सुनकोसीको विद्यालयमा डिजिटल माध्यमबाट पठनपाठन सुरु

कक्षा कोठामा स्मार्ट टीभी जडान गरिएको र उक्त टिभीमा एप्सको माध्यमबाट पाठ्यपुस्तकबाट पढाइ हुने सबै पाठहरु समावेश भएकाले साना विद्यार्थीहरुलाई अध्ययन गर्न र बुझ्न पनि सजिलो हुने

सिन्धुपाल्चोक, सुनकोसी । सुनकोशी गाउँपालिकाका विद्यालयमा स्मार्ट कक्षा कोठा बालविकासमा अध्ययनरत साना विद्यार्थीहरुलाई लक्षीत गरेर सामुदायिक विद्यालयहरुमा डिजीटल कक्षा कोठाको व्यवस्थापन गरेर पठन पाठन सुरु गरेको छ ।

गाउँपालिकाले पहिलो चरणमा गाउँपालिका भित्र ११ सामुदायिक विद्यालयका इसीडी कक्षा कोठामा स्मार्ट कक्षा कोठा व्यवस्थापन गरेर पठन पाठन सुरु गरेको हो ।

परम्परागत रुपमा पठन पाठन हुदा साना बालबालिकाहरुलाई बुझन कठिन हुने भएपछि नमुनाका रुपमा पहिलो वर्ष माध्यमिक तहसम्म सञ्चालन भएका विद्यालयहरुमा स्मार्ट कक्षा कोठाको अवधारणा ल्याइएको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए । गाउँपालिकाले सुरु गरेको स्मार्ट कक्षा कोठा व्यवस्थापनको गाउँपालिकाको नमुना विद्यालय बाघभैरव मावि ठोकर्पाबाट औपाचारीक रुपमा उद्घाटन गरिएको छ ।

गाउँपालिका अध्यक्ष तिमिल्सिनाले डीजीटल स्मार्ट कक्षा कोठाको उद्घाटन गरेका थिए । विद्यालयको इसीडी कक्षा कोठामा स्मार्ट टीभी जडान गरिएको र उक्त टिभीमा एप्सको माध्यमबाट पाठ्यपुस्तकबाट पढाइ हुने सबै पाठहरु समावेश भएकाले साना विद्यार्थीहरुलाई अध्ययन गर्न र बुझ्न पनि सजिलो हुने वाघभैरव मावि ठोकर्पाका प्रधानध्यापक विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।

पहिलो वर्ष इसीडीमा मात्रै लागु गरेपनि आगामी वर्षदेखि क्रमश अरु कक्षाहरुमा पनि यो प्रविधि सुरु गर्दै जाने अध्यक्ष तिमिल्सिनाले बताए ।

११ सामुदायिक विद्यालयहरुमा इसीडी कक्षा कोठा व्यवस्थापनका लागि प्रति विद्यालयलाई १ लाख ५० हजार उपलब्ध गराइएको र विद्यालयमा यस अघि नै गाउँपालिकाले नेट जडान गरिसकेकाले स्मार्ट कक्षा कोठा व्यवस्थापनाका लागि सहज भएको गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए । बजेट थोरै भएपनि हामीले शैक्षिक सुधारका लागि केही नयाँ अभ्यास सुरु गरेका छौ अधिकृत दुलाले भने–‘स्मार्ट कक्षा कोठामा अध्यापन गर्नका लागि शिक्षकहरुलाई तालिम प्रदान गरिसकेका छौ ।’

पहिलो चरणमा स्मार्ट कक्षा कोठा व्यवस्थापन भएका ११ विद्यालयमा केही दिन भित्र सबै जडान भएर पठन पाठन समेत सुरु हुने सुनकोशी गाउँपालिकाका शिक्षा अधिकृत निमराज बुढाथोकीले जानकारी दिए ।

सिफारिस

प्रतिकृया दिनुहोस्