चार महिनादेखि तातोपानी भन्सारमा रासायनिक मल अलपत्र

सिन्धुपाल्चोक । ल्हासामा सुन छ कान मेरो बुच्चे भने जस्तै सिन्धुपाल्चोक तातोपानी भन्सार कार्यालयमा विगत झण्डै ४ महिनादेखि टनका टन मल थन्किएको छ तर त्यही सिन्धुपाल्चोकका किसान भने मल अभावमा भौतारिन वाध्य छन् ।उनीहरु एक किलो मलका लागि घण्टौं लाइनमा बस्न वाध्य भएका हुन् ।
धान र कोदो रोप्ने मुख्य सिजनमा रासायनिक मल नपाएर छटपाएका किसानहरु दुखजिलो गरेर रोपेको त्यही धान र कोदोको बढ्दो बालिमा मल हाल्नका लागि यतिखेर घण्टौं भदौरे घाममा उभिनु परेको छ । उनीहरु मल खोज्दै डिपो, केन्द्र र इजाजत प्राप्त सहकारी संस्थातिर धाउन थालेका हुन् ।
यता तातोपानी भन्सार यार्डमा गत जेठ महिनामा नै आइपुेको झण्डै ४ टन युरिया मल थन्केर बसेको भन्सार कार्यालयले जनाएको छ । समयमै भित्रिएको मल चेकजाँच भएर पठाउन नसक्दा चीनबाट आयात भए गरेका अन्य सामाग्री ठाउँ अभावका कारण गोदाम गरेर चेकजाँच गर्न पनि अप्ठ्यारो भएको भन्सार प्रमुख दयानन्द केसी बताउँछन् । कृषि मन्त्रालयको सम्झौतामा कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका लागि नमस्ते ग्लोबल लजिस्टिक र सिल्क ट्रान्सर्पोट कम्पनीमार्फत चीनबाट मल नेपाल भित्रिएको थियो । सरकार र आयातकर्ताको लापरवाहीका कारण कागजी प्रकृया र सिफारिसपत्र पेश नहुँदा किसानको खेतबारीमा पुग्नु पर्ने मल भन्सार यार्डमा नै थन्किनु परेको बताइएको छ ।
कृषि मन्त्रालयबाट सिफारिस नआएकै कारण जाँचपास नभई मल गोदाममा रहेको भन्सार प्रमुख केसीको भनाइछ । मन्त्रालयको सिफारिस आउने वित्तिक्कै जाँचपास भएर मल राजधानी काठमाण्डौं भित्रिने उनको कथनछ ।
धान र कोदो रोप्न समयमा मल नपाएर गाईबस्तुको मलको भर परेका सिन्धुपाल्चोकका किसानहरुमा बालीका लागि फेरि गाईबस्तुकै मलको भर पर्नु पर्ने हो कि भन्ने चिन्ता चुलिँदै गएको छ । उनीहरु युरिया मलका लागि सिन्धुपाल्चोक लगायत काभ्रेमा मल खोजि गर्दै हिड्न थालेका छन् । स्मरणीय त के भने गत वर्ष पनि चीनबाट नेपाल भित्रिएको रासायनिक मल झण्डै पाँच महिना भन्सारको गोदाममा नै थन्किएको थियो । झन्झटिलो प्रकृया र फितलो नियमनका कारण यसपालि पनि मल किसानसम्म पुग्न नसकि भन्सार गोदाममा नै थन्कनु परेको बताइएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्