चौतारा । एकातिर दक्ष र विशेषज्ञ डाक्टरहरुको टोलि । अर्कोतिर सुविधा सम्पन्न ल्याब, एक्स रे अनि फिजियोथेरापी सेवा । मानौ एउटा सिंगो सुविधा सम्पन्न अस्पताल त्यहाँ सञ्चालन भइरहेको थियो । आफ्नै घर आँगनमै दक्ष डाक्टरसहित सुविधासहितको स्वास्थ्य सेवा निशुल्क लिन पाएपछि स्थानीयहरुको चाप पनि त्यतिक्कै बाक्लो देखिन्थ्यो ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा ७ मेलचौरस्थित सामुदायिक भवनमा मंगलबार देखिएको दृष्य हो यो । यदपी त्यो कुनै सुविधा सम्पन्न वहिरंग अस्पताल थिएन् । परन्तु कुनै अस्पताल भन्दा कम पनि थिएन त्यहाँका सेवा र सुविधाहरु । आँखाका डक्टर विरामीका आँखा जाँच्न व्यस्त थिए । स्त्री रोग विशेषज्ञ स्त्री रोग पहिचान र निदानका लागि व्यस्त थिए । हाडजोर्नी विशेषज्ञ डाक्टर मात्र हैन, मानसिक रोगका विशेषज्ञ डक्टरहरुलाई पनि भ्याई नभ्याई थियो । उता अलि पर फिजियोथेरापिष्ट फिजियो उपचारमा व्यस्थ थिए भने ल्याबमा पनि उत्तिक्कै भीड नै थियो ।
चौतारा साँगाचोकगढी नगरपालिकाले जुराइ दिएको थियो यो अवसर । नगरबासीलाई घरदैलोमा नै स्वास्थ्य उपचारको सेवा दिने उदेश्यले आयोजना गरेका स्वास्थ्य शिविर कुनै अस्पताल भन्दा कम थिएन । स्वास्थ्य शिविरका लागि प्राविधिक सहयोग जुटाएर होस्टेमा हैंसे गरेको थियो जागरण राष्ट्रका लागि युवा अर्थात Youth for Nation ले । हुन त जागरण राष्ट्रका लागि युवाले प्राविधिक सहयोगमा गरेको यो नै पहिलो शिविर भने हैन । जिल्लाकै सवालमा पनि बाढीग्रस्त क्षेत्र मेलम्ची र हेलम्बुमा यस अघि यो टोलिले यस्तै स्वास्थ्य शिविरको आयोजना गरिसकेको जानकारी दिएको छ । शिविरमा मेयर अमानसिं तामाङको उपस्थिति मात्र रहेको थिएन मेयर तामाङले आफ्नो स्वास्थ्यको जाँच पनि गराएका थिए । उपमेयर जानुका पराजुली दिनभरि जसो शिविरमा नै रहेर विरामीहरुको रेखदेख गरेकी थिइन् ।
शिविरमा ४ सय ५४ जना स्थानीयले स्वास्थ्य सेवा लिएको उपमेयर पराजुलीले जानकारी दिइन् । खासगरि स्त्री रोग सम्वन्धी पूर्णरुपले सेवा दिने उदेश्यले आयोजित शिविरमा ५० प्रतिशत भन्दा बढी स्त्री रोग सम्वन्धी सेवा दिएको पनि उपमेयर पराजुलीले जानकारी दिइन् । त्यस्तै शिविरमा २१०जनाले आँखा जाँच गराए भने २५० जनाले स्त्रि तथा प्रसुति रोग सम्वन्धि सेवा लिए ।१५० जनाले दाँतको रोगको उपचार गराए भने ७८ जनाले नाक कान घाँटि ,१५० जनाले हाडजोर्नि नसा , २२ जनाले मानसिक रोगको उपचार गराए ।त्यस्तै ५१ जनाले फिजियो थेरापी सेवा लिए भने बाल रोग बिषेशज्ञ सेवा १५ जनाले लिए भने सर्जिकल सेवा ५८ जनाले लिए ।
जटिल स्त्रीरोग १८ जना रेफर गरिएको चौतारा साँगाचोकगढी स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिए । शिविरमा कतिपयले एक भन्दा बढी रोगको जाँच तथा उपचार गराएका थिए ।