चालु आर्थिक वर्षमा सञ्चार रजिष्ट्रारबाट २२२ जना सञ्चारकर्मी लावान्वित

विगत वर्षहरुदेखि नै सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि र शसक्तिकरणका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको सञ्चार रजिष्टारको कार्यालयले अनलाइन पत्रकारिता हातेपुस्तिका, डिजिटल साक्षरता, उहिलेको पत्रकारिता, बत्तीस कोण, बागमती प्रदेशमा मिडिया जस्ता कृति पनि प्रकाशन गरिसकेको छ ।

काठमाणडौं । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले चालु आर्थिक बर्षमा सञ्चालन गरेका आवासीय तालिमबाट २२२ जना पत्रकार लावान्वित भएका छन् ।
पत्रकारहरुको क्षमता र सीपमा अभिवृद्धि गर्दै गुणस्तरिय पत्रकारिताको माध्यमबाट सही र तथ्य समाचार संप्रेषणको वातावरण सिर्जना गर्र्न हेतुले गरिएको विभिन्न तालिमबाट सञ्चारकर्मी, प्राविधिक तथा व्यवस्थापक प्रशिक्षित भएका हुन् ।
चालु आर्थिक वर्षमा आयोजित तालिमबाट पुरुष पत्रकार मात्र हैन महिला पत्रकारहरु पनि उतिक्कै लावान्वित भएको सञ्चार रजिष्ट्रारको कार्यालय बागमति प्र्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले जानकारी दिनुभयो ।
रजिष्ट्रार सापकोटाका अनुसार प्रशिक्षित २२२ जनामा करीव ३८ प्रतिशत महिला रहेका छन् । कार्यालयले सम्पन्न गरेको डेटा ड्रिभन पत्रकारिता तालिमबाट प्रशिक्षित हुने ४२ जनामा आठ जना, अनलाई पत्रकारिता तालिमबाट प्रशिक्षित हुने ३७ जनामा १४ जना, मोबाइल पत्रकारिता तालिमबाट प्रशिक्षित हुने ४२ जनामा १८ जना र रेडियो प्राविधिक तालिममा सहभागि ५५ जनामा १२ जना महिला रहेको कार्यालयले जनाएको छ ।
त्यस्तै पत्रकार महिलाका लागि सञ्चालित समाचार लेखन तथा सम्पादन कलाबाट प्रशिक्षित पत्रकार महिला २३ जना रहेका छन् । सञ्चार रजिष्ट्रार कार्यालयले सीप र समावेशीतालाई प्राथमिकतामा राख्दै यस्ता तालिमको आयोजना गरिएको र आगामी दिनमा पनि बागमती प्रदेशको पत्रकारिताको गुणस्तरबृद्धिका लागि सीप सिकाउने प्रयास जारी रहने रजिष्टार सापकोटाले बताउनुभयो ।
विगत वर्षहरुदेखि नै सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि र शसक्तिकरणका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको सञ्चार रजिष्टारको कार्यालयले अनलाइन पत्रकारिता हातेपुस्तिका, डिजिटल साक्षरता, उहिलेको पत्रकारिता, बत्तीस कोण, बागमती प्रदेशमा मिडिया जस्ता कृति पनि प्रकाशन गरिसकेको छ । साइबर सुरक्षा, बिधागत (बिट) पत्रकारिता र उहिलेको पत्रकारिताको भाग दुई पनि प्रकाशनको तयारीमा रहेको रजिष्टार सापकोटाले जानकारी दिनुभयो ।
बिद्धान लेखकहरुबाट लेखिएका अध्ययन सामग्री रहने यी पुस्तकले पत्रकारिताको गुणस्तर बृद्धिका लागि योगदान पुरयाउने उनको विश्वास छ । गुणस्तरिय सूचना प्राप्त गर्ने नागरिकको अधिकारलाई सुरक्षित गराउने र गलत तथा भ्रामक समाचारलाई न्यूनिकरण गराउने सञ्चार रजिष्टारको प्रयास जारी रहने पनि रजिष्टार सापकोटाले बताउनुभयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्