चौतारा । आफूले उत्पादन गरेको आलुले राजधानीमा बजार पाउन थालेपछि सिन्धुपाल्चोक जुगलका किसानहरु हौसिएका छन् ।
जिल्लाकै कर्णाली भनेर चिनिने जुगल गाउँपालिकामा उत्पादन भएको आलुको माग राजधानीमा बढ्न थालेपछि किसानहरु आलु खेतिबाट हौसिएका हुन् ।
हिमाली क्षेत्र भएका कारण अन्य बालीहरुको उव्जनी राम्रो नहुने र आलु खेतीको संभावना प्रचुर रहेका कारण गत वर्षबाट किसानहरु आलु खेतितर्फ आकर्षित भएका थिए ।
झण्डै ३ टन आलु विक्री वितरणका लागि राजधानी पु¥याईएको र राजधानी काठमाण्डौंमा आलुको खपत राम्रै भएपछि आफूहरुमा हौसला बढेको जुगल गाउँपालिका वडा न ६, स्याउजेका देवीबहादुर श्रेष्ठले बताउनुभयो । यसअघि घरायसी प्रयोगका लागि मात्र उत्पादन गर्दै आएका किसानहरुले स्थानीय जनप्रतिनिधिले उत्पादित आलुको विक्री वितरणको जिम्मा नै लिएपछि किसानहरुले व्यवसायिकरुपमा नै आलु खेती थालेका हुन् ।
खासगरि जुगल ६ का वडा अध्यक्ष टंक तामाङले किसानहरुलाई आलु खेती गर्न हौसला दिंदै बजार व्यवस्थापनको जिममेवारी लिएपछि आफूहरु आलु खेतितर्फ आकर्षित भएको अर्का किसान वसन्त श्रेष्ठले बताउनु भयो ।
यसअघि यहाँका किसानहरुले निर्वाहका लागि मात्र आलु खेति गर्दै आएका थिए । हिमाली चिसो हावामा उत्पादित अर्गानिक लेकाली आलुले राजधानीमा राम्रै बजार पाएको जुगल गाउँपालिका वडा न ६ का वडा अध्यक्ष टंक तामाङले जानकारी दिनुभयो । उत्पादित आलुलाई उपत्यकासम्म निशुल्क ढुवानीको प्रवन्ध भने वडा कार्यालयले लिएको छ । आलु ढुवानीकै लागि डेढ लाख रुपैयाँ वडाबाट विनियोजन गरेको पनि उहाँले जानकारी दिनुभयो ।
वडा अध्यक्ष तामाङका अनुसार यो वर्ष वडा न ६ मा मात्र झण्डै १२ टन आलु उत्पादन भएको छ । बर्खा मासमा गाउँसम्म गाडि नजाने हुँदा बर्खाअघि नै आलु ढुवानीलाई लक्षित गरि बाटो सोलिङ र स्तोरोन्नति गरेको उहाँले जानकारी दिनुभयो । वडा न न ६ लाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्दै विषादीरहित अर्गानिक उत्पादनमा स्थानीयहरुलाई जोड्दै आर्थिक उपार्जनमा टेवा पु¥याउने योजना वडाले तयार पारेको उहाँको भनाईछ । आलु मात्र हैन हामी विषादीरहित, प्राङ्गारीक मलको प्रयोग गरेर रैथाने बाली र तरकारी उत्पादनका लागि किसानहरुलाई प्रोत्साहित गर्नेछौं उहाँले भन्नुभयो बजारीकरणका लागि पनि स्थानीय सरकारले जिम्मेवारी लिइ वडा न ६ लाई कृषिमा नमूना वडा बनाउनेछौं ।
आम्दानीको अन्य गतिलो आयस्रोत नभएको कारण आलु उत्पादले स्थानीयको आयआर्जनमा महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष रेशमा स्याङ्वोले बताउनुभयो । जुगलको मुख्य बजार ढाडेमा कृषि उपज संकलन केन्द्र निर्माण हुँदै गरेको जानकारी दिंदै संकलन केन्द्र निर्माण कार्य सम्पन्न पश्चात किसानहरुलाई थप राहत पुग्ने अध्यक्ष स्याङबोको विश्वास छ । जुगल हिमालको फेदमा रहेको जुगल गाउँपालिकालाई पर्यटन, पशुपालन र कृषिमार्फत समृद्ध बनाउन पालिकाले विभिन्न योजना तर्जुमा गरेका जानकारी दिंदै उहाँले संभावित उत्पादन क्षेत्रको अध्ययन गरि आलु पकेट क्षेत्रको घोषणा गर्ने योजना रहको बताउनुभयो ।
जिल्लाको मुडेमा उत्पादित आलुले राजधानीबासीको मन जित्न सफल भए जस्तै जुगलको आलुले पनि राजधानीबासीको मन जीत्नेमा जुगलबासीहरुको विश्वास छ ।