एज ब्राउजर प्रयोगकर्तालाई गिफ्ट

काठमाडौं । इन्टरनेट एक्स्प्लोररको विलयसँगै नयाँ लोगो, नाम र संकल्पसहित उदाएको माइक्रोसफ्ट एज पछिल्लाे समय चर्चामा छ । एआई मोडेलमा आधारित च्याटजीपीटीको फिचरलाई कम्पनीले बिङमा उपयोग गरेको छ ।

यही फिचरका कारण पनि क्रोम प्रयोग गर्ने प्रयोगकर्ता ‘एज’ मा र गुगल प्रयोग गर्ने बिङ एआई फिचरमा स्थानान्तर हुन थालेका छन् । कम्पनीले हाल प्रयोगकर्तालाई आफ्नो सर्च इन्जिनप्रति आकर्षित गराउन विभिन्न कामहरू गरिरहेको छ ।

पछिल्लो समय माइक्रोसफ्टले आईओएसमा एज ब्राउजरका लागि नयाँ विज्ञापन सुरु गरेको थियो । सो विज्ञापन आईओएस प्लेटफर्ममा आउटलुक एपका प्रयोगकर्ताहरूलाई लक्षित गरी बनाइएको थियो ।

अहिले भने माइक्रोसफ्टले एज ब्राउजरलाई प्रोत्साहन गर्न विन्डोज प्लेटफर्ममा पनि नयाँ विज्ञापन अभियान सुरु गरेको छ । माइक्रोसफ्टले विन्डोज १० र विन्डोज ११ का प्रयोगकर्तालाई आकर्षित गर्न नयाँ फिचर परीक्षण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

विन्डोज प्रयोगकर्ताले एज ब्राउजरको विज्ञापन देख्नु नौलो कुरा होइन । तर, यो नयाँ विज्ञापन नीतिअन्तर्गत जो प्रयोगकर्ता अन्य ब्राउजरको सट्टा एज प्रयोग गर्छन् उनीहरूले गिफ्ट पाउनेछन् ।

यसरी अन्य कुनै ब्राउजरको साटो माइक्रोसफ्ट एज प्रयोग गर्ने प्रयोगकर्ताले पैसा पाउने लगायत अन्य नयाँ फिचरहरू प्रयोग गर्न पाउने कम्पनीको भनाइ छ ।

प्रयोगकर्ताले एज ब्राउजरमार्फत क्रोम ब्राउजर डाउनलोड गर्न खोज्दा क्रोम ब्राउजरभन्दा एज ब्राउजर उत्कृष्ट रहेको र यसले क्रोमले जस्तै काम गर्छ भन्ने मेसेज पपअप हुनेगर्छ ।

यही विज्ञापनमा थप गर्दै कम्पनीले अब भने गिफ्ट दिने विज्ञापन ल्याउन लागेको हो, जसमा प्रयोगकर्ताले क्रोम ब्राउजर डाउनलोड गर्न खोज्दा स्क्रिनमा पप मेसेज आउँछ ।

उक्त पपअपमा ‘ब्राउज सेक्योर्ली नाउ’ भन्ने अप्सनमा क्लिक गरिसकेपछि विभिन्न गिफ्टकार्ड पाइने कम्पनीले बताएको छ ।

प्रयोगकर्ताले लगातार तीन दिनसम्म एजबार प्रयोग गर्दा विभिन्न गिफ्टकार्डहरू प्राप्त गर्नसक्नेछन् । एक हप्तामा तीन दिन लगातार एजबार प्रयोग गर्दा प्रयोगकर्ताले ३१०० पोइन्ट प्राप्त गर्नेछन् ।

यो अफर एकजना व्यक्ति वा एउटा अकाउन्टबाट सात दिनसम्मका लागि मात्र प्राप्त गर्न सकिनेछ ।

यो योजना कहिलेबाट लागू हुन्छ भन्ने कुरा खुलाइएको छैन । साथै उक्त रिवार्ड पोइन्ट के कुरामा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा पनि कुनै जानकारी बाहिर आइसकेको छैन ।

यसका साथै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न एज ब्राउजरमा पनि निःशुल्क भीपीएन सेवा ल्याउने काम पनि गरिरहेको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्