चिनियाँ र नेपाली अधिकारी बीच बैठक : निर्यात खुलाउन चीन सरकार सकारात्मक

चीनबाट एकतर्फीरुपमा आयात मात्र भइरहेको तातोपानी नाकाबाट निर्यात पनि खुलाउन चीन सरकार सकारात्मक रहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।

तातोपानी । चिनियाँ सीमा सुरक्षा अधिकारी र नेपाली सुरक्षा अधिकारीबीचको बैठक सम्पन्न भएको छ । नेपाल चीनबीचको सीमाना मितेरी पुलमा भएको बैठकमा नाकामा हुने अपराधिक गतिविधि नियन्त्रण र नाका सञ्चालन सम्वन्धि छलफल गर्दै बैठक सम्पन्न भएको हो ।
बैठकमा बन्द नाका खुलाउने, नाकामा हुने अपराधिक गतिविधि नियन्त्रण गर्ने र नेपालबाट हुने निर्यातको विषयमा खुलेर छलफल भएको बैठकमा सहभागि सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनु भयो ।


एकतफी चीनबाट आयात मात्र भइरहेको तातोपानी नाकाबाट निर्यात पनि खुलाउन चीन सरकार सकारात्मक रहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।
कोरोना महामारीका कारण विगत ३ वर्षदेखि चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच बैठक बस्न सकिरहेको थिएन । कोरोना महामारीको संक्रमण कम भएसँगै भौतिक उपस्थितिमा आज बैठक बसेको हो ।
बैठकमा नेपालकातर्फबाट प्रमुख जिल्ला अधिकारी न्यौपानेसहित सीमा सुरक्षा सशस्त्र प्रहरीका एसपी रवी केसी, सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी बालनरसिंह राणा,अध्यागमन कार्यालय कोदारीका प्रमुख दीपक अधिकारी र चीनका तर्फबाट बोर्डर कन्ट्रोलर प्रमुख सु गाङ, खासा अनुसन्धान प्रमुख गेसाङ, सहायक प्रमुख युन डान,न्यालम र खासा प्रहरी स्टेशनका प्रमुखद्वय डान डुओ र जियान क्यान लगायतका सहभागि थिए ।
बैठकमा चिनियाँ अधिकारीहरुले बन्द तातोपानी नाका पुर्ववत अवस्थामा नै सञ्चालन गर्न के गर्न सकिन्छ भनेर नेपाली अधिकारीहरुसँग राय मागेका थिए । चिनियाँ अधिकारीहरुले निकासी बस्तुको चेकजाँच गर्न खासाको रमितेमा निकासी घरसमेत बनिरहेको जानकारी दिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनु भयो ।


२०७२ सालको भूकम्प र लगत्तै आएको भोटेकोसी बाढीका कारण तातोपानी नाका कहिले खुल्ने त कहिले बन्द हुँदै आएको छ । कारोना महामारीका कारण नाका निकै प्रभावित भयो । स्वास्थ्य सुरक्षाको कारण देखाउँदै चीन सरकारले एकतर्फीरुपमा आफ्नो सामान नेपाल पठाउने गरेता पनि नेपालबाट हुने निकासीमा भने रोक लगाउँदै आएको छ । दुईतर्फी नाका सञ्चालनको बारेमा भने अहिलेसम्म सहमति हुन सकेको छैन । यदपी नाकालाई पूर्ववत अवस्थामा फर्कानका लागि यसै क्षेत्रका सांसाद माधव सापकोटा सुवोधले नेपालका लागि चिनियाँ राजदूत छ्यान सोङसँग कुराकानी भएको बताउँनु भएको छ । सोङलाई तातोपानी नाकामा अवलोकन भ्रमण गराउने साँसद सापकोटाको योजना छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्