चौतारा । बरिष्ठ संगितकार एवम् गायक प्रेमध्वज प्रधानको निधनले उहाँको गृह जिल्ला सिन्धुपाल्चोक शोकाकूल बनेको छ ।
विहीबार दिउँसो १ः४५ बजेतिर गायक प्रधानको देहवशानको खबरले सारा सिन्धुपाल्चोकमा शोक छाएको हो । विसं १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको सदरमूकाम चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मनु भएको स्व. प्रधानको बाल्यकाल चौतारामा वितेको थियो । चौतारास्थित तत्कालीन श्री कृष्ण विद्याश्रमबाट उहाँले कखरा सिक्नु भएको थियो ।
सानै उमेरदेखि सांगीतिक माहौलमाा हुर्केका स्व. प्रधानको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतमा गहिरो रुचि राख्नु हुन्थ्यो । उहाँको घरमा दिनहुुँ जस्तो कार्यक्रम भइरहन्थ्यो । यसैको प्रभावबाट स्व. प्रधानमा सानै उमेरदेखि संगीतप्रति मोह जागेको थियो । २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर “क’’ श्रेणीमा पास भएपछि उहाँको औपचारिक सांगीतिक यात्रा सुरु भएको थियो । स्व. प्रधानको रेडियो नेपालमा करिब ७ सय भन्दा बढी गीत रेर्कड भएको छ भने सन १९५२ मा “याद कसैको आइरहन्छ अधेरी रातमा“ बोलको गीत १६ वर्षकै उमेरमा रेर्कड गराउन भएको थियो ।
“पर लैजाउ फूलहरु“, “घुम्तिमा नआउ है’’, “यो नानीको शीरैमा इन्द्रकमल फूल फुल्यो’’, “गोरेटो त्यो गाउँको’’ जस्ता कालजयी गीत गाउनु भएका प्रधानले जिल्लाको पहिचान दिने “सिन्धुको शीरमाथि जुगलको ताज“, “जय जन्मभूमि, जय सिन्धुभूमि“ बोलका गीतमा पनि आफ्नो स्वर दिनुभएको छ । २०५२ सालमा दुःखी प्रकाशन सिन्धुपाल्चोकले प्रधानलाई अभिनन्दन एवम् सम्मान गरिएको थियो । यो नै उहाँको जीवनको पहिलो सम्मान थियो ।
गायक प्रधानको अकल्पनीय निधनले सिन्धुपाल्चोले मात्र हैन सिंगो राष्ट्रले नै अपुरणीय क्षेति बेहोरेको सिन्धुपाल्चोकको बरिष्ठ पत्रकार सुरेश कसजु बताउँनु हुन्छ । प्रधानसँग घनिष्ट सम्वन्ध रहेको कसजूले निकट भविष्यमा नै सिन्धुपाल्चोकमा संगीत विद्यालय सञ्चाालन गर्ने इच्छा स्व. प्रधानले भेटको क्रममा व्यक्त गरेको कसजूले स्मरण गर्नुभयो ।
गायक चन्द्रसिं तमू प्रधानको निधनले नेपाली साँगीतिक आवाजले सधैंका लागि एउटा मीठासपन गुमाएको बताउँनु भयो ।
गायक प्रधानको निधनप्रति सभामूख अग्निप्रसाद सापकोटाले आजै शोक विज्ञपप्ति जारी गर्नुभएको छ भने प्रतिनिधिसभाका सांसद शेरबहादुर तामाङ, बागमति प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपाल, प्रदेशसभाका सदस्य युवराज दुलाल, अरुण नेपाल, लगायत जिल्लाका साहित्यकार, पत्रकार संगीतकार र सर्वसाधारणले स्व. प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।