सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–५ तौथली गैरीगाउँका हीरालाल श्रेष्ठ ‘आनन्द’ मृत्युदण्ड जितेर स्वदेश फर्किन सफल भए । उनी स्वदेश मात्र फर्किएनन् ,गुमाएको जागिर पनि पाए । ०४५ वैशाख २५ गते बाघ भैरव प्राथमिक विद्यालयमा शिक्षक पेशामा प्रपेश गरेका श्रेष्ठले २०४८ सालमा स्थायी शिक्षकमा नियुक्त हुने मौका पाएका थिए । उनको चेतना सानैदेखि विद्रोही थियो । त्यसैले स्थायी जागिर छोडेर २०५५ सालमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा होमिए ।
२३ वर्षपछि पढाउन कक्षाकोठा छिर्दा श्रेष्ठको आँसु थामिएन
नरम स्वभाव र कुशल संगठक भएकोले छोटो समयमा उनी माओवादी छापामारको कमान्डर भए । माओवादी जनयुद्ध चर्किँदै गर्दा श्रेष्ठ चीनको स्वशासित क्षेत्र तिब्बतको खासाआसपास छापामारको एक समूह लिएर बस्थे । उनको मुख्य काम युद्ध सामग्रीको बन्दोबस्ती गर्नु थियो । खासामा रहेका नेपाली मूलका व्यापारी र तिब्बतीयनसँग मिलेर श्रेष्ठले पार्टीले दिएको जिम्मेवारी पूरा गर्थे । ‘हाम्रो मुख्य काम भनेको जनयुद्धलाई सहयोग पुग्ने सामग्री जुटाउने थियो,’ पुरानो दिनलाई सम्झँदै उनले भने ।
श्रेष्ठलाई समयले साथ दिएन । उनको काम चिनियाँ प्रशासनले थाहा पायो । श्रेष्ठसहित चार नेपाली र तीन तिब्बतीयनलाई २०६० कात्तिक १० गते खासाबाट हतियारसहित चिनियाँ प्रहरीले गिरफ्तार गर्यो । उनसँग भोटेकोसी र बाह्रबिसेका ग्याल्जेन शेर्पा, चेङा शेर्पा र सोनमा साङ्बो शेर्पा पक्राउ परेका थिए । सुरुमा सबैलाई सिँगात्से जेलमा लगियो । दुई वर्ष सिँगात्सेमा बिताएपछि चिनियाँ सरकारले उनलाई मृत्युदण्डको फैसला सुनायो ।
लगत्तै उनलाई ल्हासा जेल पुर्याइयो । त्यसवेला चिनियाँ अदालतले श्रेष्ठसहित ग्याल्जेन शेर्पा र तीनैजना तिब्बतियनलाई मृत्युदण्डको फैसला सुनाएको थियो । दुई वर्ष जेलजीवन बिताएर सोनाम साङ्बो शेर्पा भोटेकोसी मार्मिङ फर्केपछि साथीहरूलाई मृत्युदण्डको सजाय सुनाएको खबर माओवादी पार्टीका अध्यक्ष प्रचण्डसम्म आइपुग्यो । प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टी र सरकारलाई चिठी लेखेर मृत्युदण्ड रोक्न आग्रह गरे ।
माओवादीको अथक प्रयासले २०६५ चैत १५ गते मृत्युदण्डलाई जितेर पाँच वर्ष पाँच महिना पाँच दिनको जेलजीवन बिताएर श्रेष्ठसहितको टोली स्वदेश फर्कियो । नेपाल आएपछि पनि श्रेष्ठले धेरै संघर्ष गरे । पार्टी शान्ति प्रक्रियामा आइसकेको थियो । लामो समय जेलजीवन बिताएर फर्केका उनको पारिवारिक अवस्था डामाडोल थियो । उनी शारीरिक र मानसिक दुवै हिसाबले कमजोर भए । तर, उनले कहिल्यै हरेस खाएनन् ।
सरकारैपिच्छे पटकपटक उनी आफ्नो पुरानो शिक्षण पेसा जोड्न लागिरहे । अन्ततः उनी सफल भइछाडे । शिक्षा मन्त्रालयको निर्देशन, जिल्ला शिक्षा समन्वय इकाइ र त्रिपुरासुन्दरी गाउँपालिका शिक्षा विभागको निर्णयबाट १५ साउनदेखि श्रेष्ठ पुनः शिक्षण पेसामा फर्किएका छन् । ‘आइतबार पढाउन कक्षामा पस्दा खुसीको सीमा रहेन,’ उनले भने, ‘त्यति नै हिजोका संघर्ष सम्झेर रोए पनि ।’ जीवन संघर्षको लामो अनुभवसहित बालबालिकालाई गुणस्तर शिक्षा दिने उनले बताए ।
रामकृष्ण थापा \नयाँ पत्रिकाबाट