टुङ्ना बजाएर जीवनको धुन खोज्ने एउटा प्रतिभाको भर्चुअल अवतरण
सुरेश भुसाल/शिव मुखिया
२ मंसिर, काठमाडौं । सुन्धाराको तामसिक कोलाहाल छिचोल्दै एउटा सात्विक धुन गुञ्जियो, तामाङ सेलोमा-
‘सालघारीबाट मालगाडी आयो, घुम्तीमा लेट भयो
तिमी छौ कहाँको, हामी छौं कहाँको काठमाडौंमा भेट भयो
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला …..’
टुङ्नाको निख्खर रैथाने धुन पछ्याउँदै जाँदा भेटिए, वीरबहादुर विश्वकर्मा ।
रुम नम्बर ३०२
साँघुरो कोठा । दुई सिंगल बेड । अट्याच बाथरुम । रित्तिइसकेको दूध चियाको जुठो कप । कंक्रिटको चिसो ।
सेतो सट, कालो इस्टकोट र कालै पाइन्टमा कुनै स्कुले पोशाकजस्तो पहिरिएर आफ्नो ज्यानलाई गुपचुप ‘होटेल एन्ड गेस्ट हाउस’को कोठामा थन्क्याइरहेका ।
त्यही सग्लो र परिचित हुलिया थियो, जो हामीले भर्चुअल दुनियाँमा छ्यापछ्याप्ती भेटेका थियौं । बौद्धतिरको भीडमा एकोहोरो टुङ्नामा तामाङ सेलो अलाप्दै खर्चपानी जुटाइरहेका । लेकको कुनै घर अघिल्तिर टुक्रुक्क बसेर केही तन्नेरीलाई ‘इन्टरटेन’ गराइरहेका । अनि, शहरका चर्चित ब्यान्डसँग लय मिलाइरहेका ।
भर्चुअल संसारमा उनी ‘सेलिब्रेटी’ भइसके । तर, उनले त्यसको भेउ पाएका छैनन् । किनभने, एक त उनी सिन्धुपाल्चोकको कुनै दुर्गम लेकमा बस्छन् । अर्कोचाहीं दृष्टि छैन । त्यसभन्दा खास्सा कुरोचाहीं, उनलाई यस्तो ‘चर्चा परिचर्चा’सँग कुनै मतलब छैन । मतलब छ त तीन लालाबाला र पत्नीका लागि कसरी माड जुटाउने ? कठ्यांगि्रने चिसा रातहरु कसरी कटाउने ?
खर्चपानी खोज्दै राजधानी
किन काठमाडौं आउनुभयो ? वीरबहादुरको हकमा यो प्रश्न नै बेकार छ ।
किनभने, उनलाई घुम्नु छैन, डुल्नु छैन, शहरको रमिता देख्नु छैन । तैपनि, बेलाबखत गाउँमै खबर पुग्छ, ‘एक पटक काठमाडौं आइदिनु पर्यो रे ।’
यस्ता आग्रह उनी चुपचाप स्वीकार्छन् । टुङ्ना भिर्छन् । र, अरनिको राजमार्ग छेउमा बसेर बस पर्खन्छन् । बस चढ्छन् । बसले शहीदगेटमा उतारिदिन्छ । उनी निम्तालुले चाँजोपाँजो मिलाइदिएको गेस्टहाउसमा पुग्छन् । काठमाडौं भनेकै सुन्धारा । उनी त्यहीं बस्छन् ।
यसपालि पनि कुनै सांगीतिक ब्यान्डको निम्तो मान्न उनी राजधानी आइपुगे, भान्जोलाई साथ लिएर । शुक्रबार उनले भुकृटीमण्डपमा गाउने मेलोमेसो मिलाइएको छ । शनिबार ब्यान्डसँगै पाटनको कुनै स्टेजमा उक्लिनेछन् ।
यसअघि हामीसँग उनी फोटोसुटका लागि तयार भए । सुन्धाराकै भीडमा उभिएर केही पोज दिए । कमलपोखरीको सिटी सेन्टरमा पुगेर एकाध गीत सुनाए । त्यही बेला कुनै संगीतकर्मीले उनलाई अफर गरे, ‘यही मौकामा तपाईंको धुन रेकर्ड गर्नुपर्यो ।’
त्यहाँबाट र्फकंदै गर्दा हामीले ‘गीत र टुङ्नाको धुन रेकर्ड गरेवापत तपाईंलाई पारिश्रमिक पनि आउँछ’ भनिदियौं । पारिश्रमिक सुनेर उनी गद्गद् भए ।
