सिन्धुपाल्चोक । जाजरकोट भूकम्पबाट प्रभावितहरुका लागि सिन्धुपाल्चोकका ५ वटा स्थानिय तहले सहयोग उपलब्ध गराउने भएको छ ।
बाह्रबीसे नगरपालिका, बलेफी, भोटेकोसी, त्रिपुरा सुन्दरी र जुगल गाउँपालिकाले भूकम्प प्रभावितका लागि सहयोग गर्ने निर्णय गरेका हुन । बाह्रबिसे नगरपालिकाले १५ लाख रुपैया , बलेफी गाउँपालिकाले ५ लाख,भोटेकोशी गाउँपालिकाले १० लाख रुपैया , त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख र जुगल गाउँपालिकाले ३ लाख रुपैया गरि जम्मा ४३ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको बताइएको छ ।
दुखको घडीमा एकले अर्कोलाई सहयोग गर्नु नै मानवीय धर्म र कर्म भएको हुँदा आफूहरुले सहयोग गर्ने निर्णय गरेको बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले बताउनुभयो ।
मानवीय भावनासँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको सल्लाह मुताविक सहयोग गर्ने निर्णय गरेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाको भनाइ छ ।
प्राकृतिक विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मलहम लगाउनु पर्छ भन्ने भावले सहयोग गर्ने निर्णय गरेको बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउनुभयो ।
भूकम्प पिडितहरुलाई हामी साथमा छौ भन्ने महसुस गराउन स्थानिय तहले सहयोग गर्ने निर्णय गरेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले बताउनु भयो ।
शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परि अहिलेसम्म १५७ जनाको मृत्यु भइसकेको छ भने १६० भन्दा बढी घाइते भएका छन् ।