चौतारा । सरकार र नेपाल कम्युनिष्ट पार्टी विप्लव बीच भएको तीन वुँदे सहमति तत्काल कार्यान्वयन गर्न युवा संगठन नेपालले ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिष्ट पार्टीका भातृ संगठन युवा संगठन नेपालले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो ।युवा संगठन नेपाल, सिन्धुपाल्चोकका संयोजक सुमन श्रेष्ठले साहयक प्रमुख जिल्ला अधिकारी बाबुराम नेपाललाई बुधबार बुझाएको ज्ञापनपत्रमा राजनीतिक आस्थाको आधारमा लगाएका झुठ्ठा मुद्धाहरु तुरुन्तै खारेज गर्न, राजनीतिक आस्थाकै कारण बन्दी बनाएका आस्थाका बन्दीहरुलाई निसर्त रिहा गर्न र जनमत संग्रहका लागि उचित वातारण तयार गर्न माग गरिएको छ ।
२०७७ साल फागुन २१ गते सरकार र नेकपाबीच तत्काल ३ बुँदे सहमति भएको तर कार्यान्वयनमा भने उदासिन देखिएको ठहर गर्दै, राज्यद्वारा प्रतिवद्धता गरिएका राजनीतिक मुद्धा खारेज तथा राजवन्दी रिहाइ गर्ने विषयहरु अझै जस्ताको तस्तै रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
संयोजक श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा राजनीतक सहमतिलाई लत्याउने, दमनको चक्र चलाउने नीति राज्यले लियो भने त्यसले देशलाई पुन द्वन्द्वमा धकेल्ने चेतावनी समेत दिएको छ ।