‘गाउँमा रासनपानी खाएको ८/१० हजार ऋण छ,’ उनले भने, ‘साहुलाई यसरी नै कमाउँला र ल्याएर तिरौंला भनेको थिएँ ।’
टुङ्नाको धुनमा
वीरबहादुरले टुङ्ना नबजाएसम्म उनको घरको धुन बज्दैन । अर्थात्, साना बालबच्चा, पत्नी र आफू पालिने भनेकै टुङ्ना बजाएर हो । आँखा सद्दे भएको भए मेलापात जान्थे होलान् वा लिपिङतिर गएर सामान ओसारपसार गर्थे होलान् । मालवाहक गाडीमा भारी लोड-अनलोड गर्थे होलान् । भोटेकोशीतिर माछा मार्न पुग्थे होलान् ।
तर, जन्मँदै उनीसँग दृष्टि भएन । चार वर्षका हुँदा बाबुको निधन भयो । उनको कुनै जायजेथा थिएन । कलिलै उमेरमा दुःखले थिचिए । न बच्चा हुन पाए, न किशोर । सानैदेखि पेट पाल्नुपर्ने बाध्यता आइलाग्यो । त्यही बाध्यताले धकेल्दै उनलाई मुरली फुक्न लगायो । भीडभाडमा पुगेर मुरलीको धुन फुके । २/४ रुपैयाँ जुट्थ्यो । तर, मुरलीको धुनले जीवनको धुन निकाल्न गाह्रो भयो ।
गाउँमा गुम्बा थियो । गुम्बामा लामा गुरु थिए । उनीसँग टुङ्ना थियो । र, त्यही बजाउँथे ।
टुङ्नाको धुन वीरबहादुरको मनको मुच्र्छनासँग जोडियो । उनले लामा गुरुलाई भने, ‘मलाई पनि बजाउन सिकाइदिनु पर्यो ।’
उनै लामाले टुङ्ना बजाउन सिकाए । कहिल्यै नदेखेको बाद्ययन्त्रबाट उनले धुन निकाले । पाँच सय रुपैयाँमा एउटा टुङ्ना किने । र, त्यही बोकेर जात्रा, मेला-पर्व चहार्न थाले । कहिले अरनिको राजमार्गको सडक किनारमा बसेर बजाए, कहिले बाह्रबिसे झरेर बजाए ।
रमितेहरुले मोबाइलमा उनको ‘प्रस्तुती’ दृश्यांकन गरे । कसैले फेसबुकमा अपलोड गरे, कसैले युट्युबमा । गुगल सर्च इन्जिनमा ‘वीरबहादुर विश्वकर्मा’ खोजेपछि उनी देखापर्न थाले । उनको ख्याती एक कान दुई कान, मैदान भयो ।
वीरबहादुर गाउँको चोकमा टुङ्ना बजाइरहेका थिए । शहरबाट गजब अफर आयो, सांगीतिक कार्यक्रम भाग लिने । निम्तो गर्ने समूह थियो, चर्चित ब्यान्ड कुटुम्ब । वीरबहादुर काठमाडौं आए । ३/४ दिन कुटुम्बसँगै अभ्यास गरे । पाटनमा कार्यक्रम भयो ।
कार्यक्रम सकेर घर फर्किंदा उनको खल्ती केही गह्रौं थियो ।
गीत गाएको पैसाले बिहे
उनी गायक थिएनन्, न त सेलिब्रेटी थिए । तर, काठमाडौंबाट ‘कमर्सियल निम्तो’ आयो । बोलाएका थिए, निमा लामाले । उनको बौद्धमा रेस्टुराँ रहेछ ।
त्यही रेस्टुराँका पाहुनालाई टुङ्नाको धुन सुनाइदिनुपर्ने । वीरवहादुरले खिपेर धुन निकाले, गाइदिए, तामाङ सेलो । घर फर्किने दिन लामाले दुःखसास्ती चार हजार रुपैयाँ हातमा थमाइदिए ।
त्यसअघि एकमुष्ठ यति धेरै पैसा थापेका थिएनन् । गाउँकै मेला, पर्वमा गाउँथे । लिपिङ बजारमा पुगेर गाउँथे । एक, डेढ सय कमाइ हुन्थ्यो ।
लामाले दिएको पैसा च्यापेर उनी गाउँ पुगे । घरमा पुगेपछि झ्वांक चल्यो, बिहे गर्ने । तर, कसलाई ?
