चौतारा, सिन्धुपाल्चोक । पेट्रोलियम पदार्थमा कालोबजारी बढेको जनगुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले शंकास्पद ठाउँमा छापा मारेको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्याम श्रेष्ठ, घरेलु कार्यालयका प्रमुख विश्वनाथ काफ्ले उपभोक्ता समिती र प्रहरीको संयुक्त टोलीले आज बुधबार जिल्ला सदरमुकाम चौताराको विभिन्न पसलमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा चौतारा साँगाचोकगढी वडा नम्बर ५ स्थित एक इलेक्ट्रोनिक्स पसलमा बेच्नका लागि राखिएको पेट्रोल बरामद गरेको टोलीले जनाएको छ । टोलिले सो इलेक्ट्रोनिक पसललाई चेतावनी दिनका साथै आईन्दा पेट्रोलियम पदार्थ बेचबिखन नगर्ने र गरिएको पाएमा सजाय भोग्न तयार छु भन्ने कागजातसमेत गाराइएको घरेलु कार्यालयका प्रमुख विश्वनाथ काफ्लेले जानकारी दिनुभयो ।
चौतारा बजारको संकास्पद विभिन्न ६ पसलमा चर्को मूल्य अशुल्दै पेट्रोलियम पदार्थ बेच्दै आएको उजुरी परेपछि क्रेताको रुपमा साधा पोशाकका प्रहरी परिचालन गरेर प्राप्त रिपोर्ट अनुसार केही पसलमा छापा मारेको प्रशासकीय अधिकृत श्याम श्रेष्ठले बताउनु भयो ।
पहिलोपटकलाई नसियत दिएर छाडिए पनि अर्कोपटक दोषीमाथि सिधै कारबाही गरिने सहायक प्रमुख अधिकारी निराजन श्रेष्ठले बताउनु भयो । उहाँले पेट्रोलियम पदार्थको कालो बजारी गर्दै बेचबिखन गर्नेलाई कम्तिमा दुई लाख पचास हजारदेखि ३ लाखसम्मको जरिवाना गर्ने गराउने ऐनमा व्यवस्था भएको हुनाले इजाजत प्राप्त व्यवसायीले बाहेक अरुले बेचबिखन नगर्न सचेत गराउनु भयो ।
यो अभियान निरन्तर चलिरहन्छ, कोही दोषी भएमा उ उम्कन सक्ने छैन उहाँले भन्नु भयो । त्यसो त चौतारामा मात्र हैन जिल्लाका ग्रामीण र बजारी सबै क्षेत्रमा गैरकानुनीरुपले पेट्रोलियम पदार्थ बेचबिखन हुँदै आएको छ । प्रतिलिटर पेट्रोलको २५० सम्म ब्यापारीहरुले अशुल्दै आएको बताइन्छ । जिल्लाका सबै क्षेत्रमा यो अभियान निरन्तर सञ्चालन हुने बजार अनुगमन साथै अबैध क्रियाकलापको सूक्ष्म अध्ययन गरिरहेको हुनाले अनुगमनको क्रममा त्यस्तो भए गरेको पाइएमा कडाभन्दा कडा सजाय गर्ने सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनु भयो