रहर लाग्दो मात्र हैन, डर लाग्दो भूत झरना

चौतारा । विज्ञानले संसारमा भूतको अस्तित्व छैन भन्छन् तर नेपाली समाजमा भने भूतको अस्तित्व हुन्छ र कतिपय मानिसहरुले देखेको पनि दावी गर्छन् । यदपी सिन्धुपाल्चोक जिल्लामा भने एउटा यस्तो छाँगा छ, जसको नामाकरण नै भूत राखिएको छ । जुन झरनाा डरलाग्दो मात्र होईन, रहर लाग्दो र मोहक पनि छ ।
सिन्धुपाल्चोक जिल्लाको सदरमूकाम चौतारा साँगाचोकगढी नगरपालिका वडा न ७ मा अवस्थित यो छाँगोको सौन्दर्यको वयान गरेरै साध्यै नहुने भर्खरै छाँगा पुगेर आएका चौतारा साँगाचोकगढी ५ का सन्तोष केसी बताउँछन् । सदरमूकाम चौताराबाट करिब सात किलोमिटरको दुरीमा रहेको यो छाँगामा जानेहरुको अहिले लर्को नै लाग्ने गरेको छ ।
छाँगामा बनझाँक्री नाच्ने गर्थ्यो
वडा न ७ को तल्लो खानीगाँउबाट करिब ३० मिनेट पैदल हिडेपछि पुग्न सकिने भूत छाँगामा वनझाँक्रीको नाच हुने खानी गाउँकै पण्डित बाबुराम अधिकारी बताउँछन् । आफ्ना पिता र हजुरबुबाले यो ठाउँमा बनझाँक्री नाच्ने गरेको देखेको उनको कथन छ । पहेँलो कपाल ९ जगल्टा ० पैताला पछाडि फर्केको, साना साना वनझाँग्री र वनझाँक्रिनी नाच्दै गरेको आफ्ना पिता नरहरी अधिकारीले प्रत्यक्ष देखेको आफूलाई बताएको उनले जानकारी दिए ।
कतिपयले ती बनझाँक्रीबाट तन्त्रमन्त्र प्राप्त गरेको पनि पण्डित अधिकारीको बिश्वास छ । अहिले पनि उक्त स्थानमा प्रत्यक भदौ महिनाको सोमबार र बिहिबार झाँक्रीद्वारा अर्चना गर्ने चलन छ । पहराको खोँच र मानव बस्तीबाट टाढा, एकान्त ठाउँमा, घना जंगलको बीचमा रहेको र डललाग्दो भएको कारण यो छाँगाको नाम भूत छाँगा रहेको हुन सक्ने इन्द्रलोचन धिताल बताउँछन् । पहिला पहिला त्यहाँबाट भूत निस्कन्छ भन्ने सुनेको धिताल बताउँछन् ।
वरिपरि हरिया पहाडी जङ्गलले घेरिएको कोप्चो ठाउँ, झण्डै ८० फिटमाथिबाट खसेको पानीको फोहोरा, अलिपर सानो बगर, नजिकको पहरामा कतै कतै मान्छे अट्ने सानासाना गुफाले जो कसैलाई पनि आनन्दित तुल्याउँछ नै । अझै यो ठाउँलाई व्यवस्थि गर्न सकियो भने आन्तरिक र बह्य पर्यटकको गन्तव्य बन्न सक्ने चौतारा साँगाचोकगढी ५ का रमेश सापकोटा बताउँछन् । हामी झरना हेर्न कता कता दौडिन्छौं सापकोटाले भने तर यही चौतारामा नै यति आकर्षक झरना ओझेल परेको छ ।
हुन पनि प्रचारप्रसार नहुँदा यो झरणा ओझलमा परेको छ । मानवबस्तीबाट टाढा रहेको यो र झारणाको सौन्दर्य रसस्वादन गर्नेहरु औंलामा गन्न सकिन्छ । पछिल्लोपटक झरनाको बारेमा प्रचारप्रसार हुन थालेपछि भने यहाँ जानेहरुको लर्को नै लाग्न थालेको हो ।
छाँगा क्षेत्रलाई व्यवस्थित र थप आकर्षण बनाउन आफूले सक्दो प्रयास गर्ने बागमति प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्री युवारज दुलाल बताउँछन् ।

सिफारिस

प्रतिकृया दिनुहोस्