आफूले खोज्नासाथ को आउँछ ? त्यो पनि दृष्टिविहीनसँग ?
तै कुरा मिलाइहेरे । बुहारीकै बहिनीसँग कुरा छिनाइयो । ती बहिनी विवाहित । तर, श्रीमान् परेछन् कान नसुन्ने । अलि लाटोजस्तो । ती बहिनीले निकै दुःख झेलिछन् । उनैलाई भगाएर घरमा ल्याइयो । घरमा ल्याएको भोलिपल्ट पत्नीले भनिन्, ‘काठमाडौं घुम्न लैजाऊ ।’
मनको रहर, कान्छीलाई घुमाउने
बिहे गरेपछि बचेको पैसा २५ सय रुपैयाँ । त्यही पैसा खल्तीमा च्यापेर उनी काठमाडौं आए, अरनिको यातायातको बसमा । एक जना सहयोगी पनि ल्याउनैपर्यो ।
बसले पूरानो बसपार्कमा उतारिदियो । बागबजारमा फुपूको छोराको डेरा थियो । पाहुना लाग्न गए । अब कता घुमाउने भनेर सोच्नुअघि नै उनको मनमा अर्को प्रश्नले चस्का हान्यो, कसरी घुमाउने ?
‘तीन जनाले खानुपर्यो, गाडी चढ्नुपर्यो,’ उनी फिस्स हाँसे, ‘त्यति खर्चले के पुग्थ्यो ?’
जसरी आएका थिए, उसैगरी फर्किए । पूरानो बसपार्कबाट बस चढेर सिन्धुपाल्चोक पुगे । राजमार्गमा ओर्लिएर हिँड्दै घर पुगे । त्यही बेला टुप्लुक्क पत्नीको पहिलो पति आइपुगेछन्, जारी उठाउन । उसलाई थामथुम पारेर पठाइयो । तर, चार दिनपछि फेरि चार जना प्रहरी लिएर आइपुगे ।
‘मलाई त डर-डर पनि लाग्यो,’ वीरवहादुरले भने, ‘स्थानीय समाज र आमा समूहले कुरा मिलायो । मैले दुई हजार रुपैयाँ बुझाउनुपर्यो ।’
भूकम्पले उठिवास
सिटी सेन्टरमा भिडियो दृश्यांकन गरिरहँदा उनले भने, ‘म दुःख पाएर आएको छु । मेरो घर भूकम्पले भत्काएको छ । सानो टहरा बनाएर बसेको छु । मेरा एक पत्नी र तीन बच्चा छन् । बच्चाहरु सानै छन् । खेतीपाती छैन । म बलको काम गर्न सक्दिनँ… ।’
उनको यो भनाइमा सहयोगको अपेक्षा थियो । शायद आफ्नो आसपासमा भीड जम्मा भइसकेको उनले छनक पाइसकेका थिए ।
हामीसँग उनले भुकम्पको त्रासद् क्षण सुनाइसकेका थिए ।
त्यसबेला उनी घरमै रहेछन् । सानो छोरा कोक्रोमा, छोरी काखमा । उनी खाटमा । त्यहीबेला बेपत्तासँग धर्ती हल्लियो । अनौठो आवाजसँगै कोलाहल मच्चियो । कतै चिच्याएको, कतै कराएको सुनियो । उनले थाहा पाए, भूकम्प आएछ ।
