अरनिको लोकमार्ग बन्नु पूर्व काठमाण्डौ भोट आवतजावत गर्ने मुख्य मार्ग चौतारा पुरानोबजार भएको र पुरानो बजारस्थित यो मन्दिरको पेटीमा ढाकारहरुले भारी विसाउने, थकाई मार्ने र साँझ बटुवाहरु यसै मन्दिरमा बास बस्ने गर्थे । राष्ट्रिय विभूति अरनिको र भृकृटी पनि यसै मार्ग भएर तिव्वत गएको बुढापाकाहरु बताउँनु हुन्छ ।
भोलि शुक्रबार विहान ९ बजे चौतारा पुरानो बजारस्थित कृष्ण मन्दिर शिलान्यास हुने भएको छ । २०७२ सालको महाभूकम्पले ध्वस्त बनाएको कृष्ण मन्दिरको शिलान्यास विधिवत रुपमा निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाले गर्नुहुनेछ ।
भूकम्प गएको ८ वर्षपछि ११५ वर्ष पुरानो ऐतिहासिक एवम् पुरातत्व महत्व बोकेको कृष्ण मन्दिर पुरातत्व विभागको २ करोड लगानीमा बन्न लागेको हो । बन्न लागेको कृष्ण मन्दिर पुरानै शैलि र स्वरुपको हुने पहलकर्ता एवम् जिल्लाका अग्रज पत्रकार सुरेश कसजूले जानकारी दिनु भयो ।
भूकम्प यता टहरोको मन्दिर बनाएर कृष्णको प्रतिमा प्रतिस्थापना गरि पूजाआजा र जात्रा लचाउँदै आएको थियो । मन्दिर पुनर्निर्माण हुनेपछि भने कृष्णको प्रतिमालाई गणेश र भीमसेन मन्दिर परिसरमा स्थानान्तरण गरिएको छ ।
मन्दिर पुनर्निर्माणका लागि निर्वतमान सभामुख सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिकाका निर्वतामान मेयर आमानसिं तामाङ, वहालवाला मेयर कृष्णप्रसाद सापकोटा, वडा न ५ का निर्वतमान वडा अध्यक्ष नरमान श्रेष्ठ र पत्रकार सुरेश कसजू लगायतले निरन्तरण समन्वय गर्दै आइरहनु भएको छ ।
१९६४ साल अघि सो स्थानमा सिस्नु घारी रहेको र त्यहाँबाट रात्रिकालिन समयमा बाँसुरीको मीठो ध्वानी प्रष्फुटन भएको सुनिने गरेको हुँदा सो स्थानमा कृष्ण मन्दिर निर्माण गरि पूजाआजासँगै हरेक कृष्णाष्टमीको अवसरमा दुई दिन मेला चलाउने परम्पराको सुरुवात भएको स्थानीयहरु बताउँछन् । मेलालाई विधिवत रुपमा सञ्चालन गर्नका लागि श्री कृष्ण गुठीको समेत गठन गरि रात्रीकालिन समयमा साँस्कृतिक कार्यक्रम पनि सञ्चालन सुरुवात भयो । तीसको दसकबाट भने जिल्लाकै पहिलो गैरसरकारी संस्था जुगल सांस्कृति परिवारले साँस्कृति कार्यक्रम सञ्चालनको विडों थाम्दै आए भने पचासको दसकबाट कला पुञ्जले त्यसको विंडो थाम्न थाले । ६० को दसकदेखि हालसम्म भने असंगठित रुपमा स्थानीय युवाहरुले जेनतेन साँस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
मेलामा कृष्णको प्रतिमालाई रथारोहण गरि बाजागाजा, विभिन्न झाँकी, लाखे लागयतका नृत्य र भजन किर्तनसहित बजार परिक्रमा गर्ने गरिन्छ भने दुई दिन भव्य साँस्कृतिक कार्यक्रकसमेत हुने प्रचलन अद्यपी छ ।
अरनिको लोकमार्ग बन्नु पूर्व काठमाण्डौ भोट आवतजावत गर्ने मुख्य मार्ग चौतारा पुरानोबजार भएको र पुरानो बजारस्थित यो मन्दिरको पेटीमा ढाकारहरुले भारी विसाउने, थकाई मार्ने र साँझ बटुवाहरु यसै मन्दिरमा बास बस्ने गर्थे । राष्ट्रिय विभूति अरनिको र भृकृटी पनि यसै मार्ग भएर तिव्वत गएको बुढापाकाहरु बताउँनु हुन्छ ।
पटकपटकको प्रयासपछि मन्दिर बन्ने पक्का भएपछि भने स्थानीयहरु खुशी छन् ।