चौतारा । गत बर्षदेखि सञ्चालनमा आएको मातृ तथा बाल पोषण आयोजना अन्तर्गतको साना अनुदान कार्यक्रम महत्वपूर्ण भए पनि कार्यान्वयन झन्झटिलो भएको सरोकारवालाहरुले बताएका छन् ।
मातृ तथा बालबालिकाको पोषण स्थितिमा सुधार गर्दै सामाजिक परिचालन तथा जनचेतना अभिवृद्धि गर्ने र घरभित्रको वायु प्रदुषण न्यूनीकरण गर्दै स्वास्थ्य स्थितिमा सुधार गर्ने उदेश्यले सञ्चालित यो कार्यक्रम प्रभावकारी रहे पनि कार्यक्रम सञ्चालनमा समस्या आएको सरोकारवालाहरुले दावी गरेका हुन् ।
कार्यक्रम सञ्चालनका लागि स्वास्थ्य आमा समूह वैधानिकरुमा गठन गर्नुपर्ने, अनिवार्य पान नम्बर लिनुपर्ने, सम्झौताका लागि स्वास्थ्य कार्यालयमा धाउनुपर्ने र आर्थिक वर्षको अन्तिमतिर कार्यक्रम सञ्चालनका लागि जानकारी आउने परिपाटीले कार्यक्रम झन्झटिलो भएको उनीहरुको कथन छ ।
बागमति प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयको विशेष अनुदानमा सिन्धुपाल्चोकको हेलम्बु, पाँचपोखरी थाङपाल, लिसंखुपाखर र भोटेकासी गाउँपालिकामा सञ्चालित यो कार्यक्रम झन्झटिलो प्रकृयाकै कारण गत वर्ष भोटेकोसी गाउँपालिकाले सञ्चालन गर्न नसकेको भोटेकोसी गाउँपालिकाका स्वास्थ्य संयोजक भूपेन्द्रलाल श्रेष्ठले बताए ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख आत्मराम धिताल, लिसंखु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठ, आमा समूहकी विमला भण्डारी, सरस्वती लामिछानेले कार्यक्रम कार्यान्वयनमा आवश्यकताभन्दा बढी समस्या आएको बताउँदै सहजतरिकाले कार्यक्रम सञ्चालनका लागि पहल हुनुपर्नेतर्फ ध्यानाकर्षण गर्नु भयो ।
स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा आयोजित साना अनुदान कार्यक्रमको समीक्षा तथा भावी योजना तर्जुमा कार्यक्रममा स्वास्थ्य प्रमुख दुर्गा बजागाईले गतवर्ष सञ्चालित कार्यक्रमको प्रगति, औचित्य र भावी योजनाको बारेमा प्रष्ट पार्दै सम्झौताका लागि स्वास्थ्य कार्यालय चौतारा धाउनु नपर्ने योजना बनाएको बताउनुभयो ।
जनस्वास्थ्य अधिकृत समी भण्डारीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए भने जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, उपप्रमुख पदमनाथ नेपाल, हेलम्बु गाउँपालिकाका उपप्रमुख अप्सरा लामिछाने, लिसंखुपाखरका उपप्रमुख मिठूदेवी लामा र पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले कार्यविधि संशोधन गर्दै कार्यक्रम कार्यान्वयनमा सहजता ल्यानुपर्नेमा जोड दिए ।
गत वर्ष कार्यक्रममार्फत हेलम्बु, पाँचपाखरी थाङपाल र लिसंखुपाखरका आमासमूहलाई फिल्टरसहितको जुठेल्नो निर्माण, कुटानीपिसानी मिल र सुधारिएको चुलो लगायतका सामाग्री वितरण भएको थियो ।
कार्यक्रममा सिन्धुपाल्चोकबाट ललितपुरमा सरुवा भएका खोप अधिकृत राजाराम कार्कीलाई समन्वय प्रमुख श्रेष्ठले मायाको चिनो प्रदान गर्दै विदाइ गरेका थिए ।