तर, यो थाहा पाउँदा-नपाउँदै उनीको आधा ज्यान पुरिसकेको थियो, ढुंगा र माटोले । काखकी छोरी कता गइन्, कोक्रोको छोरो के भयो ? उनले केही भेउ पाउन सकेनन् । यताउता छमछुम गरे । ढुंगा र माटोको थुप्रो लागिसकेको थियो ।
त्यही बेला छोरी कतै छोरी रोएको आवाज सुने । उनी आवाज भएतिर लम्किन खोजे । तर, खुट्टा चलमलाएनन् । जिउ पुरै ढुंगा र माटोले पुरिएको थियो ।
भगवानले बचाएछन् । कोक्रो कोल्टे परेछ र टाँड परेर बसेछ । त्यही कारण नाबालक छोरा सकुशल रहेछन् । छोरी हत्तपत्त खाटमुनि घुसि्रइछन् । पछि पत्नीले आएर ढुंगा माटो खोतले । सबै जना सग्लो निस्किए ।
तर, उनको जीवन अहिलेसम्म सग्लो हुन सकेन । तंगि्रन सकेन । सरकारले दिएको ५० हजार रुपैयाँ त थियो । त्यसले सानो कटेरो हाल्न पनि नपुग्ने । ऋणपान गरेर टिनको टहरो बनाए । त्यही टहरामा ओत लागिरहेका छन् ।
लेकको चिसोमा तुसारोले चिस्सिएपछि भित्र बस्नै नसकिने । ‘चिसोले जिउ दुख्छ, आँखाबाट आँशु बग्छ,’ उनले बिलौना गरे, ‘नयाँ घर बनाउन सकिएको छैन ।’
ढुंगा र माटोको घर बनाउने तयारी गरेका छन् । तर, खर्च पुग्दो छैन । ‘सर, यसो कतैबाट सहयोग जुट्छ कि ?’ उनले आशा गरे, ‘साह्रै दुःख पाइयो ।’
रुम नम्बर ३०२
‘जाडो छैन ?’ हाम्रो औपचारिक प्रश्न ।
बजाइरहेको टुङ्नालाई जतनसाथ छेवैमा राखेर उनले भने, ‘यहाँको के जाडो र हजुर, सजिलै पचाइन्छ । उता गाउँमा पो गाह्रो । टिनको छाप्रो छ । त्यसमाथि तुसारो पर्छ । मेरो ज्यानले त्यहाँको जाडो सहन छाडिसक्यो ।’
आँखाबाट झरेका आँशु हत्केलाले पुछे ।
‘तपाईंले बजाउने टुङ्नाको धुन साँच्चै मिठो, स्वर पनि राम्रो रहेछ नि त ?’
तारिफ सुनेर उनी मख्ख परे । उनको अनुहारमा लाज र खुशी मिश्रति अबोध हाँसो पोतियो।
पुनः छामछुम गर्दै टुङ्ना उठाए । र, हार्दिकतापूर्वक भने, ‘अब एउटा टिबेटन गीत सुनौं ?’ र, तिब्बती धुन पस्किए ।
धुन सुनिरहँदा यस्तो लाग्यो, कुनै बाक्लो भूँइकुहिरोले ढाकेको लेक, खर्कमा उग्राइरहेका भेडाका बथान, चिसो बतासमा फहराइरहेका ल्युहङ्दर, निख्खर सेतो माने, भेडीगोठबाट उडिरहेको पातलो धुँवा । र, त्यही एकलासे पृष्ठभूमिमा गुञ्जिएकोे संगीतमय आवाज !
( अनलाइन खबरबाट )