यो वर्ष पनि नहुने भयो पाँचपोखरी मेला
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको धार्मिक एवम् पर्यटकीय स्थल पाँचपोखरीमा यो वर्ष मेला नलाग्ने भएको छ । प्रत्येक वर्ष जैनी पूर्णिमाको दिन मेला लाग्ने पाँचपोखरीमा कोरोना भाइरस संक्रमणका कारण यो वर्ष मेला स्थगन गरिएको हो ।
मेला एवम् जात्राले कोरोना संक्रमण बढ्न सहयोग पुग्ने भन्दै पाँचपोखरी थाङपाल गाउँपालिकाले यो वर्ष मेला भर्न पाँचपोखरी नआउन भक्तजनहरुलाई अपिल गरेको छ । गत वर्ष पनि कोरोना महामारीका कारण मेला स्थगन गरिएको थियो ।
प्रत्येक जैन पूर्णिमाको दिन मेला भर्न देशको विभिन्न भागबाट हजारौंको संख्यामा पाँचपोखरी आउने गथ्र्यो । सामुन्द्रि सतहबाट ४ हजार ६० मिटर उचाइमा रहेको पाँचपोखरी धार्मिक रुपमा मात्र हैन पर्यटकीय रुपमा पनि परिचित छ । साना र ठूला गरि पाँच वटा पोखरी रहेकै कारण पाँचपोखरी नामाकरण गरिएको पाँचपोखरीको पाँचै वटा पोखरीको बेग्ला बेग्लै नाम पनि रहेको छ । झण्डै हजार ३ सय २६ वर्ष अगाडि पाँचपोखरी किनारमा महादेव लगायत देवी देउताहरु मान्छेको भेषमा धान खेति गरि रहेको बेला त्यस ताकाका प्रख्यात सिकारी बुम्बा वाइवा नाम गरेको सिकारी सिकार खेल्ने क्रममा त्यहाँ पुगेको र यस्तो हिउँ पर्ने ठाउँमा पनि खेति गर्ने को होला भनि अलि छेउमा जाँदा सिकारी बुम्बालाई महादेवले देखेपछि महादेव लगायत मान्छेको भेषमा खेती गरिरहेका सबै अलप भएपछि सोही ठाउँमा सिकारी बुुम्बाले आफ्नो सिकारी कुकुरले लगाइ राखेको घण्टी फुकाली रोपाई गरिहेको ठाउँमा झुण्डाइ मन्दिरको स्थापना गरेको किवदन्ती पाँचपोखरीस्थित महादेवको मन्दिर रहेको सिलालेखमा उल्लेख छ । त्यस यताबाट नै पाँचपोखरीमा हरेक भदौ महिनाको एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म मेला लाग्ने गरेको विश्वास छ । । पाँचपोखरी हुँदै तिलमान पास गर्न पनि सकिन्छ तर पास अत्यन्तै कठिने हुने पर्यटन व्यवसायीको अनुभव छ । यसको उचाइ ५ हजार मिटर भन्दा बढी रहेको छ ।
पाँचपाखरीमा डुवुल्की मारेर पाँचवटा पोखरी परिक्रमा गरेमा पाप मोचन हुने जनविश्वास छ ।
इन्द्रावती र ब्रहयणी नदीको उद्गमस्थलका रुपमा रहेका पाँचपोखरी सदरमुकाम चौताराबाट तीन दिनको पैदलमा पुगिन्छ भने मेलम्ची हुँदै भोताङसम्म सवारी साधनमा गएर भोताङबाट एक दिन पैदलमा पनि पाँचपोखरी पुग्न सकिन्छ । गत असार १ गतेको बाढीले मेलम्ची भएर भोताङ सडक मार्ग अवरुद्ध भएको कारण पनि यो पटक पाँचपोखरी तिर्थाटनमा जानेको संख्या कम हुने आँकलन गरिएको छ । पर्यटन वर्ष २०१९ लाई लक्षित गरि नेपाल सरकारले १०० पर्यटकीय गन्तव्यमा सूचिकृत भएको पाँचपोखरीको उचित प्रचार प्रसार भने हुन सकेको छैन्।
यो वर्ष पनि नहुने भयो पाँचपोखरी मेला
