धान दिवस: दिनभरि खेतमा आलि लगाउदै, बाउसे गर्दै मेयर सापकोटा

हिलाम्मे खेतमा मेयर सापकोटाले ट्याक्टर चलाए आलि लगाए । फेरि धानको बीउ लिन आफै ब्याडमा कुदे अनि धान रोपे पनि । मेलो अगाडि बढ्दै गयो । तर मेयर सापकोटाको मेलो भने टुँगिएन । न त थकानको कुनै महसुस नै गरे उनले । बरु उल्टै दतचित्त भएर धान रोपाँइमा लागिरहे ।


चौतारा । उमेरको गणितले ६४ को उकालो लाग्दै गरेको एउटा बुढोउन्मुख शरीर । तर श्रम र जाँगरको गणितले भर्खर २० को उकालो लाग्दै गरेको उर्जावान र कर्मठ लाठे । त्यसैले झण्डै मध्यान्ह्र १२ बजे खेतमा पसेका उनी ४ बजे मात्र हिलो टकटक्याउँदै निस्के । खेतमा पसेका उनले नाचगान गरेनन्, न कि रमिते भएर हिलो छ्यापाछ्याप गर्दै गरेका ठेट्ना, ठेट्नीहरुको रमिता नै हेरे । बरु उल्टै ट्याक्टरले खेत जोते, कोदालीले आलि लगाए अनि धानका मसिना, हरिया विरुवाहरुलाई छुपुछुपु त्यही हिलाम्मे खेतमा रोपे । उनी अर्थात चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा ।
शुक्रबार देशभरि नै राष्ट्रिय धान दिवस मनाइरहँदा चौतारा साँगाचोकगढी नगरपालिकाले कुविण्डे दसमुरे खेतमा धान रापाई कार्यक्रम तय गरेको थियो । कार्यक्रममा केही स्थानीय, सञ्चारकर्मी, जनप्रतिनिधि र कर्मचारीको उपस्थिति रहेको थियो । हिलाम्मे खेतमा मेयर सापकोटाले ट्याक्टर चलाए आलि लगाए । फेरि धानको बीउ लिन आफै ब्याडमा कुदे अनि धान रोपे पनि । मेलो अगाडि बढ्दै गयो । तर मेयर सापकोटाको मेलो भने टुँगिएन । न त थकानको कुनै महसुस नै गरे उनले । बरु उल्टै दतचित्त भएर धान रोपाँइमा लागिरहे ।
धान दिवस केवल औपचारितामा सकाउनु मात्र हाम्रो उदेश्य हैन, वास्तविक किसानसँग दिनभरि बसेर काममा सघाएर धान दिवसलाई धुमधामका साथ मनाउनु नै धान दिवसको खास महत्व हो मेयर सापकोटाले भने । हुन पनि यतिखेर कतिपय नेता, मन्त्री र जनप्रतिधिहरुले धान दिवसलाई डेमोको रुपमा प्रस्तुत गर्दै रोपाईको नाटक गरिरहेका छन् । उनीहरु एकैछिन हिलाम्मे खेतमा पस्ने अनि धान रोपे जस्तै गर्ने र लगत्तै फर्कन गरेका थुप्रै दृष्टान्त पनि छन् । यदपी मेयर सापकोटाले भने त्यस्तो गरेनन् । बरु उल्टै दिनभरि मेलो सारि रहे ।
कुनै पनि दिवस मनाउनुको अर्थलाई नौटङ्की गरेर ब्यर्थ बनाउनु नहुने मेयर सापकोटाको भनाइछ । दिवसलाई रचनात्मक र सिर्जनात्मक बनाउनु पर्ने उनको राय छ । म पनि त किसान हुँ मेयर सापकोटाले भने त्यसैले मलाई किसानका हरेक समस्या र मर्म थाह छ ।
सायद किसानका हरेक मर्म र समस्या पहिचान भएकै कारणले होला चौतारा साँगाचोकगढी नगरपालिकाको यसपटकको नीति तथा कार्यक्रममा कृषिलाई अह्म प्राथमिकता दिइएको छ । उनले नगर गौरवको रुपमा कुनै पनि मठमन्दिर या गुम्बा निर्माण गर्ने योजना अघि सारेका छैनन् । न कि भ्यूउ टावर वा अन्य यस्तै उस्तै विलासिता र सौन्दर्य संरचनालाई नै नगरगौरवको आयोजनाको रुपमा प्रस्तुत गरेका छन् । उनले त नीति कार्यक्रममा चिस्यान केन्द्रलाई नगर गौरवको आयोजनाको रुपमा अघि सारेका छन् । किसानहरुलाई समयमै मल उपलव्ध गराउने सन्दर्भ र योजनालाई अघि सारेका छन् अनि किसानको उत्पादनलाई बजारीकरण गर्दै नगरले नै किन्ने योजनालाई कार्यान्वयन गर्दै यसको दीगोपनलाई व्यवस्थित बनाउने योजनालाई नगरगौरवको आयोजनाको रुपमा प्रस्तुत गरेका छन् । त्यसैले उनी भन्छन् पहिला जनताको स्वास्थ्य, शिक्षा र आयआर्जनमा पहुँच र सुधार गर्ने अनि मात्र अन्य विलासिता र सौन्दर्यका संरचना निर्माणमा लगानी गर्ने ।

सिफारिस

प्रतिकृया दिनुहोस्