चौतारा । निर्वाचित भएर पदभार ग्रहण गरे लगत्तै अधिकाँश पालिका प्रमुखहरुले वितरणमुखी निर्णयहरु गर्न थालेका छन् । कतै ६० वर्ष कटेका विदुरहरुलाई भत्ता दिने त कतै एकल पुरुषहरुलाई भत्ता दिने, त कतै अविहित महिला र किरियापुत्रीलाई भत्ता दिने निर्णय गर्न थालेका हुन् ।

वितरणमुखी निर्णयले लोकप्रियता हासिल गर्ने भएकोले अधिकाँश नवनिर्वाचित स्थानीय सरकार प्रमुखहरु लालयित हुँदै यस्ता निर्णय गरे पनि सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजु लामाले भने उत्पादनमुखी निर्णय गरेर उदारहणीय बनेका छन् ।

वितरमुखी निर्णय गरेर लोकप्रियता कमाउनु भन्दा रोजगार र आयआर्जनमार्फत पालिकालाई समृद्ध बनउाने उदेश्यले अध्यक्ष लामाले पहिलो निर्णयमा उत्पादनलाई जोड दिएका हुन् ।

अध्यक्ष लामाले पदभार ग्रहणसँगै कृषिमा आधुनिकीकरण गर्दै रोजगारीको सिर्जना गर्ने पहिलो निर्णय गरे । आलुका लागि प्रख्यात लिसंखुपाखरलाई अन्य नगदे बालीसँगै फलफूल र तरकारीको उत्पादनको हब बनाउने अध्यक्ष लामाको योजना रहेको छ । सोही योजनालाई कार्यान्वयनमा ल्याउन आफूले पहिलो निर्णय नै कृषि उत्पादन वृद्धिका लागि वातावरण तयार गर्ने बताए ।

कृषि उत्पादनका लागि उपयुक्त हावापानी र माटो रहेता पनि परम्परागत खेति प्रणालीले सोचे जस्तो आम्दानी नभएको र भएको कृषि उपजको पनि बजारीकरणमा समस्या देखिएकोले कृषिमा आधुनिकीकरण गर्दै बजारीकरणका लागि पालिकाले अधिकतम पहल गर्ने अध्यक्ष लामाको भनाई छ ।

भएका युवा जनशक्ति विदेश पलायन भएकोमा चिन्ता व्यक्त गर्दै सिंचाइको राम्रो प्रवन्धसहित युवाहरुलाई कृषि पेशामा आकर्षित गर्न आगामी ५ वर्षभित्र आवश्यक बजेटको व्यवस्था गर्दै वैज्ञानिक र व्यवहारिकरुपमा उत्पादनलाई प्रोत्सान गरिने निर्णय गरेको छ ।

अध्यक्ष लामा र निर्वतमान अध्यक्ष कमल नेपाल एवम् नवनिर्वाचित उपाध्यक्ष र निर्वातमान उपाध्यक्षले पालिकाको प्रशासकीय भवनको पनि संयुक्त रुपमा शिलान्यास गरे । साथै निर्वतमान संपूर्ण पदाधिकारीको पनि औपचारिक विदाइ गरिएको छ ।
