चौतारा । प्रत्येक कार्तिक पूर्णिमाको दिनबाट सुरु हुने प्रसिद्ध गौराति जात्र यो वर्षका लागि स्थगित गरिएको छ । बढ्दो कारोना भाइरस जोखिमका कारण यही मंसिर १५ गतेबाट सुरु हुने जात्रा स्थगित भएको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मेलामा हुने भीडभाडका कारण कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भन्दैे मेला स्थगित गर्न अनुरोध गरेपछि अनादिकालदेखि चल्दै आएको मेला स्थगन गरिएको गौराती विकास मञ्चका अध्यक्ष वाङगेल लामाले जानकारी दिनुभयो ।
रथारोहण बारे बैठक बसी टुँग्याईने
गौराती भीमेश्वरको मेलाको प्रमुख एवम् आकर्षण मानिने भीमसेन रथारोहण यस वर्ष गर्ने कि नगर्ने भन्ने बारे भने टुँगो लागेको छैन । सामाजिक दुरी कायम गर्दै रथारोहण गर्नुपर्ने एकथरीले बताए पनि भीडभाडले गर्दा कोरोना जोखिम बढ्न सक्ने हुँदा गाडीबाट रथारोहण गर्नुपर्न पनि योजना अघि सारेको गौराती विकास मञ्चले जनाएको छ । अनादिकालदेखि चल्दै आएको रथारोहण स्थगित गर्न नहुने धेरैको धारणा छ । सो बारे जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा ६ गते बैठक बसी टुँगो लगाइने अध्यक्ष वाँगेल लामाले बताए ।
प्रत्येक कार्तिक पूर्णिमाको दिनबाट ३ दिनसम्म संचालन हुने मेलामा राष्ट्रभरिबाट हजारौंको संख्यामा भक्तजनहरु मेला भर्न आउने गर्थे । परापूर्वकालमा एउटा गाईले मध्यरातमा हाल मन्दिर भएको थुम्कोमा दुध दिने गरेको र सो रहस्य चाल पाएपछि गोठालोले सो ठाउँ उत्खनन गरि हेर्दा दिव्यस्वरुप प्रकट भइ “म भीमसेन हुँ, मेरो नित्य पूजाआजा गरे मनोकाँक्षा पुरा हुन्छ“ भनि अन्तरध्यान भएको र सोही समयबाट मेला सुरु भएको जनविश्वास छ । गौ अर्थात गाई र राति गाईले दुध दिएको हुनाले सो ठाउँको नामाकरण गौराति रहन गएको अध्यक्ष लामा बताउँनु हुन्छ ।
यस वर्ष मेला स्थगन भएपछि मेलासँग सम्वन्धीत बली पूजा र मेला लक्षित कुनै पनि ब्यापार व्यवसायीका लागि स्टल निर्माण नहुने तर परापूर्वकालदेखि चल्दै आएको मूलपूजा र गुठी पूजा भने सुचारु हुने पनि अध्यक्ष लामाले जानकारी दिनुभयो ।