सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलले सरकार जनताको स्वास्थ्यप्रति समवेदनशील भएको बताउँदै जनताको उपचारको जिम्मेवारी सरकारले लिने धारणा व्यक्त गर्नुभएको छ ।
विहीबार सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका वडा न ३ ठोकर्पास्थित एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री बस्नेतले उपचार नपाएर डिप्रेशन हुँदै मृत्युको मुखमा जानुपर्ने नेपालीहरुको वाध्यतालाई सरकारले गम्भीर ढंगबाट लिएको भन्दै अब त्यस्तो वाध्यताको अन्त्य हुने बताउनुभयो ।
“सरकार जनताको स्वास्थ्यप्रति समवेदनशिल छ” मन्त्री बस्नेतले भन्नुभयो “अब कोही नेपाली उपचार गर्न नसकेर मृत्युको मुखमा पर्ने छैनन्, उपचारको जिम्मा सरकारले लिनेछ” ।
आफ्नो जीवनशैलीलाई परिवर्तन गर्दै दैनिक व्यायम गर्ने बानी बसाल्न सकियो भने अस्पताल र डक्टर कुर्नै नपर्ने उहाँको तर्क थियो । “विरामी भएर अस्पताल र डक्टर कुर्ने हैन दैनिक १ घण्टा व्यायमका लागि समय दिनुहोस स्वास्थ्य आफै राम्रो हुन्छ” मन्त्री बस्नेतले भन्नु भयो ।
जिल्लाकै विकट मानिने ठोकर्पामा अस्पताल बनेपछि स्थानीय खुशी भएका छन् । सानोतिनो रोग लाग्दा पनि काभ्रेको धुलिखेल वा राजधानी धाउनुपर्ने वाध्यता हटेको छ ।
लिफ्ट सेवासहित १५ शैंयाको यो अस्पतालमा ३ वटा भवन, २९ वटा कोठा र ३० जना विरामी राख्ने क्षमता भएको अस्पतालले जनाएको छ । दुई एमबीबीएस डाक्टरसहित मेडिकल, एक्सरे, ल्याब, इमरजेन्सी वार्ड, आँखा केन्द्र, इसीजी, अक्सिजन प्लान्टसहित दन्त सेवा जस्ता अत्यावश्यक प्राथमिक सेवा प्रदान हुने सुनकोसी गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिनाले बताउनुभयो ।