जुगल (सिन्धुपाल्चोक) : जुगल गाउँपालिका-३, तेम्बाथनका जाङ्बु शेर्पालाई मेला, पर्व र चाडबाडले कहिल्यै छुँदैन । गाउँलेसँग बिरलै भेट हुन्छ । वर्षमा करिब तीन महिना मात्र उनी गाउँलेको सम्पर्कमा हुन्छन् । वर्षमा नौ महिना खर्कमा फिरन्ते जीवन बिताउने जाङ्बुको निरन्तर सम्पर्क आफ्नै परिवारका सदस्य चौरी र याकसँग मात्र हुन्छ ।
हरेक वर्षको पुसदेखि कात्तिकसम्मको समय उनको संगत आफ्नै परिवारका सदस्यका अलावा चौरी र आसपासका चौरी पालक किसानसँग मात्र हुने उनी बताउँछन् । आक्कल झुक्कल जंगली जनावरको पनि सामना गर्नुपर्ने जाङ्बु तीन महिना मात्र मानव बस्ती छेउछाउ पुग्ने गर्छन् ।
पुस्तौदेखि चौंरी पालन व्यवसाय गर्दै आएका जाङबु मात्र हैन सिन्धुपाल्चोककै पारी गाउँको नामले चिनिने जुगल गाउँ पालिका–३, गुम्बाका दर्जन बढि चौरी पालक किसानको दैनिकी हो यो । उनीहरु अधिकांश समय विकट हिमाली खर्कमा आफ्नो भविष्य खोजिरहेका हुन्छन् ।
सिंगो परिवारको दिनचर्या खर्कमा बित्छ । वर्षमा पाँचभन्दा बढी ठाउँमा चौरीको गोठ मात्र सार्दैनन् आफ्ना बालबच्चाको आश्रय पनि परिवर्तन गरिरहेका हुन्छन् । ‘बाबु हजुरबादेखि थाहा भएसम्म यही पेसा गरे, खर्कमै हुर्किएँ, अनि मैले पनि यही पेसालाई निरन्तरता दिएँ ।’ जुगल हिमालको फेदिमा पर्ने ङिमाल्हा खर्कमा भेटिएका जाङ्बुले भने, ‘चौरी चराउने, दुहुने, छुर्पी र घिउ बनाउने दिन यसरी नै बित्छ ।’
खर्कका पुरुष सदस्यहरु रासन सकिएपछि गाउँमा खाद्यान्न लिन जाने भएपनि महिला र बालबालिकाको सारा सन्सार खर्क नै हुन्छ । उनीहरु जाडो बढ्दै गएपछि केही समय मानव बस्तीको नजिक पुग्ने भएपनि बाँकी समय फराकिलो खर्कको सीमित व्यक्तिसँगको सहकार्यमै रमाउँछन् । छ जनामध्ये चारजनाको परिवारसहित खर्कमा भेटिएका पेरोम्जी शेर्पा वर्ष भरी दुःख गरेर दुई साँढे दुई लाख रुपैया आम्दानी हुने बताउँछन् ।
‘आफै बजार पुग्न भ्याइदैन, खर्कमै आएर ठेकेदारले दिएको मूल्यमा छुर्पी र घिउ बेच्नुपर्छ’, पेरोम्जी भन्छन्, ‘दुःख धेरै आम्दानी कम भएपनि चित्त बुझाउनु परेको छ ।’ पेरोम्जीका पछिल्ला दुई सन्तान आफन्तकोमा बसेर पढ्दै गरेको भएपनि अघिल्ला एक छोरी र छोराले भने खर्कमा आफूलाई सघाउनुपर्दा पढ्न पाएका छैनन् ।
बाबु आमालाई सघाउन खर्कमा बसेकी १७ वर्षीया फूर्पा शेर्पालाई गाउँ जाँदा आफ्ना उमेरका साथीहरुको व्यवहार अनौठो लाग्छ । खर्कमा जन्मिएर खर्कमै हुर्किएकी फूर्पालाई वर्षको तीन महिना गाउँ नजिक हुँदा गाउँले जीवनले लोभ्याउँछ तर पनि उनी चौंरी, खर्क र आफ्नो परिवारको घेरा बाट निस्कन सकेकी छैनन् । ‘गाउँ पुग्दा साथीहरुले के के कुरा गर्छन् म त केही बुझ्दिन, मुस्किलले थोरै मात्र नेपाली भाषा बोल्ने फूर्पाले भनिन्, ‘बा आमालाई सघाउनु परेकाले गोठमै बस्नुपर्छ गाउँका कुरा के थाहा ?’
तेम्बाथान र दिपुबाट पुसमा गोठ सार्न थालेपछि यहाँका चौरी पालक किसान निमाला, दोङ्जाङमा, चाँसीखर्क, थालदर, नेपेमासाल हुँदै जुगल हिमश्रृखलाको वेस क्याम्प पुम्बाशेर्पुसम्म गोठ सार्छन् । सरकारले कृषि क्षेत्रमा बजेट दिन्छ भन्ने गाउँ पुग्दा सुनेपनि आफूहरुले कुनै सहयोग नपाएको मिङ्मार शेर्पा बताउँछिन् । गोठमा चौरी बिरामी भएपनि मान्छे बिरामी भएपनि खर्कमा पाउने जडिबुटी नै उपचारको माध्यम भएको उनले बताइन् ।
(अन्नपूर्ण पोष्टबाट)