मान्द्रा बुनेर आम्दानी गर्दै
जीवन श्रेष्ठ, सिन्धुपाल्चोक । उमेरले ७० कटेका फुर्बा ग्याल्बो शेर्पा हिजोआज मान्द्रा बुन्नमा नै व्यस्त हुनुहुन्छ । जिल्लाकै विकट मानिने सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा न १ लामिडाँडाका शेर्पा विगत एक महिनादेखि मान्द्रा बुन्न व्यस्त रहनु भएको छ । घरमा नै आएर किसानहरुले मान्द्रा किन्न थालेपछि उहाँको व्यस्तता चुलिएको हो । मान्द्रा विक्री गरेर उहाँले घर खर्च मात्र टार्दै आउनु भएको छैन् , आफ्ना छोराछोरीलाई सदरमुकाम चौतारा राखेर पढाउने खर्चको समेत जोहो गर्दै आउनु भएको छ ।
आम्दानीको अन्य स्रोत नभएको र मान्द्रा बुनाई नै आफ्नो आम्दानीको स्रोत भएको उहाँको भनाई छ । धान विटा लगाउने मौसम भएको कारण पनि यो मौसममा भकारी बनाउनका लागि मान्द्राको माग अत्याधिक हुने गरेको उहाँ बताउनु हुन्छ । एउटा मान्द्रा तयार हुन झण्डै तीन दिन लाग्ने र एउटा मान्द्रा तयार भइसकेपछि २२ सयमा विक्री हुने उहाँको भनाई छ । “अरु लगानी केही पनि छैन सीप भए पुग्छ” लामाले भन्नु भयो “मान्द्रालाई चाहिने निगालो स्थानीय जंगलबाट निशुल्क उपलव्ध हुन्छ” ।
अरु बेलामा त्यति विक्री नभए पनि कोदो र धान भित्राउने बेलामा मान्द्राको माग बढी हुने सोही वडाका कर्मा स्याङबो बताउनु हुन्छ । सिजनको बेलामा मान्द्रा बुनेर उहाँ आफै पनि बेच्नु हुन्छ । यहाँका अधिकाँश स्थानीयले आलु खेति गर्दै आउनु भएको छ तर व्यवसायीक र आधुनिकीकरण हुन नसक्दा आलुु खेतिबाट खासै यहाँका स्थानीयहरु आत्मनिर्भर भने हुन सक्नु भएको छैन । मकै र कोदो खेतिमा निर्भर रहँदै आएका यहाँका स्थानीयहरु बँदेल जस्ता जंगली जनावारले दुख दिंदा हैरानमा हुनु हुन्छ । हिमाली भेगका कारण अन्य कृषि जन्य उत्पादन नहुने र सीपमूलक काम पाए राम्रो स्रोत बन्न सक्ने फुर्बा ग्याल्बो शेर्पा बताउनु हुन्छ ।
गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो भने यस क्षेत्रमा आलु खेतीको राम्रो संभावना भएको हुनाले आलु पकेट क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताउनु हुन्छ ।