नेपाली काँग्रेसले तिहार अघिका पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गरेको छ । मध्यरातमा जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्प प्रभावित क्षेत्रमा गर्नुपर्ने उद्धारलाई ध्यानमा राखेर उक्त निर्णय गरिएको बताइएको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीको सार्वजनिक कार्यक्रम स्थगित गरिएपनि महासमिति सदस्य चयन गर्ने आन्तरिक कार्यक्रम भने नरोकिने जानकारी दिएका छन् ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘‘पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेकाले केन्द्र, प्रदेश हुँदै पालिका स्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्व निर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरिएको छ । यो निर्णयलाई आ–आफ्नो तहमा कार्यान्वयन गर्नु÷गराउनु हुन नेपाली काँग्रेस निर्देश गर्दछ ।’
काँग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई उद्धार अभियानमा जुट्न अपिल गरेको छ ।