सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा न १, मेलडाडाको एकल महिला धनमाया श्रेष्ठको हत्यामा संग्लग्न अभियुक्त रन बहादुर गाहामाथि थप अनुसन्धानसहित कडाभन्दा कडा सजायको माग गर्दै आज मंगलबार जलबिरेमा स्थानीयले शान्तिपूर्ण र्यालीको आयोजना गरेको छ ।
तल्लो बलेफी हाइड्रो पावर कम्पनीमा कार्यरत ३७ बर्षिय गाहाले आफूले हत्या गरेको स्विकार प्रहरी समक्ष गरिसकेका छन् ।
योजनाको सुरुवाती चरणमै रहेको हाइड्रोको कामदारबाट भएको हत्याका कारण आफूहरु पनि असुरक्षित रहेको भन्दै स्थानीयले र्यालीमार्फत प्रशासन समक्ष सुरक्षा र मृतक परिवारलाई क्षतिपुर्तीको माग राखेका हुन् ।
श्रेष्ठलाई भदौ २५ गते राति मदिरा सेवन पश्चात ब्रह्ययणी नदीमा अरोपित गाहाले घचेटेर खसालिदिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । उनको लाश सिन्धुलीको सुनकोसी गापा सादीपाखोस्थित सुनकोसी नदीमा फेला परेको थियो ।