ग्यास सिलिण्डर पड्कँदा एकजना घाइते
जीवन श्रेष्ठ, सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका वडा न ६, दुब्लेडाँडाको एक घरमा ग्यास सिलिण्डर पड्किँदा एक जना गम्भीर घाइते भएका छन् । ग्यास सिलिण्डर पड्केर आगजनी हुँदा घर पूर्णरुपले ध्वस्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पुच्छार टोल निवासी चुडामणि कार्कीको घरमा ग्यास सिलिण्डर पड्कँदा कार्की गम्भीर घाइते हुनका साथै उहाँको घर पनि आगालागि भएको छ । आगालागीबाट कार्कीको अनुहार र हात जलेको छ भने उहाँको सुष्मा कोइराला मेमोरियल अस्पताल साखुमा उपचार भइरहेको छ ।
आजै घाइते कार्कीलाई गाउँपालिका अध्यक्ष टपेन्द्र तिमल्सिनाले उपचारका लागि रु पचास हजार प्रदान गर्नु भएको छ । आगजनीबाट ध्वस्त भएको कार्कीको घर निर्माण गर्नका लागि उहाँले थप सहयोग पनि उपलव्ध गराउने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।
एक वृद्धाको शव फेला
जीवन श्रेष्ठ, सिन्धुपाल्चोक । १२ दिन देखि हराइ रहेकी एक वृद्धा मृत अवस्थामा फेला परेको छ । सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा न ८ लाम्पाटाकी ७२ वर्षिया पदमकुमारी कार्की मृत अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृतकको लाश उहाँकै घरदेखि करिब ६ सय मिटर पर कागुठेस्थित ठाडो खोल्सामा भेटिएको हो ।
असोज १३ गते वृद्धभत्ता बुझ्न भनि घरबाट हिडेकी कार्की घर नफर्केपछि परिवारले प्रहरीलाई निवेदन दिएका थिए । सोही आधारमा हुलिया परिपत्र गरि खोजतलासी गर्दा खोल्सामा मृत अवस्थामा भेटिएको प्रहरी नायव उपरिक्षक शिवकुमार बुढाथोकीले जानकारी दिनु भयो । घटनाको थप अनुसन्धान कार्य पनि जारी रहेको उहाँले जानकारी दिनु भयो ।
ग्यास सिलिण्डर पड्कँदा एकजना घाइते
