काठमाडौँ । गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक काठमाडौंको बौद्ध र जोरपाटीमा गुण्डागर्दी गर्ने ५ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्चीका ३४ वर्षीय श्यामबहादुर लामा, मेलम्चीका ३६ वर्षीय भीमबहादुर बस्नेत, ३५ वर्षीय गोविन्द गजमेर, रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं ६ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ जोरपाटी बस्ने २८ को बाफ्ले भन्ने विक्की लामा र चौताराका ३५ वर्षीय प्रविण तामाङ रहेका छन्।उनीहरूलाई काठमाडौँको बौद्ध र थली एरियामा गुण्डागर्दी गरेको आरोपमा पक्राउ गरिएको हो ।
समूहमा हिँड्ने र धाकधम्की दिएर उनीहरुले थली र बौद्ध क्षेत्रमा गैरकानुनी रुपमा रकम माग्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले बताए । गुण्डागर्दीमा संलग्नहरुले सर्वसाधारणसँग विवाद गरेर डरत्रास र भय सिर्जना गर्ने गरेका थिए ।
समूहमा गएर उनीहरुले सर्वसाधारणलाई कुटपिट समेत गर्ने गरेको गुनासोका आधारमा मंगलबार अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।