मेलम्ची । मेलम्ची बजारको मुख्य सडकको दायाँबायाँ बनेका अस्थाई संरचना हटाउने भएको छ ।
मेलम्ची नगरपालिकाले सडक दायाँबायाँको भर्याङ, बार्दली, कौसी र सडक पेटी लगायतको अस्थायी संरचना हटाउन लागेको हो ।
मेलम्ची बजारको वडा नं ११ स्थित मेलम्ची खानेपानीको साइट कार्यालय देखि मेलम्ची बजार , होटल रिभर साइड इन सम्मको क्षेत्रमा मुख्य सडकको दायाँबायाँ निर्माण भएका अस्थाई संरचना हटाउने नगरपालिकाले जनाएको छ ।
३५ दिने सूचना जारी गर्दै नगरपालिकाले सम्बन्धित घरधनीलाई अस्थायी संरचना हटाउन आग्रह गरेको छ । सूचनालाई बेवास्ता गरि त्यस्ता संरचना ३५ (पैंतीस) दिन भित्र नहटाईएमा स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम प्रक्रिया अगाडी बढाउने र उक्त संरचना हटाउदा लाग्ने सम्पूर्ण खर्च घर धनी स्वयंवाट सरकारी बाकीं सरह असुलउपर गरिने नगरपालिका द्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।
मेलम्ची नगरपालिकालाई सुन्दर,फराकिलो र सौन्दर्ययुक्त बनाउनका गत पुष २६ गते बसेको कार्यपालिकाको निर्णय अनुसार आज मंगलबार वडा नम्बर ११का वडा अध्यक्ष चन्द्रबहादुर तामाङको अध्यक्षतामा बसेको बैठकले सडक अतिक्रमणको कारणले बजार क्षेत्र दिनप्रतिदिन कुरुप हुँदै गएको भन्दै यो सुचना जारी गरिएको जनाएको छ ।