स्वाभिमानी बहुउदेश्य सहकारी संस्थाको तेस्रो साधारणसभा सम्पन्न
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकास्थित स्वाभिमानी बहुउदेश्य सहकारी संस्थाको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार सहिद स्मृति भवन चौतारामा भएको साधारणसभाको चौतारा साँगाचोकगढी नगरपालिका आर्थिक संयोजक गणेश विक र वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
सो अवसरमा संयोजक विकले विपन्नहरुको आर्थिक समृद्धि र विकासमा टेवा पु¥याउने उदेश्यले सुरु भएको सहकारीको अभियान हाम्रो जस्तो विपन्नताले गाँजिएको मूलुकमा अझ झन प्रभावकारी रहेको बताउनुभयो । सहकारीको मूल मर्मलाई आत्मसात गर्न सके समृद्धिका ढोकाहरु एकपछि अर्को गर्दै खुुल्दै जाने उहाँको तर्क थियो ।
वडा अध्यक्ष शिव श्रेष्ठले आयआर्जनका लागि सीपको आवश्यकता अपरिहार्य भएको भन्दै सीप हस्तान्तरणका लागि वडा र सिंगोपालिका तयार रहेको उल्लेख गर्नुभयो ।
सभालाई सम्वोधन गर्दै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले सहकारीले बचत गर्ने बानीको विकास गरेको उल्लेख गर्दै अब उत्पादन र आयआर्जनका लागि पनि सहकारीहरुको भूमिका उल्लेखनीय हुनुपर्नेमा जोड दिनुभयो ।
संस्थाका सचिव उषा विकले संस्थाको आयव्ययसँगै प्रगति र आगामी कार्ययोजनाको प्रतिवेदन प्रस्तुत गरेको सभामा वडा न ५ का वडा सदस्य कोमलबहादुर श्रेष्ठ भूमि बहुउदेश्य सहकारी संस्था काठमाण्डौंका अध्यक्ष अविरल गजमेज, नगर दलित समन्वय समितिका सदस्य अमरबहादुर विक, महाकालि बहुउदेश्यीय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव श्रेष्ठ, नगर अनुगमन समितिका सदस्य सुवास गौतम लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिनु भएको थियो ।
संस्थाका अध्यक्ष हरि विकको सभापतित्वमा भएको कार्यक्रममा स्वागत नेपाल सुनचाँदी व्यवसाय संघ सिन्धुपाल्चोकका अध्यक्ष सुब्बा सुनारले गर्नु भएको थियो । सञ्चालन प्रल्हाद विकले गर्नु भएको कार्यक्रममा चौतारा साँगाचोकभित्रका ९ वटा वडामा आफ्नो सेवा विस्तार गरेको र बाँकी ५ वटा वडा पनि समेटेर १४ वटै वडामा नै सेवा विस्तार गरिने अध्यक्ष हरि विकले जानकारी दिनुभयो ।