चौतारा, सिन्धुपाल्चोक जिल्लाकै पहिलो एफएम रेडियो रेडियो सिन्धु १०५ मेघाहर्जले आफ्नो बार्षिकोत्सव मनाएको छ । बुधबार रेडियो सिन्धुले चौतारास्थित श्री कृष्ण आविमा अध्ययनरत अपाङ्गता भएका बालबालिकाहरुलाई खाद्य सामाग्री सहयोग प्रदान गर्दै १५ औं बार्षिकोत्सव मनाएको हो ।
रेडियो सिन्धुका स्टेशन मेनेजर रत्न श्रेष्ठले बौद्धिक अपाङ्गताका अभिभावक संघ, सिन्धुपाल्चोकका अध्यक्ष जानकी श्रेष्ठलाई बालबालिकाका लागि खाद्य सामाग्री हस्तान्तरण गर्नु भयो ।

संघको सकृयतामा सो विद्यालयमा करिब ९ जना अपाङ्गता भएका बालबालिकाहरु आवससहित अध्ययन गर्दै आइरहेका छन् ।
कार्यक्रममा स्टेशन मनेजेर श्रेष्ठले अपाङ्गता भएका बालबालिकाहरुका लागि सहयोग गर्न पाउँदा आफूहरु खुशी भएको बताउनु भयो । उहाँले रेडियो सिन्धुले थप अन्य सहयोग गर्ने पनि प्रतिवद्धता जाहेर गर्नु भयो ।

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले सूचना र जानकारी संप्रेषणमा महत्वपूर्ण भूमिका खेल्दै आएको रेडियो सिन्धुले सामाजिक उत्तरदायित्व पनि निर्वाह गरेकोमा प्रशंसा गर्नुभयो । सञ्चारजगत पनि यही समाजको भएको र सामाजिक सेवाहरुमा प्रत्यक्ष सञ्चारजगतको संलग्नता रहनु सकारात्मक पक्ष भएको भन्दै रेडियो सिन्धुको सदकार्यले अन्य संघ संस्थाहरुलाई पनि सामाजिक कार्यमा जोडिन प्रेरित गर्ने बताउनु भयो ।

संघका अध्यक्ष जानकी श्रेष्ठले बार्षिकोत्सवको उपलक्ष्यमा अपाङ्गता भएका बालबालिका लागि जुन सहयोग रेडियो सिन्धुले उपलव्ध गराएको छ, त्यसले रेडियो सिन्धु सूचना, सञ्चारसँग मात्र हैन सामाजिक सवालमा पनि उत्तिकै सकृय भएको सन्देश दिएको बताउनु भयो । उहाँले रेडियो सिन्धुलाई धन्यवाद दिंदै आगामी दिनमा थप सहयोगका लागि अनुरोध गर्नुभयो ।

रेडियो सिन्धुका समाचार प्रमुख टीका दाहालले सञ्चालन गरेको खाद्यान्न वितरण कार्यक्रमको औपचारिक सत्रमा सञ्चारकर्मीहरु दिलमाया खड्का, अश्मी स्याङ्ता, सम्झाना कार्की, पासाङ ह्यल्मो लगायतको उपस्थिति रहेको थियो ।