कमरेडहरु पुरानै घर फर्कन कम्मर कस्दै
नयाँ घरको भविष्य अन्यौल र अन्धकार देख्न थालेपछि सिन्धुपाल्चोकका कम्रेडहरु पुरानै नै घरमा फर्कन कम्मर कसेर लागेका छन् । नयाँ घर एकीकृत समाजवादीमा रहेर आफ्नो राजनीतिक भविष्य नै भद्रगोल हुने ठहर गर्दै पूर्व एमालेका नेता कार्यकर्ताहरु पुरानै घर एमालेको ढोका ढकढक्याउन पुगेका हुन् ।
एमाले विभाजनपछि एकीकृत समाजवादी बनेका सिन्धुपाल्चोकका झण्डै एक दर्जन नेता तथा कार्यकर्ता पुरानै घर एमालेमा फर्कन लागेको स्रोतको दावी छ । फर्कन लागेकाहरुमा पूर्व सांसद, समाजवादीका केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज सुभाष कर्माचार्य, गम्भीरलाल श्रेष्ठ, उपेन्द्र तामाङ, शिवराम भट्टराइ, सचिव दीपक नेपाल, उपसचिव रवि भण्डारी लगायत रहेको बताइन्छ । यी नेता र कार्यकर्ताहरुले साउन २० गते गृह प्रवेशका लागि साइत जुराएको जनआस्थालाई खबर प्राप्त भएको छ । सो दिन मिले एमाले अध्यक्ष केपी ओलीबाट, नमिले महासचिव शंकर पोखरेलको हातबाट भए पनि टिकोटालो गरि पुरानो घर भित्रिने योजना रहेको बताइन्छ । झण्डै १७ महिना अघि एमालेबाट समाजवादीमा इश्वरी श्रेष्ठ, यज्ञ सापकोटा, सीता थापा, दीपक नेपाल, फइन्द्र तामाङ लगायतका नेताकार्यतकर्ताको अगुवाई गदै समाजवदी छिरेका कर्माचार्य पुन एमालेमा फर्कने भएपछि सिन्धुपाल्चोक एमाले वृत्तमा खुशीयाली छाएको छ भने समाजवादीमा भने धक्क महसुस भएको छ । एमालेमा रहँदा विगत ३० वर्षदेखि एकछत्र दवाव र प्रभाव पार्न सफल कर्माचार्यको पुनरागमनले खिइदै गएको सिन्धु एमालेमा नयाँ तरंग आउने विश्वास गरिएको छ । कर्माचार्यको अभावमा टुहरो जस्तै बनेको सिन्धु एमालेले कर्माचार्य लगायत समाजवादीमा रहेकाहरुलाई फर्काउन न्वारणदेखिको बल निकाले बताइन्छ । खासगरि एमाले जिल्ला अध्यक्ष कमल नेपालले कर्माचार्यको उपस्थिति विना सिन्धु एमाले कमजोर भएको महसुस गर्न थालेपछि कर्माचार्यलाई भित्राउन बलजोड गरेका थिए । कुनै बेला माधव नेपालकै पक्षधर रहेका कर्माचार्य एमाले चिरा परेपछि नेपाल नेतृत्वको समाजवादीमा नरहेर एमालेमा नै रहेका थिए । उनले धेरैपछि मात्र समाजवादी प्रवेश गरेका थिए । जहाँ रहे पनि आफ्नो वर्चस्व कायम गर्ने स्वभावका कर्माचार्य समाजवादीमा प्रवेश गरेपछि भने निस्तेज भएका थिए । आफ्नो हैकम पार्टीभित्र चल्न छोडेपछि कर्माचार्यले विशेष जिम्मेवारीसहित सिन्धुको भूगोलबाट काठमाण्डौको भूगोलमा सारिदिन प्रदेश कमिटीमा विन्तिपत्र पनि चढाएको थियो । खासगरि जिल्लाबाट प्रतिधित्व गर्ने केही केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष लगायतका जत्थासँग उनको अन्तरविरोध बढ्दै गइरहेको पनि थियो । यही अन्तरविरोध थाम्न नसकेर उनी पुरानै घरको दैलो ढकढक्याउन पुगेको स्रोतको दावी छ । पुरानै घर फर्कन जोखना हेर्दै गरेका उनका लागि सावन ८ गते