नोमिनेशन दर्ताको अन्तिम दिनसम्म पनि प्रयास जारी राखेका काँग्रेस नेता मोहनबहादुर बस्नेतले अन्तत: आफूले चुनाव लड्दै आएको क्षेत्रबाट टिकट पाउन सकेनन् । गठवन्धनका कारण सिन्धुपाल्चोक-१ माओवादीको भागमा परेपछि बस्नेतले अन्तिम समयमा क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराए । आफ्नो क्षेत्र माओवादीलाई छोड्नु परे स्वतन्त्र उम्मेदवारी दिने घुर्की लगाउँदै आएका उनी अन्तत: सिन्धुपाल्चोक-२ मा टुरिष्ट उम्मेदवार भएर माओवादीकै साथमा चुनाव लड्नुपर्ने बाध्यतामा परेका छन् ।
सिन्धुपाल्चोक-२ मा काँग्रेसले अधिकाँश निर्वाचनमा बाहिरबाट उम्मेदवार बनाउँदै आएको छ । २०४८ सालको आमनिर्वाचनमा १ नम्बर क्षेत्रकै विनोद लामाबाट शुरु भएको टुरिष्ट उम्मेदवारको सिलसिला २०७९ सालसम्म पनि कायम नै रहेको छ । जिल्लाको सिफारिसलाई बेवास्ता गर्दै पहुँचको आधारमा केन्द्रबाट सिधै टिकट लिने परिपाटीले गर्दा यस क्षेत्रका नेता-कार्यकर्ता निरन्तर अवसरबाट बञ्चित हुनुपरेको जिल्लाका नेताहरुको गुनासो रहँदै आएको छ । २०४८ सालको निर्वाचनमा भक्तध्वज प्रधान,श्याम श्रेष्ठ, चन्द्रलाल श्रेष्ठजस्ता निष्ठावान नेताहरु उम्मेदवारका लागि आकांक्षी थिए, तर नामै नसुनिएका र भूगोलमा नचिनिएका लिसंखुृका विनोद मोक्तानलाई उम्मेदवार बनाएपछि त्यतिबेला पनि चर्को असन्तुष्टी चर्किएको थियो ।
२०५१ सालमा भएको मध्यावधि निर्वाचनमा पनि उनै मोक्तानलाई केन्द्रबाट टिकट थमाइएपछि यस क्षेत्रका कांग्रेसीहरु आगोमात्र भएनन्, तत्कालीन जिल्ला सभापति श्याम श्रेष्ठले तामा तुलसी छुन लगाएर ‘अब आइन्दा यो क्षेत्रबाट चुनाव लड्न आउँदिन’ भन्न लगाई किरिया नै ख्वाएको प्रसंग अहिले पनि चल्ने गर्छ ।
टुरिष्ट उम्मेद्वारबाट हैरान भएका सिन्धुका काँग्रेसीहरुले २०५६ सालको निर्वाचनमा भने सोही क्षेत्रका राजेन्द्रमान तल्चा भँडेललाई उम्मेद्वारको रुपमा पाए । तर, २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा पुन: १ नम्बर क्षेत्रकै भूपेन्द्र थापालाई टिकट दिइयो । २०७० को चुनावमा सोही क्षेत्रका विकास लामाले चान्स पाएपनि २०७४ मा काँग्रेस र राप्रपाको चुनावी गठवन्धका कारण राप्रपाका पशुपतिशम्सेर जबराले टिकट हात पारे । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वचनमा पनि १ नम्बर क्षेत्रकै बस्नेतलाई केन्द्रले उम्मेद्वार बनाएपछि पुरानो विवाद फेरी बल्झिएको छ ।
