङक् छ । जिल्लाका सवालमा पनि जुगल, भोटेकोसी लगायतको विकट र ग्रामीण भेगका महिलाहरु विदेशिने र ठगीमा पर्ने गरेको मानव बेचविखन विरुद्ध कार्य गर्दै आएको संस्था मानव अधिकार जनमञ्चमा कार्यरत कृति गोले बताउँछिन् ।
सिन्धुपाल्चोकै सवालमा पनि वैदेशिक रोजगारमा गएकी महिलाहरु मध्य ९० प्रतिशतभन्दा बढी त आदिवासी जनजाति महिलाहरु नै रहने गरेका छन् । विना सुझबुझ दलालको प्रलोभनमा परि विदेशमा जाने आदिवासी जनजाति महिलाहरु राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय आएदेखि नै ठगीमा पर्ने गरेका छन । अर्कोतर्फ विदेश गएर भने जस्तो काम र दाम पाउने महिलाहरुको संख्या पनि न्यून रहँदै आएको छ । जसका कारण विदेशबाट फर्किएका महिलाहरुमा मानसिक स्वास्थ्यमा समस्या देखिने गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रविसे नगरपालिका, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकामा कार्य गर्दै आएको सामीले हालसम्म ७५ जनालाई व्यक्तिगत मनोसामाजिक परामर्श सेवा प्रदान गरिसकेको जनाएको छ । जसमा ५८ जना त महिला नै रहेका छन् । यसबाट पनि प्रष्ट हुन्छ कि वैदेशिक श्रम बजार नेपाली महिलाहरुका सुखद हुन सकेको छैन ।
खासगरि स्थानीय सकारले यी समस्याहरुलाई दृष्टिगत गरि विदेशिने महिलाहरुलाई सीप र दक्षता प्रदान गर्ने र फर्केकाहरुलाई उचित रोजगारीसँगै समाजिक पुनस्र्थापनका लागि कार्ययोजना बनाउनतर्फ अगाडि बढ्न आवश्यक छ । तर विडम्बना कतिपय स्थानीय सरकारसँग आफ्ना पालिकाबाट कति आदिवासी जनजाति महिलाहरु विदेश गए र कति फर्के भन्ने तथ्याङक पनि छैन । कतिपय स्थानीय सरकारले सुरक्षित आप्रावासनका लागि सीमित बजेट विनियोजन गरेको पाइए पनि फर्केकाहरुलाई सामाजिक पुनस्र्थापन, रोजगारी, आयाआर्जनमा जोड्नका लागि कुनै योजना नै अघि सारेको पाइदैन । विदेशबाट फर्केकी चौतारा साँगाचोकगढीकी शिरमाया लामा स्थानीय सरकारले विदेशबाट फर्केकी महिलालाई उचित आयआर्जनमा जोड्नु पर्ने बताउँछिन् । विदेशबाट फर्केकी महिला विदेश जान पुन लालयित नहोस शेर्पाले भनिन् त्यसका लागि स्थानीय सरकारले स्वदेशमा नै बस्ने र रोजगारी सिर्जना गर्ने वातावरण मिलाउन सक्नुपर्छ ।
सन्दर्भ सामाग्री ः मावन बेचविखन अनुसन्धान व्युरो काठमाण्डौ र सामीको तथ्याङ, मनोसामाजिक कायर्कर्ता, निर्मला श्रेष्ठ, संयोजक अरुण पौडेल, फुर्वा शेर्पा, अपाई तामाङ, लक्ष्मी श्रेष्ठ, कमला तामाङ, दीपक अर्याल लगायतसँगको बातचित, नयाँ पत्रिका लगायत विभिन्न पत्रपत्रिका ।