तीनै तहको सरकारबीच समन्वय हुनुपर्ने – मन्त्री बस्नेत
चौतारा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले तीनै तहको सरकारबीचको समन्वय अपरिहार्य भएको बताउनुभएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा न ७ स्थित इर्खु माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सवलाई सम्वोधन गर्दै मन्त्री बस्नेतले संघीय सरकार आफ्नै ढंगबाट, प्रदेश र स्थानीय सरकार पनि आफ्नै तरिकाबाट काम गरिरहेको उल्लेख गर्दै परिणामूखी विकासका लागि तीनै तहको सरकारबीच एकआपसमा समन्वय र सहकार्य हुनुपर्ने बताउनु भयो ।
संघीय सरकारले ठूला आयोजना, प्रदेश सरकारले मझौला र स्थानीय तहले साना तथा केही मझौला आयोजनामा ध्यान दिनुपर्ने मन्त्री बस्नेतको भनाइ थियो ।
मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले लिने बताउँदै आगामी दिनमा कक्षा १२ सम्मको शिक्षा निशुल्क हुने र उपचार खर्च नपाएर कोही नेपालीले अकालमा नै ज्यान गुमाउनु पर्ने वाध्यता नरहने पनि विश्वास व्यक्त गर्नुभयो । उहाँले त्यसका लागि सबै पूर्वाधार बन्दै गएको उल्लेख गर्नुभयो ।
विशेष अतिथि एवम् चौतारा साँगाचोकगढी नगरापलिकाका मेयर कृष्णप्रसाद सापकोटाले आफ्नो पालिकाभित्र आगामी वर्षदेखि कक्षा १२ सम्म निशुल्क शिक्षा लागु हुने बताउनुभयो । उहाँले त्यसका लागि विद्यालय मर्च र शिक्षक दरवन्दी मिलानको कार्यलाई तीव्र पारिएको जानकारी दिनुभयो । विद्यालय मर्च र शिक्षक दरवन्दी मिलानकै जगमा टेकेर हामी निशुल्क शिक्षा प्रवद्र्धन गर्दैछौ मेयर सापकोटाले भन्नु भयो ।
कार्यक्रममा उपमेयर सीता थापा, वडा न ८ का वडा अध्यक्ष अमृतबहादुर दंगाल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिनुभएको थियो । अध्ययनरत विद्यार्थीहरुको नाचगानसमेत प्रस्तुत रहेको कार्यक्रमको सञ्चालन शिक्षक मोहन कार्कीले गर्नु भएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवान खड्काको सभापतित्वमा भएको थियो ।