जब भगवान भीमसेनले ट्रक चढे…! चौतारा भीमसेनको बोरा यात्रादेखि ट्रक यात्रासम्मको कहानी

जब भगवान भीमसेनले ट्रक चढे…! चौतारा भीमसेनको बोरा यात्रादेखि ट्रक यात्रासम्मको कहानी

चौतारा ! गौराती जात्रासँग अपरिचित सिन्धुपाल्चोक जिल्लामा सायदै होलान । जिल्लाकै ठूलो अनि एतिहासिक मानिने यो मेलाको भीमसेन रथारोहणको इतिहास भने थोरैलाई मात्र थाह होला । हुन त यो मन्दिर कहिले बन्यो र मेलाको सुरु कहिलेबाट भयो भन्ने एकिन तथ्यांक भने छैन तर मन्दिरमा चढाएको घण्टालाई साक्षी मान्ने हो भने चार सय बर्ष पहिलेदेखी नै मन्दिरको अस्तित्व रहेको र मेला चल्दै आएको यथार्थतालाई नकार्न सकिंदैन ।
मेलाको प्रमुख आकर्षण बन्दै आएको भीमसेन रथारोहण यो बर्ष भने ट्रकारोहणमा परिणत भएको छ । करिब ८२ बर्षको रथारोहणको इतिहास यस बर्ष समाप्त भएको छ र यो बर्ष मेलाको शाख र रौनकतामा पनि कमी आएको स्थानीयले महसुस गरेका छन् ।
चौताराकी चमेली श्रेष्ठले खल्लोताको महसुस मात्र गरेकी छैनन्, भीमसेनको प्रतिमालाई ट्रकमा कुदाएको देख्दा छक्क परेकी बताइन् । त्यसो त रथ बोक्ने लाठेहरुको कमीले भीमसेनको प्रतिमालाई ट्रकमा हुँइकाएको होइन, न कि कसैको रहरले नै भीमेश्वरलाई ट्रकमा सवार गराएको हो । रथारोहणका कारण भीडभाड बढ्ने र कोरोना भाईरसको संक्रमण फैलन सक्ने भन्दै यो तरिका अपनाएको हो ।
त्यसो त भीमसेन रथारोहणको ईतिहास पनि त्यति पुरानो भइसकेको छैन । बि सं १९९५ बाट रथारोहणको प्रचलन सुरु भएको चौताराका ९९ बर्षिय बन्थली श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार त्यस अघि चौतारा पुरानो बजारस्थित भीमसेनको मन्दिरबाट प्रतिमालाई बोरामा राखेर गौराती लागि त्यहाँको मुर्तिसँग मिलन गराइन्थ्यो । १९९६ बाट भने गुठियारहरुले रथ बनाई बोक्ने चलन चल्दै आएको उनले बताए । हाल गौरती जान डाँडेगौडाको सडक प्रयोग हुँदै आएको छ । त्यो ताका भने सडक बनिसकेको थिएन र हाल पानी ट्याँकी भएको सिंडीको पुरानो बाटोबाट बोरामा भीमसेन राखेर गौराती पुर्‍याउने गरिन्थ्यो । श्रेष्ठलाई त्यो ताकाको एउटा घटना अहिलेसम्म पनि अचम्म लगेको बताउँछन ।
मिति त ठ्याक्क उनलाई थाह भएन । उनी पनि मध्य रातमा बोरामा लगिएको भीमसेनको प्रतिमासँगै गौराती मेला जाँदै थिए । जब डाडेगौडाको सोही सिडीको टुप्पोमा के पुग्न लागेको थियो अचनक दुईजनाले बोकेको भीमसेन बोकेको त्यो बोरा पल्टियो र भीमसेनको प्रतिमा तलसम्म गुल्टेर गयो । सबै आश्चर्यचकितमा परे । लौ अनिष्ट हुने भो भन्ने लाग्यो । श्रेष्ठले अगाडि भने खासमा सिडीको मध्यभाग पुगिसकेपछी त्यहाँ एउटा खोपा थियो त्यो खोपामा प्रत्येक बर्ष भीमसेनको प्रतिमा गौराती लाने बेलामा धुपबत्ती र अक्षेता चढाउने परम्परा रहँदै आएको थियो तर त्यो बेला भने बिर्सेर सबै माथी उक्लिसकेका थिए । त्यही भएर भीमसेन रिसाएर बोरा पल्टेको हो उनले भने ।
त्यति शक्तिशाली थियो पहिलाको भीमसेन । अहिले त त्यो भीमसेनको मुर्ती पनि छैन, सिढीको खोपा पनि छैन, त्यो बाटो भएर रथ पनि लग्दैन श्रेष्ठले भने ।
हुन पनि आदिकालीन त्यो मुर्ती चोरी भैसकेको छ । नयाँ बाटो बनेपछी पुरानो त्यो सिढीको बाटोको प्रयोग पनि हराईसकेको छ अनि त्यो खोपा कता थियो भन्ने अहिलेको पुस्तालाई भेउ पनि छैन !
पुरानो मुर्तिको कथा
कुनै समय चौतारा डाँडाथोकका एक घले बिष्णुमतिको तिरमा घुम्दै जाँदा सोही भीमसेनको मुर्ति भेटेको र त्यसलाई घरमा ल्याई नित्य पुजाआजा गर्ने गर्थे तर अगाध भक्तिले पुजाआजा गर्दा पनि उल्टै हानी नोक्सानी हुन थालेपछी उनले त्यो मुर्तिलाई नेवारको भीमसेन नेवारले नै रिझाउन जान्छ भनेर चौतारा पुरानो बजारका लुटनारायण
श्रेष्ठको हजुरबुबालाई दिएको जनश्रूति छ । लुटनारायणको हजुरबुबाले सो मुर्तिलाई पुजाकोठीमा राखेको र बिहान पूजा गर्न खोज्दा त्यहाँबाट हराएकोले खोज्दै जाँदा हाल मन्दिर रहेको ठाउँमा भेटेको र पुन घर लागि पूजा गरेर राख्दासमेत बिहाना हराउने र सोही ठाउँमा भेट्ने क्रम पटकपटक हुनथाले पछि सो ठाउँमा मुर्ति प्रतिस्थापन गरेको बुढापाकाहरु बताउँछन् । सोही समय सपनामा भीमसेनले जलबीरे र नवलपुरको पुजारी राख्नु भनेर भनेका कारण त्यँहाका दुई पुजारीको समेत ब्यबस्थापन गरिँदै आएको थियो । ती दुई खासगरी मेलाको बखत पुजा सम्पन्न गर्न आउने चलन रहेको थियो । झण्डै पचासको दसकबाट भने तिनीहरु आउन छोडेको भिमसेन गुठीले जनाएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्