नयाँ वर्षको पुर्वसन्ध्यामा कालिञ्चोक, दोलखा भीमेश्वर, जिरी र शैलुङको भ्रमणमा आउने पर्यटकको चाप बढ्न थालेसँगै दोलखाका होटल व्यवसायीमा नयाँ आशा पलाएको छ ।
दोलखा । नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकको चलपहल सुरु भएको छ । नयाँ बर्ष २०८० काे पूर्व सन्ध्यामा धार्मिक एवम् पर्यटकीय स्थल दोलखाका होटलहरु खचाखच भरिन थालेका छन् ।
विशेष गरी कालिञ्चोकको कुरी, सदरमुकाम चरिकोट, पर्यटकीय नगरी जिरी र शैलुङ भ्रमणमा आउने पर्यटकले होटहरु खचाखच भरिएका हुन् ।
नयाँ वर्ष मनाउन अधिकांश पर्यटकहरु आजै दोलखा आएका छन् । कालिञ्चोक कुरीको होटल व्यवसायी संघका पुर्व अध्यक्ष एवम् होटल व्यवसायी मकर पाख्रिनले नयाँ वर्षका लागि कालिञ्चोकका अधिकांश होटल बुकिङ भएको बताउनुभएको छ । उहाँका अनुसार होटल अग्रिम बुकिङ नगरी नयाँ वर्षको दिन कालिञ्चोकमा बास बस्नेगरी पर्यटक पुगेमा बास नपाउने अवस्था रहेको छ ।
कुरीमा होटल सुनापाती सञ्चालन गरिरहेका हरि ओलीले नयाँ वर्षका लागि कुरीका फाट्टफुट्ट बाहेक अधिकांश होटल बुकिङ भईसकेको बताउनुभयो । यस्तै कालिञ्चोक केवुलकार दर्शन प्रालिका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले नयाँ वर्षमा कालिञ्चोक क्षेत्रमा उत्साहजक रुपमा पर्यटक भित्रिने अपेक्षा गरिएको बताउनुभयो । उहाँका अनुसार नयाँ वर्षको दिन र भोलिपल्ट दुई–दुई हजार पर्यटकले केवुलकार चढेर कालिञ्चोकको दर्शन गर्ने अपेक्षा गरिएको छ । केवुलकारको एक दिनमा दुई हजार पर्यटक मात्रै ओसारपसार गर्ने क्षमता भएकाले सोही अनुसार तयारी गरिएको छ । बाँकी सबै पर्यटकले हिँडेर कालिञ्चोक मन्दिरकाु दर्शन गर्नुपर्नेछ । नयाँ वर्ष सुरु हुनै लाग्दा दोलखामा आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ । पछिल्लो समय दोलखा आन्तरिक पर्यटकका लागि प्रमुख गन्तव्य बन्दै गएको हो । जसका कारण नयाँ वर्षमा भ्रमणका लागि आउने पर्यटकले अग्रिम होटल बुकिङ गर्नुपर्ने अवस्था छ ।
चरिकोटमा किस्मत होटलका सञ्चाल गरिरहेका शान्त जिरेलले नयाँ वर्षको पुर्वसन्ध्यामा दोलखामा पर्यटकको चाप बढ्न थालेको बताउनुभयो । उहाँका अनुसार दोलखामा मछिन्द्रनाथको रथयात्रा पनि यही बेला भएको र नयाँ वर्षपनि आउनै लागेकाले चरिकोटमा पर्यटकको चाप बढ्न थालेको हो । नयाँ वर्षको पुर्वसन्धानमा चरिकोटमा पनि होटलहरु धमाधम बुकिङ हुन थालेका छन् । नयाँ वर्षको पुर्वसन्ध्यामा कालिञ्चोक, दोलखा भीमेश्वर, जिरी र शैलुङको भ्रमणमा आउने पर्यटकको चाप बढ्न थालेसँगै दोलखाका होटल व्यवसायीमा नयाँ आशा पलाएको छ । कोरोना महामारी र आर्थिक मन्दिका कारण थलिएका दोलखाका होटल व्यवसायीमा नयाँ वर्षमा आउने पर्यटकको संख्या बद्धि हुन थालेसँगै उत्साह थपिन थालेको हो । विगत केहि बर्ष यता दोलखामा नयाँ बर्ष मनाउन आउने पर्यटकहरुको सँख्यामा बृद्धि हुने गरेको छ ।