काठमाण्डौं,गुल्मीकाे इस्मा गाउँपालिकामा आज बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।
सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नम्बरको जिप इस्मा –४ अन्तर्गत हुलनजिकै दुर्घटना भएको थियो । पाँचजनाको घटनास्थलमै र अर्का एकजनाको अस्पताल लैजाँदै गर्दा बाटाेमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर ज्यान गुमाउनेमा इस्मा–४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी र ३३ वर्षीय धनबहादुर अछामी, ३० वर्षीय वशन्त दर्लामी र मालिका गाउँपालिका–५ ८० वर्षीया सुन्दरी थापा रहेको इस्मा प्रहरीचौकीका इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए ।
घाइते तीनमध्ये इस्मा–४ का १९ वर्षीय फर्सुराम थापालाई भने उपचारका लागि गुल्मी अस्पताल तम्घास लग्दैगर्दा बाटामै मृत्यु भएकाे गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पाच्यले जानकारी दिए ।
दुर्घटनामा परेर घाइते भएका इस्मा–४ की २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।
१० यात्रु बोकेर सदरमुकामतर्फ आउँदै गरेको उक्त जिप ब्रेकफेल भई दुर्घटना हुँदा सडकबाट ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक बुद्ध बस्नेत सकुशल छन् ।