यस अघि सानो कामको लागि पनि धुलिखेल धाउनुपर्ने वाध्यता रहँदै आएकोमा इकाई कार्यालय स्थापनाले उपभोक्ता र सेवाग्राहीहरुलाई भने राहत मिल्नका साथै गुणस्तरिय विकास निर्माणका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
चौतारा । बागमति प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय, धुलिखेलको फिल्ड इकाई कार्यालय चौतारामा स्थापना भएको छ ।

भवन कार्यालयबाट हुने हरेक विकास निर्माण कामका लागि यस अघि जिल्लाका सेवाग्राहीहरु धुलिखेल जानुपर्ने वाध्यता रहँदै आएको थियो ।

चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा र प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले संयुक्तरुपमा इकाईको बुधबार उद्घाटन गर्नु भएको हो ।

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा बसपार्कमा कार्यालय स्थापना भएको छ । इकाई कार्यालय चौताराबाट नै सेवा प्रवाह हुने भएपछि सेवाग्राही मात्र हैनन् जनप्रतिनिधि र कार्यालय प्रमुखहरु पनि खुशी भएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले इकाइ उद्घाटनपछि आफ्नो धारणा राख्दै सिन्धुपाल्चोकका सेवाग्राहीहरुले कागजातको ठेली बोकेर धुलिखेल धाउनुपर्ने वाध्यताको अन्त्य भएको बताउनुभयो । मेयर सापकोटाले इकाई कार्यालयबाट प्रवाहित हुने सेवा, सुविधा चुस्तदुरुस्त हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । सहरी विकास भवन कार्यालयको स्थाइ संरचना निर्माणका लागि पनि नगरपालिका भित्र उपयुक्त जग्गा खोजी गर्दै उपलव्ध गराउने प्रतिवद्धता पनि उहाँले जाहेर गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी आचार्यले विकास सुरु भएसँगै उजुरी हाल्ने प्रवृत्तिले विकासमा प्रभाव परेको बताउनुभयो । उहाँले यसतर्फ समवेदशिल भएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

शहरी विकास तथा भवन कार्यालय धुलिखेलका प्रमुख ईञ्जिनियर सन्तोष निरौलाले इकाइबाट प्रवाहित हुने सेवासुविधाको बारेमा प्रकाश पार्दै आजै नै उपभोक्ताहरुसँग अन्तरक्रिया कार्यक्रममार्फत जानकारी गराईएको बताउनुभयो ।

यसअघि धुलिखेलबाट हुनेगरेका अधिकाँश कार्यहरु अब चौताराबाट प्रवाह हुने उहाँको भनाई थियो ।

यस अघि सानो कामको लागि पनि धुलिखेल धाउनुपर्ने वाध्यता रहँदै आएकोमा इकाई कार्यालय स्थापनाले उपभोक्ता र सेवाग्राहीहरुलाई भने राहत मिल्नका साथै गुणस्तरिय विकास निर्माणका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