बसेको एमाले जिल्ला कमिटिको बैठक बरदान नै सावित भयो । बैठक बस्न चौतारा आइपुगेका जिल्ला इञ्चार्ज गोकुल बास्कोटा उनकै होटल अरनिको रिर्सोटमा बसेपछि आफू एमाले फर्कने प्रस्ताव कर्माचार्यले राखेको र सोही अनुसार इञ्चार्ज बास्कोटाले चाँजापाँजो मिलाएको बताइन्छ । पुरानै घर फर्के पनि उनको प्रभाव पहिलाको जस्तो एमालेमा नरहने एमाले वृत्तमा पनि चर्चा चल्न थालेको छ । कतिपय एमाले जिल्ला नेताहरुले त उनको पुनारागमनलाई पटक्कै मन पराएको पनि छैन । उनीहरुले कर्माचार्यलाई घरी यता घरी उता गर्ने ढुलमुले पनि भन्न थालेका छन् ।
आफू लगायतका केही नेता कार्यकर्ता सावन २० गते एमालेमा फर्कने भएपछि ठूलै झुण्ड बनाएर प्रवेश गर्ने हेतुले उनी लगायतका प्रवेश गर्ने टोलीले अहिले समाजवदीका केन्द्रीय सदस्य भगवती नेपाल, इन्द्रमाया गुरुङ लगायतका नेता कार्यकर्तालाई फकाइफुलाई गर्न थालेको बुझिन आएको छ । जसलाई प्रयोग गर्दा जो फकिन्छ, सोही अनुसार फकाउन सुरु गरेको स्रोतको दावी छ । स्रोतको अनुसार केन्द्रीय सदस्य नेपाललाई एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नै फोन गरेर फकाएका छन् । यता कर्माचार्य लगायतले समाजवादी त्याग गर्ने प्रपञ्च रचिएपछि समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कर्माचार्य लगायत केही नेताहरुलाई बोलाएर छलफल गरिएको जनआस्थालाई खबर प्राप्त भएको छ । छलफलमा कर्माचार्यले माधव नेपाललाई समेत चक्मा दिंदै आफू समाजवादीमै रहने र एमाले प्रवेश हुने बजार हल्ला मात्र भएको भनेर ढाटेको छलफलमा सहभागि एक नेताले जानकारी दिए । ती नेताका अनुसार अरुको सवालमा भन्न नसक्ने तर कर्माचार्यको सवालमा भने शतप्रतिशत एमालेमा प्रवेश गर्ने तयारी रहेको छ । कर्माचार्य लगायतको टोलिले एमालेभित्रका १० भाइ पक्षधरका भइकन पनि सिन्धुपाल्चोक समाजवादीमा रहेका जिल्लाका नेता कार्यकर्तालाई फकाउन थाले पनि विगतमा केपी ओली पक्षधर भएका तर समाजवादीमा रहेकाहरुलाई भने आँट गर्न सकेका छैनन् । सो अनुसार केन्द्रीय सदस्य सोम सापकोटा, जिल्ला अध्यक्ष नवराज पौड्याल लगायतका नेताकार्यकर्ता समाजवादीमा नै रहने देखिन्छ । केन्द्रीय सदस्य सोम सापकोटाले अरुलाई फकाइफुलाई गरे पनि आफू समाजवादी रहने बताए । उनले केही साथीहरु एमालेमा जान खुट्टो उचालिरहेको स्वीकार गर्दै सकेसम्म समाजवादीमा नै ती साथीहरुलाई राखि राख्न आफू मरेर लाग्ने पनि बताए । जिल्लामा कुनै बेला केपी पक्षधर खोज्न लालटिन बाल्नु पर्ने अवस्था रहेको बेला सापकोटा मात्र केपी पक्षधर हुँ भन्दै छाति फुलाएर हिड्ने गर्थे । एमाले चिरा परेपछि केपीलाई छोडेर माधव नेपाललाई साथ दिई समाजवादीमा प्रवेश गर्ने सिन्धुका उनी नै पहिलो नेता पनि हुन् । एमालेमा रहँदा उनको प्रभाव पनि पार्टीभित्र उल्लेख्य रहेको थियो ।
कमरेडहरु पुरानै घर फर्कन कम्मर कस्दै
