किरियापुत्री भेटेर फर्कँदै गरेका मेयर तामाङ सिधै जेलमा

किरियापुत्री भेटेर फर्कँदै गरेका मेयर अमानसिं तामाङ सिधै जेलमा
चौतारा । सायद कसैले कल्पनासमेत गरेका थिएनन् मेयर अमानसिं तामाङ जेल जान्छन् भनेर । महाअष्टमीको दिन सारा नेपाली दसैं मनाइरहेको बेला मेयर तामाङ भने एक्कासी जेल पुगेका हुन् ।
ठूलोसिरुबारी र इर्खुका किरियापुत्री भेटेर समवेदना एवम् श्रद्धाञ्जली दिएर चौतारा फर्के लगत्तै मेयर तामाङ जिल्ला सदरमुकाम चौतारास्थित कारागारमा पुगेका हुन् ।
तर मेयर तामाङ कुनै गल्ति वा आरोप लागेर जेल गएका भने होइनन् । कारागारमा रहेका कैदी वन्दीहरुको दसैं खबर बुझ्न, उनीहरुले झेल्दै गरेका समस्या समाधान गर्न र विजया दशमी लगायत चाडपर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान गर्न मेयर तामाङ जेल पुगेका हुन् । जेलमा मेयर तामाङले शुभकामना आदनप्रदान मात्र गरेनन् । कैदी वन्दीले झेल्दै गरेका समस्याको अध्ययन गर्दै समाधान गर्ने प्रतिवद्धतासहित कैदी वन्दीहरुसँगै खान पनि खाए ।
सात जनाको क्षमता रहेको चौतारा कारागारमा हाल १४७ जना कैदी वन्दीहरु कोचिकोचि बस्नु परेको, जेल जस्तो सम्वेदनशिल क्षेत्रमा वैकल्पिक वत्तिको व्यवस्था नभएको र शौचालय लगायत सेफ्टि ट्याँकीको समस्या रहेको कैदीवन्दिहरुले गुनासा गरे ।
मेयर तामाङले विजय दशमीको शुभकामना व्यक्त गर्दै समस्या समाधानमा आफू प्रतिवद्ध रहेको जाहेर गरे । यस अघि कारागारको निरिक्षण गदै कारागारभित्र चौर निर्माणका लागि चौतारा साँगाचोकगढी नगरपालिकाको तर्फबाट आर्थिक सहयोग उपलव्ध भएको थियो । चउर निर्माण भएपछि कारागारभित्र खुलारुपले डुल्न र घाम ताप्न सहज भएको कैदीवन्दीहरुले बताए । चौर निर्माण हुनु पूर्व हामी कोठाभित्र मात्र बस्थ्यौ, चाहेर पनि कोठा बाहिर निस्कन पाएका थिएनौ तर चाउर निर्माण भएपछि हामीलाई अलि सहज भएको छ कैदी बद्रि ढुंगानाले भने ।
हुन पनि चौतारा कारागारका कैदीवन्दीहरुले अधिकाँश समय खाटमा नै पल्टेर दिन विताउँदै आएका छन् । साँगुरो कोठा, त्यसमाथि क्षमता भन्दा बढीका कैदीवन्दी भएपछि उनीहरुले सकस झैल्दै आइरहेका छन् । त्यसमाथि कागाराभित्र कतै निस्कने खुला ठाउँ नहुँदा नचाहेर पनि खाटमा पल्टि रहनु पर्ने उनीहरुसँग वाध्यता थियो । चउर निर्माणपछि केही सहज त भएको छ तर त्यो पुग्दो भने छैन । चउर निर्माणसँगै नगरपालिकाले ३ वटा शौचालय पनि निर्माण गरिदिएको थियो । यसअघि कारगारमा २ वटा मात्र शौचालय थियो । त्यस्तै नगरपालिकाले कैदवन्दीका लागि प्रत्येक वर्ष दसैंमा खसी उपलव्ध गराउँदै आएको छ ।
चौतारा नगरपालिका भित्र रहेको कारागार र त्यो भित्र रहेको कैदीवन्दीहरु पनि आफ्नै नागरिक भएका कारण आफ्नो नागरिकको दसैं कस्तो हुँदै छ ? कस्तो समस्या झेलिरहेका छन् ? आवश्यक सरसहयोग बुझ्न आफू जेल गएको र कैदी वन्दीहरुसँग खाना खाएको मेयर तामाङले बताए । दसैंमा सबै किसिमका नागरिकरु रमाउनु पाउनु पर्छ, खुशी साटासाट गर्न पाउनु पर्छ मेयर तामाङले भने म मात्र रमाएर हुँदैन, सारा नगरबासी रमाउन पाउनु पर्छ । संभवत स्थानीय सरकारको तर्फबाट कैदी वन्दीहरुसँगसँगै खाना खाएर दसैं मनाउने पहिलो मेयर हुन् अमानसिं तामाङ ।

सिफारिस

प्रतिकृया दिनुहोस्