( जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निमन्त्रणामा जापान गएको नगरपालिका र गाउँपालिकाका प्रमुख, अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको टोली गत साता नेपाल फर्केको छ । भ्रमण मूलतः जापानमा आफूले गरेका र नेपालका स्थानीय तहका जनप्रतिनिधिले सम्पादन गरिरहेका विकास प्रयास देखाउने, सुनाउने र अनुभव साटासाट गर्ने उद्देश्यबाट भएको हो । टोलीमा सहभागी मध्येका चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटासंग ओखरेनी साप्ताहिकले गरेको संवादको आधारमा तयार गरिएको यो यात्रा अनुभव जस्ताका तस्तै ः
खसगरि जापानले गरेको प्रविधि र उत्पादनका विषयमा अनुभव लिने ठूलो इच्छा थियो । किनकी त्यहाँबाट सिकेर हामीले पनि यहाँ कृषि क्षेत्रमा सुधार गर्न सकिन्छ कि भन्ने चाहना हो । तर भ्रमणको उद्देश्य त्यो नभएकाले हाम्रो अवलोकन प्राकृतिक प्रकोप र त्यसले उत्पन्न गरेको भौतिक र मनोवैज्ञानिक असरका विषयमा केन्द्रीत भयो । जापानको “फोकस” सुनामीमा थियो । हाम्रो “फोकस” भूकम्पमा रह्यो । आआफ्नो विषयमा आपसी छलफल भयो । जापानको स्थानीय तहका प्रतिनिधि र हामीबीच अनुभव आदान प्रदान गरियो । उनीहरुले विपदपछि कार्यसम्पादनका क्रममा अपनाइएका प्रक्रिया र परिणाम बारे जानकारी गराए । हामीले पनि भूकम्पपछि गरेको पुनर्निर्माण प्रक्रियाका विषय सुनायी। उनीहरुको काम गराइको शैली सतहीभन्दा पनि मसिनो ढंगको रहेछ । उनीहरुको शैली हरेक कुरालाई सुक्ष्म तरिकाले बुझ्ने र बुझाउन खोज्ने रहेछ । जनस्तरबाट आएका विषयलाई लागू गर्ने र नागरिकको कुरा सुनेर मात्र निर्णय गर्ने
परिपाटीको विकास गरेको पायौं । साना कुरालाई पनि “माइन्युट्ली”बुझाउन खोज्ने रहेछन् । योजना कसरी बनाउने रु लागू कसरी गर्ने रु राज्यका नियकाहरुको जवाफदेहीता र नागरिकको कर्तव्यको विषयमा उनीहरु ज्यालै संवेदनशील रहेछन् । हामीले जापानमा बनेका गुम्बा, मन्दिर र सांस्कृतिक क्षेत्रका सम्पदाहरु अवलोकन गर्ने अवसर पनि पार्यो। विकासको चरणका विषयमा जानकारी पायौं । जापानीले समयलाई ज्यादे महत्व दिने रहेछन् । सकभर समय एक सेकेण्ड पनि तलमाथी नहोस भन्ने चाहना देखियो ।
कानूनको पालनामा सरकार मात्र होइन नागरिक पनि त्यतिकै जिम्मेवार भएको पायौं । सडकमा पर्स वा कुनै सामान वा पैसा नै भेटिएपनि सकभर कसैले नटिप्ने रहेछन् । मैले नै अघिल्लो दिन बाटोमा खासालेको पर्स भोलिपल्ट जस्ताकोतस्तै भेटें । त्यस्ता सामान कसैले टिपे पनि प्रहरीलाई अनिवार्य बुझाउने गर्दा रहेछन् । हराएको पैसा लिन कोही आएनन् भने भेटाउनेलाई कमिशन दिने र बाँकी सरकारी कोषमा जम्मा हुँदोरहेछ । राज्यले नागरिकप्रति गर्ने सम्मान ज्यादै धेरै पायौं । हरेक व्यक्तिले आफ्नो कारणले अरुलाई असर वा अप्ठेरो नपरोस भन्ने हुँदोरहेछ । उनीहरु “ल एण्ड अर्डर” प्रति ज्यादै सवै सजक रहेछन् ।
सहरमा कसैले पनि आफू असुरक्षित महसुस गरेको पाइएन । राती १२/ १ बजे पनि के महिला के पुरुष सडकमा ढुक्क रुपमा घुमफिर गरेको देखिन्थ्यो । कसैको मनमा डर भन्ने कुरा छैन कि जस्तो लाग्ने रहेछ । हामी यहाँ साना कुरामा पनि झगडा गर्छौं । तर जापानमा कसैमाथि हात उठाउनु गम्भिर अपराधको रुपमा हेरिनेरहेछ । काममा ठूलो सानो देखेनौं । आफ्नो काममा मेहेनत त्यतिकै गर्ने चलन रहेछ । ८० / ८५ वर्षका जेष्ठ नागरिकले पनि आफूले सकेको काम गरिरहेको देख्यो । काम सानो ठूलो भन्ने चलन नै रहेनछ । हामी यहाँ सानो काम गर्नेलाई हेपाहा व्यवहार गर्छौं ।
त्यहाँ भने ट्याक्सी चालकहरूप्रति गरेको ठूलो सम्मानबाट धेरै सकारात्मक सन्देश दिएको पायौं । कामले मान्छे ठूलो सानो हुँदैन भन्ने मान्यताले ज्यादै मन पर्यो । एकले अर्कालाई ज्यादै सम्मान गरेको पायौं । हामीले मुलुकको विकास भएन भनिरहँदा जापानबाट धेरै सिक्न सक्छौं । मुख्यतः राज्य र नागरिक दुवै जिम्मेवार नभएसम्म हामीले कल्पना गरेको समाज बन्दैन । “ल एण्ड अर्डर” र अनुशासनलाई जापानले ज्यादै प्राथमिकता दिएको पायौं । हामीले पनि सिक्ने विषय सवैभन्दा महत्वपूर्ण त्यही हो भन्ने लाग्छ । विदेश भ्रमणका क्रममा हुने यस्ता अवलोकनबाट हामी जनप्रतिनिधिले व्यवहारमा लागू गर्ने प्रयास गर्नुपर्छ । मेरो विचारमा यस्ता विषयलाई हामीले नेपाली समाजसम्म पुयाएर थोरै भएपनि परिवर्तनको शुरुवात गर्नुपर्छ ।