दहत्तबहत्तर ठेक्का लाग्न छाडेपछि स्थानीय सरकार समस्यामा

सिन्धुपाल्चोक । निर्माण कार्य सुस्त हुन थालेपछि नदीजन्य पदार्थ विक्री हुन छाडेको छ ।
सुनकोशी, इन्द्रावती र भोटेकोशी नदी आसपसामा दुई दर्जन बढी क्रसर उद्योगहरु जिल्लामा सञ्चालनमा छन् ।
निर्माण कार्य सुस्त हुँदा ती क्रसर उद्योगले उत्पादन गरेको बालुवा, गिट्टी लगायतका सामग्रहीहरु बिक्री हुन छाडेको हो ।
स्थानीय सरकारको मुख्य आन्तरिक स्रोतसमेत रहेको नदीजन्य पदार्थ बालुवा, गिट्टी विक्री हुन छाडेपछि स्थानीय तहहरुको दहत्तर, बहत्तरको ठेक्का पनि लाग्न छाडेको छ ।
नदी आसपासका स्थानीय तहले चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा आन्तरिक आम्दानीको प्रमुख स्रोत दहत्तर बहत्तरबाट रकम उठ्ने योजनाका साथ बजेट निर्माण गरेका थिए ।
आर्थिक वर्ष सकिन करिब ३ महिना मात्रै बाँकी हुँदा पनि चार वटा स्थानीय तहको ठेक्का नलाग्दा यस अघि अनुमान गरेर निर्माण गरेको बजेटमा समस्या देखिएको छ ।
बाह्रविसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका र बलेफी गाउँपालिकाले सुनकोशी र भोटेकोशी नदीबाट नदीजन्य सामग्री उत्खनन् गर्दा त्यसबापत लाखौ कर संकलन गर्दै आएका थिए । चारै स्थानीय सरकारले चालु आर्थिक वर्षका लागि पटकपटक सूचना प्रकाशन गर्दा पनि ठेक्का नलागेको ती स्थानीय तहले जानकारी दिएका छन् ।
बाह्रविसे नगरपालिकाले सुनकोशी नदी क्षेत्रको बाह्रविसेदेखि जुरेसम्मको क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन्बापत झण्डै १ करोड रुपैयाँमा ठेक्का आवह्रान गरेको थियो । तर चार पटक सूचना प्रकाशन गर्दा समेत कोही पनि ठेक्का हाल्न नआएको बाह्रविसे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले जानकारी दिनुभयो । चारपटकसम्म ठेक्का नलागेपछि कार्यपालिकाको बैठकबाट सुरुको रकममा २५ प्रतिशत घटाएर ठेक्का लगाउदा समेत कोही हाल्न नआएको पन्थीले बताउनु भयो ।
त्रिपुरासन्दरी गाउँपालिकाले पनि दहत्तर–बहत्तरबापत १ करोड १० लाख रुपैयाँमा ठेक्का आह्रावन भएपनि ठेक्का नलागेको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिनुभयो । धेरै पटक सूचना प्रकाशित गर्दा पनि कोही पनि व्यावसायीहरु ठेक्का हाल्न नआएको अध्यक्ष बोहराले जानकारी दिनुभयो ।
सुनकोशी गाउँपालिकाले सुनकोशी नदीको आफ्नो क्षेत्रभित्र ६५ लाखमा दहत्तर–बहत्तरको ठेक्काको लागि सूचना प्रकाशन गरेपनि ठेक्का हाल्न अहिलेसम्म कोही पनि नआएको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
आन्तरिक आम्दानी संकलन हुने अनुमानसहित वार्षिक बजेट निर्माण गरेको र अहिले आम्दानी नहुँदा योजना कार्यान्वयनमा समस्या भएको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिनुभयो । त्यस्तंै बाह्रविसे,सुनकोशी र त्रिपुरासुन्दरीको मात्रै होइन बलेफी गाउँपालिकालाई पनि ठेक्का नलाग्दा समस्या भएको छ ।
सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको मात्रै अन्तरिक आयको ठेक्का लागेको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्