कविताको माहौलमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

कविताको माहौलमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

चौतारा । कतै शव्दहरुमा नारी वेदनाको बहाव थियो, कतै समानताका आवाज थियो । शव्दहरु नारी सशक्तिकरणको शैलाव भएर उठेका थिए । महिला हक हित र अधिकारका अगेनीमा कतै आगो भएर दन्किएका थिए आवाजहरु । विहीबार कविताका बान्कीभित्र यस्तै यस्तै आवाज सुनियो साँगाचोकस्थित जुगल बहुमुखी क्याम्पसको प्राङ्गनमा ।


११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर चौतारा साँगाचोकगढी नगर महिला सञ्जालद्वारा आयोजित प्रतियोगितात्मक कवि गोष्ठीमा महिला शसक्तिकरण, हक, हित अधिकार, लैंगिक हिंसाविरुद्धका आवाजहरु मात्र मुखरित भएन, नारी वेदना र विभेदका विषयहरु पनि शसक्त भएर गुञ्जियो कविताहरुमा ।


१८ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै चौताराका कवि विनोद श्रेष्ठको अब ओठहरुमा मुस्कान भर्नुपर्छ कविताले प्रथम स्थान हासिल गर्दा साँगाचोक फलाँटेकी निर्मला तिमल्सिनाको नारीको आवाजले दोस्रो स्थान हासिल गर्न सफल भयो । विम्बहरुको वर्षाद गर्दै कवि ऋषि खत्रीको क्रान्ति र परिर्वतनको संवाहकको नाममा कविता चुक्ने कुरै भएन । त्यसैले यो कविताले तृतीय स्थानका लागि आफूलाई सुरक्षित ग¥यो भने युद्धको मैदानमा झरिसके भन्दै नारीमुक्ति आन्दोलनको संखघोष गर्दै बाचिएको कवि काजल बोगटीको कविताले सान्त्वनाको शिलान्यास ग¥यो । विजयी कविहरुलाई नगरप्रमुख कृष्णप्रसाद सापकोटाले क्रमश ः७ हजार पाँचसय, ५ हजार २ सय पचास, ३ हजार ७ सय पचास , २ हजार २ सय पचास नगद र प्रमाणपत्र मात्र प्रदान मात्र गरेनन्, कविताले समाज परिवर्तन र रुपान्तरणका लागि महत्वपूर्ण भूमिका पनि खेल्ने बताए ।


कविता सुनेर अल्हादित भएकी नगर उपप्रमुख सीता थाापाले सशक्त कविता समय सान्दर्भिक हुनुपर्ने उल्लेख मात्र गरिनन्, कविताको पोको नै खोलेर सुनाइन् ।


सञ्जालकी सचिव तारादेवी रानाद्वारा सञ्चालित एवम् सञ्जालकी अध्यक्ष जानूका पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक संयोजक गोविन्द पराजुली लगायतका वक्ताले सोम्वोधन गरे ।
कार्यक्रममा स्वागत गुणकेशरी श्रेष्ठले गरिन् भने सुरेश कसजू अमित घिमिरे, जीवन श्रेष्ठ, किशोर बुढाथोकी, सुन्दर शिरीष, विजय नेपाल लगायतका जिल्लाका साहित्यकारको उपस्थिति रह्यो ।
हरेक ८ मार्चमा अन्तर्राष्ट्रि श्रमिक महिला दिवस मनाउने सन्दर्भमा सञ्जालले यसपटक भने साहित्यिक कार्यक्रम गर्दै मनाएको हो । महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी भन्ने नाराका साथ भोलि शुक्रबार देशभरि नै यो दिवस मनाइँदै छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्