हेलम्बुको लाइफलाईन रातो पुलसँगै १७ घर बगायो

हेलम्बुको लाइफलाईन रातो पुलसँगै १७ घर बगायो ।
चौतारा । शनिबार रातिदेखि आएको बाढीले सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका, चनौटेस्थित रातो पुल बगाएको छ । बाढीले १७ भन्दा बढी घर बगाएको प्रहरीले जनाएको छ ।
हेलम्बुको लाइफलाइनको रुपमा स्थापित रातो पुल बगाएपछि हेलम्बु गाउँपालिकाको ६ वटा वडा, मेलम्ची नगरपालिकाको २ वटा वडा र पाँचपोखरी थाङपाल गाउँपालिकाको १ वटा वडामा आवतजावत गर्ने सडक मार्ग टुटेको छ ।
शनिबार बेलुकीदेखि मेलम्ची खोलामा आएको बाढीले आइतबार विहान सो पुल बगाएको हो । पुल बगाएपछि हेलम्बुसँगको सम्पर्क संपूर्णरुपमा टुटेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनु भयो । हेलम्बु पुग्नका लागि अन्य वैकल्पिक बाटो नभएको हुँदा पुल जोगाउन जिल्ला विपद व्यवस्थापन समिति, सिन्धुपाल्चोक, स्थानीय जनता र राजनीतक पार्टीले खोलाको धार परिवर्तन गर्न पुल छेउछाउ ढुँगा जाली लागउने कार्य गरेका थिए ।
‘हाम्रा सबै प्रयासहरु खेरो गएको छ’, बागमती प्रदेशका प्रदेश सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालले दुखेसो पोख्नु भयो । गत असार १ गते आएको बाढीले सो पुल जोखिममा परेपछि प्रदेश सदस्य युवराज दुलालको नेतृत्वमा माओवादी केन्द्रले करिब १५ दिन श्रमदान गरेर पुल छेउछाउ ढुँगे जाली लगाएको थियो । पुल बगाएपछि हेलम्बु क्षेत्रले असाधारण संकटको सामना गर्नु पर्ने स्थिति आएको उहाँको भनाई छ ।
‘पुल जोगाउन हरतरहले प्रयास गरियो तर केही लागेन’ एमाले जिल्ला नेता हस्त पण्डितले भन्नु भयो । नेता पण्डितको नेतृत्वमा पुल र चनौटे वस्ती जोगाउन हिजो मात्र खोला किनारामा फलमे डण्डीको बक्सा बनाएर ढुँगा भर्ने काम भएको थियो ।
गत असार १ गतेको बाढीले मेलम्ची बजारदेखि हेलम्बुसम्मका सबै पुल बगाएको थियो । यो रातो पुल पनि बगाएपछि अब मेलम्ची बजारदेखि माथि कुनै पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिनु भयो । शनिबारदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन र चनौटे बजारको करिब १७ वटा घर पनि बगाएको प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिनु भयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्