टुरिष्ट उम्मेद्वारको सिन्धुपाल्चोकमा ताँति
चौतारा । न त औंलामा गन्न सकिने कार्यकर्ता छ, न त शुभेच्छुक नै न त उम्मेद्वार परिचित अनहार नै हो, न त जनआधार नै छ, न त फेरि पनि नेपाल मजदुर किसान पार्टीले सिन्धुपाल्चोकमा आफ्ना उम्मेद्वाको ताँति नै लगाएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा नेमकिपाले सिन्धुपाल्चोकका सबै प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवार खडा गरेको छ ।
पार्टीको कुनै जनाधार नभए पनि समानुपातिक भोटको लोभमा नेमकिपाले भक्तपुर स्थाई घर भएकाहरुलाई सिन्धुपाल्चोकमा उम्मेद्वार बनाएर पठाएको हो । नेमकिपाले सिन्धुपाल्चोक प्रतिनिधिसभा १ मा हरिलक्ष्मी दनेखु र क्षेत्र न २ मा लक्ष्मीप्रसाद कुसीलाई उम्मेद्वार बनाएका छन् ।
त्यस्तै क्षेत्र न २, प्रदेशसभा ख मा भक्तपुरकै राजमति लवजुलाई उम्मेद्वार बनाएका छन् प्रदेशसभा क मा भक्तपुरकै रत्नकाजी नायोभारीलाई उम्मेद्वार बनाएको छ । यता सिन्धुपाल्चोकमै पनि आन्तरिक टुरिष्टको रुपमा आफ्नो क्षेत्रबाट अर्को क्षेत्रमा गएर उम्मेद्वार बन्नेहरुको संख्या पनि कम छैन । नेपाली काँग्रेसका महोनबहादुर बस्नेत आफ्नो क्षेत्र न १ छोडेर क्षेत्र न २ को प्रतिनिािधसभा सदस्यको उम्मेद्वार बनेका छन् । २०४८ सालबाट क्षेत्र न १ मा नेपाली काँग्रेकोतर्फबाट हरेक निर्वाचनमा उम्मेद्वार बन्दै आएका बस्नेत यसपटक भने हिस्स बुढी ङिच्च दाँत गर्दै क्षेत्र न २ को आन्तरिक टुरिष्ट उम्मेद्वार वन्न वाध्य भएका हुन् । गठवन्धनको भागवण्डा अनुसार सिन्धुपाल्चोक क्षेत्र न २ नेपाली काँग्रेसलाई परेपछि उनले सोही क्षेत्रका नेतालाई उम्मेद्वार बन्नबाट बञ्चित गर्दै क्षेत्र न २ का आफै उम्मेद्वार बनेका हुन् ।
अधिकाँश निर्वाचनमा क्षेत्र न २ बाट नेकपा मालेका तर्फबाट उम्मेद्वार बन्दै आएका कृष्णबहादुर ठकुरी यसपटक भने क्षेत्र न १ मा उम्मेद्वार भएर हानिएका छन् । प्रदेशसभा सदस्य निर्वाचनतर्फ भने माओवादीका सरल सहयात्री पौडेल आन्तरिक टुरिष्ट उम्मेद्वारको रुपमा देखा परेका छन् । उनले आफ्नो क्षेत्र न १ को प्रदेशसभा क छोडेर ख मा उम्मेद्वारी दिएका हुन् । डेढ महिनाअघि माओवादी केन्द्र छोडेर एमाले बनेका चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्व मेयर अमानसिंङ तामाङले आफ्नो क्षेत्र छोडेर अर्कै क्षेत्रमा उम्मेद्वार बनेका छन् । आफ्नो क्षेत्र न १ को ख छोडेर क्षेत्र न २ को क मा एमालेका तर्फबाट उनी उम्मेद्वार बनेका हुन् ।
त्यस्तै मंगोल नेशनल अर्गनाइजेशनका सोमबहादुर लामा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दावा छिरिङ शेर्पा, काठमाण्डौं तार्केश्वर घरभई आमूल परिवर्तन मसिहा नेपालका तर्फबाट उम्मेद्वार बनेका श्यामबहादुर तामाङ, मालेका चेतनाथ गिरी, छिरिङ वाङ्दी शेर्पा र एक स्वतन्त्र उम्मेद्वारले पनि आफ्नो क्षेत्र छोडेर टुरिष्ट उम्मेद्वार बन्दै अर्कै क्षेत्रमा गएर उम्मेद्वारी दिएका छन् ।
मतदाता नामावलीमा आफ्नो नाम नभएका कारण आफू उम्मेद्वार बनेको क्षेत्रबाट आफनो भोट आफैलाई हाल्न नपाएका यी टुरिष्ट उम्मेद्वारलाई जनताले भोट हाल्लान कि नहाल्न त्यो हेर्न भने अझै ३४ दिन पर्खनै पर्ने भएको छ ।