उच्च रक्तचाप नियन्त्रण र अनुसन्धानका लागि विविध कार्य गरिने

स्वयमसेविकाहरुको

महिला स्वास्थ्य स्वयमसेविकाहरुको अगुवाईमा उच्च रक्तचापको अध्ययन तथा अनुसन्धान कार्यक्रममार्फत सिन्धुपाल्चोकमा रक्तचाप नियन्त्रण तथा अनुसन्धान थालनी गर्न लागेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

चौतारा । नसर्ने रोग उच्च रक्तचापबाट प्रभावित हुनेहरुको संख्या दिनप्रतिदिन बढ्न थालेपछि नियन्त्रणका लागि पहलकदमी थालिएको छ ।


काठमाण्डौं विश्वविद्यालय धुलिखेल अस्पतालले सिन्धुपाल्चोक जिल्लामा उच्च रक्तचाप नियन्त्रण र अनुसन्धानका लागि विभिन्न कार्यक्रमहरु तय गरिएको हो ।

महिला स्वास्थ्य स्वयमसेविकाहरुको अगुवाईमा उच्च रक्तचापको अध्ययन तथा अनुसन्धान कार्यक्रममार्फत सिन्धुपाल्चोकमा रक्तचाप नियन्त्रण तथा अनुसन्धान थालनी गर्न लागेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।


मंगलबार जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा आयोजित उच्च रक्तचाप नियन्त्रण तथा अनुसन्धान सम्वन्धी एक अन्तक्र्रिया कार्याक्रमा धुलिखेल अस्पतालका दिनेश तिमल्सिनाले उच्च रक्तचापका विरामीहरु बढ्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै समयमै नियन्त्रण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले २५ प्रतिशत जनसंख्या उच्च रक्तचापबाट प्रभावित भएको र झण्डै १३.५ प्रतिशतको त मृत्यु नै हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै धुलिखेल अस्पतालको नेतृत्वमा उच्च रक्तचाप नियन्त्रण र अनुसन्धान गरिने बताउनुभयो । स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकालाई तालिम प्रदान गरेर समुदायमा यो रोग सम्वन्धी जनचेतना जगाउँदै नियन्त्रण गर्ने उहाँको भनाइछ ।

उहाँको अनुसार तालिम प्राप्त महिला स्वयम्सेविकाहरुबाट टोल टोलमा नै पुगेर रक्तचाप मापन र परामर्श दिइनेछ । समूहमा छुटेकाहरुलाई घरघरमा नै गएर यो सेवा प्रदान गर्नेछ । महिला स्वास्थ्य स्वयम्सेविकाहरुले परामर्श दिने सवालमा उच्च रक्तचापबाट प्रभावितहरु मध्य कूल संख्याको आधालाई मात्र परामर्श दिइनेछ भने आधा संख्यालाई दिइने छैन र यी दुइबीच आएको अन्तरलाई अध्ययन गर्दै थप कार्यक्रम सञ्चालन गरिनेछ ।


एली विश्वविद्यालयकी प्रोफेसर डोनाले विगत ९ वर्षदेखि नेपालमा आफूहरुले नसर्ने रोग सुगर र प्रेसर नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउदै आगामी ३ वर्षसम्म उच्च रक्तचाप नियन्त्रणका लागि सिन्धुपाल्चोकमा यो अभियान थालिएको बताउनुभयो । बागमति प्रदेश स्वास्थ्य आपूति केन्द्रका निर्देशक बसन्त अधिकारीले महिला स्वास्थ्य स्वयम्सेविकाहरुले नेपालमा मातृ र शिशु मृत्यु दर कम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउँदै उच्च रक्तचाप नियन्त्रणमा पनि महिला स्वास्थ्य स्वयम्सेविकाहरु भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो ।


जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा प्रमुख अतिथि एवम् चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले उच्च रक्तचाप नियन्त्रणका लागि सञ्चालन हुन लागेको कार्यक्रमको स्वागत गर्दै जनता स्वास्थ्य नै राज्यको पहिलो शर्त भएको बताउनुभयो । उहाँले स्वास्थ नागरिकबाट नै समृद्ध समाज निर्माण हुने जिकिर गर्दै नगरबाट कार्यक्रमका लागि गर्नुपर्ने सहयोग निर्वाध गर्ने प्रतिवद्धता जनाउनु भयो ।


जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजागाईद्वारा स्वागत गरिएको कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका स्वास्थ्य प्रमुख आत्मराम धिताल, हर्ट फाउण्डेशन सिन्धुपाल्चोकका अध्यक्ष कमलचरण कक्षपति, चौतारा क्याम्पसका प्रमुख नगेन्द्रप्रसाद दंगाल लगायतका सहभागिहरुले उच्च रक्तचाप नियन्त्रणका लागि जिज्ञासासहित थप सुझाव दिनुभयो ।

जनप्रतिनिधि, विभिन्न सरकारी एवम् गैरसरकारी कार्यालयका प्रमखु एवम् प्रतिनिधि, १२ वटा नै पालिकाका स्वास्थ्य प्रमुख र सरोकारवालाहरुको उपस्थिति रहेको कार्यक्रम जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक तीव्रता शर्माले गर्नुभएको हो ।

सिफारिस

प्रतिकृया दिनुहोस्