सिन्धुपाल्चोकको सुकेटेमा चार्जिङ स्टेशन सञ्चालनमा
चौतारा ।
सिन्धुपाल्चोकको पर्यटकीय स्थल सुकुटेमा विद्युतीय सवारी साधनहरुका लागि विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा आएको छ ।
सुकुटेका होटल व्यावसायी रामचन्द्र खडकाले सिन्धुपाल्चोकमा नै पहिलो पटक विद्युतीय सवारी साधानहरुका लागि विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा ल्याएका हुन् ।
सुकुटे पेट्रोल पम्प अगाडि रहेको सुकुटे रिभर भ्यु नेपाली भान्सा घर नजिकै विद्युती चार्जिङ स्टेशन राखिएको छ ।
पछिल्लो समय विद्युतीय भाडाका सवारी साधानहरु सञ्चालन बढेपछि खडकाले आफ्नै लगानीमा चार्जिङ स्टेशन स्थापना गरेका हुन् ।
एक घण्टा भित्र फुल चार्ज हुने र प्राधिकरणले तोकीएको विद्युत शुल्क अनुसार नै चार्ज गरेबापत शुल्क लिने गरिएको खडकाले बताए । जिल्लामा नै पहिलो पटक चार्जिङ स्टेशन सञ्चालनमा आएपछि सिन्धुपाल्चोक हुदै दोलखासम्म जाने भाडा तथा निजी सवारी सञ्चालकहरु खुसी भएका छन् ।
त्यस्तै सदरमुकाम चौताराबाट हाल भडाका ८ वटा विद्युतीय सवारी साधानहरु सञ्चारलनमा छन् । सुखेटेमा सञ्चालित विद्युतीय चार्जिङ स्टेशन यी गाडीका लागि पनि पायक पर्ने बताइन्छ ।
विद्युतीय सवारी साधानहरुका लागि विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा आए पनि प्राधिकरणले लापरवाही रुपमा पटक पटक विना सूचना विद्युती आपुर्ती बन्द गर्दा भने समस्या भएको खडकाले बताए ।
( तस्वीर : पत्रकार दिनेश थापा )