प्रहरीको वृक्षरोपणले हजार सिंढी क्षेत्रमा थप वसन्तको आभास हुने ।
प्रहरी दिवसको उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले वृक्षरोपण गरेको छ ।
६८ औं प्रहरी दिवसको अवसर पारेर सदरमुकाम चौतारास्थित विभिन्न मठमन्दिरमा सरसफाई गर्दै आएको प्रहरीले विहीबार बुद्धपार्क जाने हजार सिंढीको खाली जमिनमा वृक्षरोपण गरेको हो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, एसपी बालनरसिंह राणा, चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, नगर कार्यपालिका सदस्य सानुमाया गुरुङ रेडक्रस महामन्त्री कमलचरण कक्षपति, नगर महिला सञ्जालकी सल्लाहकार मिना नेपाल, सचिव तारादेवी राना, मिना थापा लगायत प्रहरीको उपस्थिति रहेको थियो ।
पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको बुद्धपार्क र हजार सिंढी पछिल्लोपटक आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको छ । बुद्धपार्क पुग्नका लागि वैकल्पिक बाटोको रुपमा निर्माण थालिएको सिंढी निर्माण कार्य सम्पन्न गर्नका लागि यो वर्ष ४ करोड बराबरको ठेक्का प्रकृया सम्पन्न भइसकेको बताइएको छ । सिंढीको बीचमा रहेको भागमा प्रहरीको सकृयतामा गरिएको वृक्षरोपणले सिंढीलाई थप आकर्षित बनाउने विश्वास गरिएको छ ।