कतिपय काँग्रेसीहरु टुरिष्ट उम्मेद्वारलाई भोट नहाल्ने भन्दै जिल्ला नेतृत्वलाई खुला चुनौती दिइरहेका छन् । तर, काँग्रेसले २ नम्बर क्षेत्रमा हालसम्म जित्न नसकेका कारण यसपटक अवसर जुरेकाले बस्नेतको पक्षमा खुलेरै लाग्नेहरु पनि छन् । गएको स्थानीय निर्वाचनमा बस्नेतको छुद्र बोलिका कारण चिढिएका झलक नेपाल दुई नम्बर क्षेत्रमा पहिलोपटक काँग्रेसले जीत्ने अवसर आएको हुँदा सबै तिक्तता भूलेर लाग्ने बताउँछन् । झलकमात्र हैन, यो क्षेत्रका अधिकाँश नेता-कार्यकर्ता बस्नेतसँग चिढिएका छन् । काँग्रेस सिन्धुपाल्चोकका निर्वतमान सभापति विकास लामा, इन्द्रावती गाउँपालिकाका निर्वतमान अध्यक्ष बंशलाल तामाङ, मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ, राजेन्द्र ताल्चा भँडेल लगायत अधिकाँश चिनिएका र स्थापित काँग्रेसीहरु बस्नेतसँग खुशी छैनन् ।
आफनो क्षेत्र (१ नम्बर) मा टिकट पाउनेमा ढुक्क देखिएका बस्नेतले सबै ढोका बन्द भएपछि श्रीमती माण्डबी राणामार्फत प्रधानमन्त्री पत्नीआरजु राणालाई फकाउने अन्तिम अस्त्र प्रयोग गरेका थिए । त्यो अस्त्रले काम नगरेपछि उनले २३ गते विहान प्रधानमन्त्री शेरबहादुर देउवालाई घुक्र्याउँदै दूईवटा प्रदेशसभाका र एउटा प्रतिनिधिसभा क्षेत्रको खाली टिकट बोकेर नोमिनेशन दर्ता गर्न उनी चौतारा हानिए । उनले सबैभन्दा पहिले टिकटमा आफ्नो नाम भरे । गठवन्धनअनुसार सिन्धुपाल्चोक-२ र प्रदेशसभा (ख) अनि त्यस्तै प्रतिनिधिसभा-१ को प्रदेशसभा (क)को खाली टिकट हात पारेका बस्नेतले १ को (क) मा आफ्ना अनुयायी मानकुमारी उर्फ मसिना खड्काको नाम भरे । त्यस्तै, २ (ख )का मा पनि उनले आफ्ना विश्वासपात्र कृष्णकुमार तामाङको नाम लेखे । रोजेको क्षेत्र नपाए पनि केन्द्रीय पहुँचका आधारमा ‘आफ्नो हात जगन्नाथ’ गरेका बस्नेतले यसरी प्रदेशसभाका टिकट आफ्ना खेमाकालाई पार्न सफल भएका हुन् ।
जसका कारण शेखर कोइराला पक्षधरहरु यो निर्वाचनमा उम्मेद्वार बन्नबाट नै बन्चित भएका छन् । ‘हामीलाई भित्तामा पु¥याउनेलाई हामीले चैं बोक्नु पर्ने’, कोइरालापक्षका एक नेताले भने, ‘हामी जे गर्छौ मंसिर ४ मा गर्छौ ।’
स्थानीय राजनीतिकर्मीहरुको भनाई अनुसार कोइराला पक्षलाई मनाउन नसके बस्नेतलाई चुनाव जित्न निकै कठिन छ । माओवादीको चर्को विरोध गर्ने गरेका उनले गठबन्धनमा पनि सकारात्मक माहोल बनाउन सकेका छैनन् । एमालेको पकड भएको क्षेत्र भएकाले पार्टी र गठबन्धनको पूर्ण सहयोग नहुँदा परिणाम उनको पक्षमा पार्न ‘फलामको च्युरा चपाउनु’ सरह हुने यहाँको राजनीतिलाई नजिकबाट बुझेकाहरु बताउछन् । कतिपय कोइराला पक्षले निर्वाचनमा पार्टी एक ढिक्का हुनुपर्ने आव्हान सामाजिक सञ्जालमा पोष्टाए पनि अन्तरघात गर्न कतिपनि नहिच्काउने काँग्रेसीहरुले योचोटी के गर्लान् त्यो भने अबको ३९ दिनपछि थाहा हुनेछ । ( coppied by Janaastha online )